बागलुङ, १७ फागुन– जिल्लाका मुख्य सडकमै चर्को धुलोले स्थानीयबासिन्दा हैरानी खेप्न बाध्य छन् । मध्य पहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको २५ किमी र बागलुङ कुश्मीसेरा खण्डको २१ किमीमा सबै भन्दा धेरै सास्ती खेप्नुपर्ने स्थानीयले गुनासो गरे । उत्तर दक्षिण कालीगण्डकी कोरिडोर अन्र्तगत सदरमुकामदेखि छिस्ती सम्मको खण्डमा पनि धुलोले स्थानीयले हैरानी खेप्नुपरेको गुनासो गरे । हालै निर्माणाधिन सडकमा धुलो हुनुलाई स्वभाविक रुपमा लिएपनि अधिकांसले पुराना सडकले पनि धुलो व्यवस्थापन गर्न नसकेकोमा गुनासो गरेका छन् ।
ग्रामीण तहका अन्य सडकमा पनि धुलोको उत्तिकै समस्या छ । ‘हामी दैनिकको धुलोले बिरामी भएका छौं, घरघरमा रुघाखोकीका बिरामी पनि छन्’ काठेखोला ६ का रामप्रसाद कंडेलले भने,‘सडकको स्तरउन्नती नभएसम्म हामीले सुख पाउने भएनौं ।’ बिहुँमा मध्य पहाडीको मुख्य खण्डले झण्डै २० किमी ओगटेको छ । त्यस बाहेक अन्य सडकको संजाल पनि उत्तिकै छ । आसपासका घर सहित खेतीपाती, रुख विरुवामा पनि धुलोले डेरा जमाएको छ । निर्माण कंपनीले समयमा काम नगरेकोले बर्षौदेखि यो समस्या ज्युकात्यु छ । त्यस बाहेक सडकमा दैनिक गुड्ने सवारीले धुलो उँडाएर हैरान बनाएको स्थानीयले गुनासो गरेका छन् । त्यही सडकको केहि खण्डमा भने हिलाम्मे हुँदा सवारी साधन फस्ने खतरा बढेको छ । उक्त खण्ड मध्येको पहिलो ७ किमी खण्डमा सबैभन्दा धेरै सास्ती खेप्नुपर्ने काठेखाला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्गबहादुर थापाले बताए । ‘मेरो वडा कार्यालय सडक छेउमै छ, हिलोले कार्यालय पुग्न ढीला हुन्छ, कार्यालय अगाडि धुलोले बसीसक्नु छैन’ थापाले भने, ‘पटक पटक कुरा गरेपनि निर्माण कंपनीले वास्ता गर्दैन ।’ बस्ती भएको स्थानमा छिटो काम सकिदिन तथा धुलो नउड्ने व्यवस्थाका लागि गरेको आग्रह अटेर भएको उनले गुनासो गरे । निर्माणाधिन खण्डमा बिकल्प नदिई काम थालेपछि दैनिक सयौं यात्रीले दुःख पाएका हुन् ।
सडकमा काम गर्दा सबारी जाम हुन्छ । पैदल गएका यात्रीले पनि उक्त खण्डमा पार गर्न नपाएपछि विद्यार्थी र कर्मचारी बढी मारमा परेका हुन् । जिल्ला भित्रको १ सय ४२ किमी खण्ड मध्ये सदरमुकाम देखि बिहुँ सम्म २५ किमी अझै स्तरउन्नती हुन सकेको छैन । अक्षेते हुँदै ताराखसे सम्मको १३ किमी खण्ड सिद्धिसाई प्रकाश संयुक्त निर्माणकंपनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कंपनीले यस अघिको काम अलपत्र पारेपछि यो खण्डमा यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । ‘दैनिक कार्यालय जान आउन पनि हैरान खेप्नु परेको छ’ थापाले भने, ‘पैदल हिड्न पनि नमिल्ने गरी सडक बिगारेपछि सयौं मानिस अलपत्र पर्छन् ।’ अप्ठ्यारो स्थानमा पैदल भएपनि सहज हिड्ने अवस्था बनाईदिन आग्रह गर्दा समेत वेवास्ता गरेको उनले गुनासो गरे । ‘हामीले पानी पनि शुद्ध खान पाएका छैनौं, बालबालिका र बुढाबुढीमा रुवाखोकीको समस्या धेरै छ’ कंडेलले भने, ‘गाईभैसीलाई पनि राम्रो घाँस काटेर दिन पाइएको छैन ।’ रुघाखोकीले आँफू पनि पिडित भएको उनले गुनासो गरे । यो खण्डको ६ देखि १० स्थानमा पटक पटक सवारी जाम समेत पर्छ ।
एक बर्ष अघि ठेक्का लिएको कंपनीले अहिले सडक चौडा पार्ने काम गरिरहेको छ । सडकको बिकल्प नभएपछि यात्रीले दुःख पाएको कंपनीका साईट इन्चार्ज यज्ञ शाहीले बताए । ‘दैनिक दुइ सयबढी सवारी चल्छन्, बिकल्प दिने बाटो छैन’ शाहीले भने, ‘ढुंगा खस्ने समस्या भएका स्थानमा सवारी र यात्रीलाई जान दिन पनि सकेका छैनौं ।’ स्थानीयबासी भने कंपनीका कर्मचारी र प्राविधिकले यात्रीको समस्या बुझ्ने प्रयासै नगरेको आरोप लगाए । यो खण्डमा अमर मावि, भिमसेन मावि र केही प्राथमिक तथा आधारभूत विद्यालय छन् । बागलुङ बजारको प्रवेश नजिकै धवलागिरी बिरेन्द्र मावि छ । यो विद्यालयमा पनि धुलोले सास्ती खेप्नुपरेको गुनासो बढी छ । खानेपानीका धारा, मुहान र कुवाहरु पनि धुलोले प्रदुषित छन् । जसका कारण शुद्ध पानी खान नपाएको, कपडा धोएर सुकाउँदा धुलाम्मे हुने गरेको गुनासो पनि गरेका छन् । प्रशासनले समयमा काम सकेर जनतालाई सास्ती दिने काम हटाउन आग्रह गरेको प्रजिअ बिष्णुबहादुर थापाले बताए । जिल्ला सदरमुकाम देखि विभिन्न गाउँमा पुग्न दैनिक २ सय जिप यो सडक भएर गुड्छन् । साथै बुर्तिवाङ, गलकोट लगायतका स्थानका लागि बस चल्छन् ।
Previous Articleहोलिमा प्रहरी सक्रियता बढ्यो
Next Article गाउँमा बस पुग्दा अविर जात्रा