राजेशचन्द्र राजभण्डारी
अहिले फेरि देशमा नयाँ राष्ट्रबादी सरकार गठन भएपछि देशको जनतामा फेरि नयाँ आशाको किरण छाएको छ । हिजो ९ महिनासम्म छिमेकी मुलुक भारतसंग देश र जनताको पक्षमा वकालत गरेर भारतसंग एक इन्च पनि नझुकेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले बहुमत सहितको सरकारको प्रधानमन्त्री भएका छन् । अहिले मुलुकमा सबैभन्दा खराब कुराले डेरा जमाएको थियो । त्यो हो नातावाद, कृपावाद र फरियावाद । हो यो कुरा ठुलावडा मात्रै होइन साना बालबालिका समेत परिचित छन् । राणा शासनदेखि पञ्चायती शासन बहुदलीय शासनहुदै अहिले मुलुक गणतन्त्रमा प्रबेश गरिसकेको समयमा समेत नातावाद, कृपावाद र फरियावादले छोड्ने त कुरा छाडौ अझै संस्थागत हुँदै गइरहेको बेला नेपालका चर्चित राजनीतिक पात्र पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा भ्रष्टाचार गर्ने जुनसुकै शक्तिलाई पनि अब सरकारले बाँकी नराख्ने अभिब्यक्ति दिनुभएको छ । अहिलेसम्म देशमा जसरी भ्रष्टाचार संस्थागत भएको छ त्यो त नातावाद, कृपावाद, फरियावाद र कमिसनवाद कै कारण हो भन्ने कुरालाई अब सबै सामुन्ने भनी रहनुपर्ने बिषय नै भएन । बामपन्थी गठबन्धन गरेर झन्डै झण्डै दुई तिहाइ सिट जित्न सफल एमाले र माओबादी केन्द्रको बामपन्थी सरकार देशमा गठन भैसकेको छ । अब ५ बर्ष ईन्द्रको बाउ चन्द्रे आएपनि बामपन्थी गठबन्धनको सरकार तसमस गर्न सक्ने छैन । सायद यहीँ भएर होला माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कडा खालको अभिब्यक्ती दिनु भएको स्पष्ट छ ।
कम्युनिष्टहरूको पक्षमा झण्डै दुई तिहाई जनमत आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको प्रचण्डको भनाई सान्दर्भिक मान्नुपर्छ । त्यसका लागि भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने, अहिले न्यायालयदेखि कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ । दुवै पार्टीको नेतृत्व तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौँ भनेर जसरी प्रचण्डले सहिदको कसम खाएर भनेका छन् यसलाई सकारात्मक मान्नुपर्छ । यसलाई खाली नाराको रूपमा हैन ब्यबहारमा लागू गर्न सक्नुपर्छ । प्रचण्डले अहिले जसरी न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरूका पक्षमा न्याय दिनेहरूलाई महाअभियोग लगाउने समय आएको, भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको, त्यसो नगरे विकास र सुशासन सम्भव नभएको भनेर जुन अभिब्यक्ती दिए साच्चै सत्य र वास्तविक हो । भ्रष्टहरूलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ भनेर मनदेखि सत्य कुरा बोलेका छन् । जति बोल्न सजिलो छ त्यति ब्यबहारिक रूपमा गाह्रो छ । नातावाद, कृपावाद, फरियावाद र कमिसनबादले कुनैपनि ठाउँ बाँकी छोडेको छैन । अहिले हामी २१ औ शताब्दीमा छौ । मुलुक संघिय स्वरूपमा गैसकेको छ । हामीले अहिले पनि सानोभन्दा सानो सरकारी काम फत्ते गर्न घुस नदिएसम्म केही हुनेवाला छैन । सबैले मालदार ठाउँमा जान नजराना चढाउनु पर्छ । बिना पैसा कसैको पनि न त प्रमोसन हुन्छ न त केही काम नै सबै सबै कुरा गर्न लाखौं करोडौ रूपैयाँ खर्च गरेको निकायलाई कसरी कार्वाही गर्न सक्छ । अहिलेको सरकारले सबै नेपाली जनताको मात्रै हैन बिदेशीहरूको नजर पनि परेको देखिन्छ ।
देशमा भएको एउटा भ्रष्टाचारीलाई तह लगाउने निकाय अख्तियार अनुसन्धान दुरुपयोग आयोग अहिले छ कि छैन थाहा छैन । यसलाई देशी बिदेशी शक्ति मिलेर निकम्मा बनाउने काम भइसकेको छ । अहिले फेरि देशको प्रधानमन्त्री भइसकेका ब्यक्तिबाट आएको कुरालाई कसरी सरकारले ब्यबहारिक रूपमा अगाडि बढाउने त्यो पहिला सरकारको नीति हुनुपर्छ । यसलाई हेर्ने निकाय भ्रष्टाचार गर्नेलाई गर्नेलाई सजाय दिने हुनुपर्छ । अहिले नारा जति सजिलो छ साँच्चै ब्यबहारिक रूपमा त्यसलाई लागू गर्न धेरै गाह्रो छ । नेपाल धेरै भ्रष्टाचार हुने देशमा परिसकेको छ । सबैभन्दा बढी भ्रष्टाचार अहिले राजनीतिक कारणले नै हुने गरेको देखिन्छ । अहिले पनि गृहमन्त्री हुन पार्टी भित्र मारामार भएको, अहिले पनि सरकारमा जान तछाडमछाड किन गरिरहेका छन् त ! के साच्चै देश र जनताको लागि हो त ? अबश्य हैन । अहिले पनि जसरी भएपनि शक्ति र सत्तामा पुग्ने अनि आफ्नो सात पुस्तालाई कमाउने भन्दा अर्को कुनै लक्षण देखिदैन । अनि कसरी कुन आधारमा भ्रष्टाचार हटाउन सकिन्छ । अनि कसरी घटाउन सकिन्छ । कुरा स्पष्ट छ । अहिले पनि देशमा खुलेआम घुस माग्ने कुरा सामान्य भइसकेको छ । पैसा बिना कुनै पनि काम सहजै होला भनेर कसैले नसोचे हुन्छ । कुनै पनि ठाउँ अहिले अछुतो छैन । कि त जहाँ पनि आफ्नो मान्छे चाहियो कि त पैसा नै चाहियो । यस्तो अबस्था छ देशमा । जतिसुकै कुरा गरेपनि नातावाद, कृपावाद र फरियावाद अहिले पनि संस्थागत रूपमा चलिरहेको छ । तर अहिले त्यसलाई घटाउने काम नेतृत्वले गर्न सक्छ कि सक्दैन प्रमुख कुरा त्यो हो । अहिले प्रचण्डले भन्नू भएझै भ्रष्टाचारलाई सजिलोसँग त भ्रष्टाचारीलाई ठेगान लगाउन गाह्रो छ । अहिले साँच्चै सबै इमान्दार भएर लाग्ने होभने मात्र यसलाई न्युनिकरण गर्न सकिन्छ । अहिले सरकारले एउटा जुन कार्यक्रम बनाउँछ अदालतले कतिपय कुरा उल्टाउने गरेको देखिन्छ । अदालत र सरकारबीच तालमेल छैन । भ्रष्टाचार देश र जनताको शत्रु हो भन्ने कुरा बुझ्न सकेमात्र भ्रष्टाचार र भ्रष्टाचारीलाई ठेगान लगाउन सकिन्छ । छोटो समयमा भ्रष्टाचार गरेर लाखौं करोडौ सम्पत्ति कमाएका छन् । तिनको सम्पत्तिको स्रोत खोजेर छानबिन गर्ने र कार्बाही गर्ने हिम्मत अहिलेको सरकारसंग हुन जरुरी छ । अहिले सरकार बनाउन नातावाद, मन्त्री बन्न नातावाद, सचिव बन्न नातावाद, प्रहरी प्रमुख बन्न नातावाद र पैसाको चलखेल हुने अबस्था कायम रहेसम्म यो देशमा भ्रष्टाचार अझै बढ्ने छ । घट्ने संभावना छैन । अहिले बामपन्थी गठबन्धन सरकारलाई साँच्चिकै लोकप्रिय बनाउने होभने भ्रष्टाचार न्युनिकरण गर्न सके धेरै समस्या समाधान हुनेछ ।
Previous Articleनेपाल आदिवासी जनजाति महासंघको भवनको उद्घाटन
Next Article गर्भपतनबारे सचेतना