बागलुङ, १६ फागुन– दक्षिण बागलुङ र दक्षिण पर्वतलार्ई प्रदेश नं ४ को राजधानी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पर्यटकीय नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा भित्र्याउन र स्थानीय बासिन्दालाई पोखरासम्म छिटैसहज रुपमा यात्रा गराउने उद्देश्यले सडक स्तरोन्नति गर्न लागिएको हो । बागलुङको जैमिनी नगरपालिकासँग जोडिएको छिमेकी जिल्ला पर्वतको फलेवास नगरपालिकाको देवीस्थान र जैमिनी १ कुश्मीशेरामा पर्ने जैमिनीघाटदेखि स्याङ्जाको नौडाँडा जोड्ने सडक मर्मत गरेर स्तरोन्नति थालिएको फलेवास नगरपालिकाले जनाएको छ । देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोडने र जुग्ले हुँदै नौडाँडा जोड्ने सडक बिहीबारदेखि स्तरोन्नति गर्न थालिएको हो ।
पहिलो चरणमा रु ४५ लाखको लागतमा स्तरोन्नति गर्न लागिएको उक्त सडक ११ मिटर चौडा हुने भएको छ । नगरपालिकाले विनियोजन गरेको बजेटमार्फत स्थानीय उपभोक्ता समिति गठन गरी सडकखण्डको स्तरोन्नति गर्ने कार्य शुरु गरिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए । उनले भने, “यो सडक सञ्चालन हुने बित्तिकै उक्त क्षेत्रका बासिन्दा दुई घण्टामै पोखरा पुग्न सक्छन् ।
सडकखण्ड चौडा गर्ने क्रममा फलेवास नगर उपप्रमुख मञ्जु अधिकारीले नगरवासीले सास्तीपूर्वक यात्रा गर्नुपर्ने बाध्यता अब हटने बताईन् । बर्खायाममा हिल्लाम्मे र हिउँदको समयमा धुल्लाम्मे हुँदा सवारी सञ्चालनमा निकै कठिनाइ हुँदै आएको थियोे । नगरपालिकामा बाह्रै महिना सवारी सञ्चालन गर्ने गरी नगरभित्रका सडक स्तरोन्नति गर्न थालिएको र अब जोखिम मोलेर यात्रा गर्नु नपर्ने तथा बर्खायामा सवारी साधन आवतजावत गर्दा अवरुद्ध नहुने दाबी गर्दै नगर उपप्रमुख अधिकारीले व्यवस्थित सडक भएसँगै स्थानीय कृषिजन्य उपजलाई बजारीकरण गर्नसमेत सहज हुने बताईन् । बागलुङको जैमिनी नगरपालिकासँगै पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पनि पोखरा जान चार घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।
Previous Article२०७४ फागुन १६ गते बुधबार राशिफल
Next Article आर्थिक समृद्धिमा सरकार केन्द्रीत–थापा