बागलुङ, १६ फागुन– अट्ठाइस वर्षदेखि थातथलोबाट विस्थापित यहाँका सीमान्तकृत माझी परिवारले यो वर्षको जाडो पनि अस्थायी घर टहरामा कटाए । गएको दशैँमा नयाँ घर पाउने आश्वासन पाएका माझीहरुका लागि निर्माण गर्न लागिएको आवास ढिलासुस्तीका कारण उनीहरू अहिले बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौरमा दुःखजिलो जीवनयापन गर्न बाध्य छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा वडा नं १ कै खनियाबासबाट १४ माझी परिवार विस्थापित भएका थिए । माझी बस्ती व्यवस्थापनको जिम्मा लिएको बागलुङ नगरपालिका निर्धा्रित अवधिमा बस्ती निर्माण गर्न असफल भएको छ . निर्माण कम्पनीसँग भएको एक वर्षे सम्झौता गत पुसमा सकिएपछि पुनः छ महिना अवधि थपेर काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माणमा सुस्त गति र कतिपय प्रक्रियागत कारणले ढिलाइ भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनले बजेट संशोधनसहित सम्झौता अबधि थप गरिएको र आउँदो वैशाखसम्म बस्ती निर्माणको काम सकिने उल्लेख गरे । ूदुई, अढाइ महिनामै काम सकेर बस्ती हस्तान्तरण गर्छौंू, प्रमुख पौडेलले भने । निर्माण कम्पनी ‘मुक्तिनाथ÷विएन÷त्रिशक्ति, जेभी’ ले बस्ती निर्माणको काम गरिरहेको छ । समयमै निर्माण सामग्री उपलब्ध नहुनु, पानीको अभावजस्ता कारणले पनि काम प्रभावित भएको मजदुर पूर्णबहादुर शाहीले बताए । उनका अनुसार अन्तिम घरको जग हाल्ने काम हालै शुरु भएको छ । बाँकी १३ घरको बाहिरी संरचना ठडिए पनि धेरै काम बाँकी नै छ । नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले ८० प्रतिशत काम पूरा भएको र वैशाखसम्ममा माझी बस्ती व्यवस्थापन भइसक्ने बताए । लामो समयसम्म नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो ।
प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भएको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । एक करोडभन्दा माथिको योजना भएकाले प्रक्रियामा जानुप¥र्यो, निर्माण कम्पनीले पनि समयमै काम गर्दैनू, उनले भने । ‘नमूना’ र प्राथमिकता प्राप्त योजनामा नगरपालिकाले ढिलासुस्ती गर्न नहुने स्थानीयवासी प्रशान्त माझीले बताए । अघिल्लो सम्झौतामा कूल रु ८२ लाख ३० हजारमा बस्ती बनाउने भनिए पनि अहिले लागत बढेर रु एक करोडभन्दा माथि पुगेको छ । शौचालयसहितका तीनकोठे घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ ।