बागलुङ, १७ फागुन– फागुपूर्णिमा (होली) का बेला हुन सक्ने संभावित दुर्घटनालाई नियन्त्रण गर्न प्रहरीले सकृयता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार होलीको अघिल्लो दिन देखीनै प्रहरीले सकृयता बढाएको हो । होलीका बेला जवरजस्ती रंग छ्याप्ने र इच्छा बिपरितका कामहरु गर्ने कार्य बन्द गराउन जनचेतनाका लागि प्रहरीले सार्वजनिक सूचना जारी गरेको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । बागलुङ बजार र आसपासका क्षेत्रमा प्रहरीको टोलिले माईकिंग गरेर सार्वजनिक सूचना समेत जारी गरेको हो । सामुदायीक प्रहरी केन्द्र रामरेखा र गुठीको टोलिलाई खटाएर प्रहरीले माईक मार्फत सूचना जारी गरेको रेग्मीले बताए । त्यस्तै प्रहरीले ट्राफिक चेक जाँचमा पनि कडाई गरेको छ ।
माधक पदार्थ सेवन गरी सवारी चलाउनेको चेक जाँच कडा पारिएको रेग्मीले बताए । ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले ठाउँ ठाउँमा चेकजाँचलाई कडा बनाएको हो । प्रहरीले बजार क्षेत्रमा गस्ती बढाएको छ । होलीको निहुँमा जवरजस्ती रंग छ्याप्ने तथा लोला हान्ने कार्य हुन सक्ने भएकाले प्रहरीले गस्तीलाई बढाएको उनले बताए । होलीको नाममा जवरजस्ती नगर्न र इच्छा बिपरितका काम नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । जवरजस्ती गर्नेहरुलाई कानून अनुसारको कारवाही गर्ने भएकाले कारवाही गर्न बाध्य नबनाउन सर्वसाधारणमा आग्रह गरिएको रेग्मीले बताए ।
हिन्दु संस्कृतिमा फागुपर्व प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । नेपाल, भारत लगायत अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यसलाई रंगहरुको पर्वको रुपमा लिईन्छ । फागू अर्थात होलीको दिन मानिसहरू एक अर्कासँग विभिन्न प्रकारका रङ्गहरू (अबिर) दलेर मनाउँछन् । होलिका राक्षसको बध भएको खुसीयालीमा मनाईने यो चाड तराईमा भने शुक्रवार मनाइन्छ ।
Previous Article२०७४ फागुन १७ गते बिहिबार राशिफल
Next Article बागलुङका मुख्य सडकहरु धुलाम्मे