बागलुङ, १५ फागुन– विद्युतको नियमित आपूर्ति भएमा उद्योग व्यवसाय संचालन हुने र रोजगारीका अवसर बढ्छन् । उद्योगी व्यपारीले पनि पूँजि लगानी गर्छन् । तर सदरमुकाम पछिको दोश्रो ठूलो सहर बुर्तिवाङमा विद्युत अभावमा पूँजि पलायन भैरहेको छ । मध्यपहाडी लोकार्गको १० व्यवस्थित सहर मध्येको एक बुर्तिवाङमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाईनको विद्युत पुग्न सकेको छैन ।
बुर्तिवाङ मात्र नभई बडिगाढ, निसीखोला र तमानखोला गाउँपालिकामा पनि अहिलेसम्म राष्ट्रिय प्रसारणको बिजुली छैन । स्थानीयले सानो लगानीमा लघुविद्युत उत्पादन गरेर सामान्य बिजुली बाल्ने काम गरेका छन् । उद्योगधन्दा संचालन गर्ने गरी बिजुली भने संचालन भएको छैन । जसका कारण लगानी गर्न चाहेका व्यापारी पनि बुटबल लगायतका सहरमा पसेर काम गर्न थालेका छन् । ती क्षेत्रमा बिजुली नपुग्दा पुँजि पलायन जस्तै बसाईसराई पनि बढेको छ । ‘केही बर्षमा बिजुली पु¥याउन सबस्टेशनको काम गर्नुपर्नेछ’ केन्द्र प्रमुख कपिलराज पाण्डेले भने, ‘हामी टेन्डरको प्रकृयामा गईरहेका छौं ।’ खरवाङमा सबस्टेसन बनाएमा बुर्तिवाङसम्म विद्युत वितरण गर्न सकिने उनले बताए ।
त्यसका लागि अन्य पूर्वाधारको काम गर्दा कम्तिमा ५ बर्ष लाग्न सक्ने स्थानीयको अनुमान छ । मध्यपहाडी लोकमार्गको व्यवस्थित सहर बनाउने राष्ट्रिय गौरवको आयोजना भएकोले बुर्तिवाङमा सहरीकरण भने तीव्र छ । जसका कारण उद्योग व्यवसाय स्थापनाको काम धमाधम हुँदैछ । तर त्यसका लागि उर्जा नहुँदा व्यवसायीले मार खेपेका छन् । ‘दर्ता गरेर करोडौैं लगानी गरेका व्यपारीको लगानी डुबेको छ’ बुर्तिवाङ उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्माले भने, ‘यहाँ विद्युत नहुँदा धेरै लगानीहरु खेर गइरहेका छन् ।’ लगानी अभावमा सयौंले गाउँबस्ती छाडेर वुटवल लगायतका सहर पसेको उनले बताए । ढोरपाटन नगरपालिकाले यो समस्या समाधानका लागि थालेको पहल पनि अझै पुरा भएको छैन । ‘विद्युतीकरणको समस्याले पूँजि पलायन हुन नदिन प्राधिकरणमा कुरा गरेका छौं, तर सुनुवाई भएको छैन’ नगरप्रमुख देबकुमार नेपालीले भने, ‘स्थानीय लगानीमा केही आयोजना गरौं भन्दा पनि झोलामा खोला ओगटेर बसेकाहरुले अवरोध गरेका छन् ।’ व्यवसायी र नगरपालिकाले निसी खोलाको सेरामा ९ सय ५० किलोवाटको विद्युत निकाल्ने योजना सहित दर्ताका लागि जाँदा दशक अघिनै दर्ता भएर झोलामा रहेको भेटिएको हो । कतिपय बिद्युत दर्ता गरेर ओगट्ने प्रवृत्तिले पनि स्थानीयले ठूलो आकारका विद्युत उत्पादन गर्न नसकेका हुन् । ‘विद्युत आपूर्ति नभएपछि व्यवसायमा लगानी गर्नु बालुवामा पानी हाल्नु जस्तै भएको छ’ शर्माले भने, ‘यो समस्या समाधानका लागि झोलामा खोला राख्नेहरुलाई कारवाही गर्नुपर्छ ।’ नगरपालिका भित्रका झण्डै २० हजार घरले विजुली बाल्न पाएका छैनन् ।
मुख्य बजारमा ढोरपाटन नगरपालिकामा अहिले भुजीखोला र रिठाखोला जलविद्युत आयोजनाको लघुविद्युतले बिजुली बाल्न मात्र पुगेको छ । साँझको समयमा लोड नपुगेर बन्द हुने गर्छ । स्थानीयले श्रमदान गरेर बनाएका दुइवटा लघु आयोजना पनि गत बर्षको बाढीले भत्काएपछि अन्धकारमा बस्नु परेको शर्माले बताए । यो समस्या निसीखोला, तमानखोला र बडिगाढ गाउँपालिकामा पनि छ । यहाँका बासिन्दाले पनि लघु विद्युतबाट बिजुली मात्र बालेका छन् । लघु विद्युतबाट उत्पादित बिजुलीले उद्योग संचालन भने हुँदैन । ठूलो सहर भएकोले ग्रील, ईटा, कपास, होटल, फर्निचर लगायत ठूलो लगानीमा व्यवसाय संचालन गर्न सयौं आईरहेपनि विद्युतकै समस्याले पलायन भएको शर्माको चिन्ता छ । ‘व्यवसायीको करोडौं लगानी संरक्षण गर्न नसके कसरी रोजगारी र समृद्धि भित्राउने ?’ शर्माले भने, ‘अब छिटै समस्या समाधान नभए थप करोडौं लगानी पलायन हुनेछ ।’ विद्युत आपूर्ति नभएकै कारण कुखुरा पाल्न खोजेका किसान पनि लगानी पछि पछि हटेका छन् । ‘रातभर विजुली बालेर पाल्नुपर्छ, चिसो मौषममा साना चल्ला सबै मर्छन्’ स्थानीय भुमा कुँवरले भनिन्, ‘लगानी गरेर पनि काम नभएपछि हामी अन्यत्रै बसाई सर्नुपर्ने बाध्यतामा पुगेका छौं ।’ यो पिडा होटल संचालकलाई पनि परेको छ । विद्युत अभावमा फ्रिज संचालन गर्न नपाएको गुनासो बढेको छ । चलचित्र मन्दिर निर्माण गरेका व्यवसायीदेखि हाल संचालनमा रहेका सामुदायिक रेडियोलाई पनि विद्युत आपूर्तिको समस्या चुनौती भएको छ । ‘जेनेरेटर चलाएर रेडियो संचालन गर्दा घाटा र हल्ला पनि हुन्छ’ एक रेडियो संचालकले भने ‘विद्युत अभावमा रेडियोहरुको विज्ञापन बजार पनि खस्कंदो अवस्थामा पुगेको छ ।’ नीजि र सामुदायिक विद्यालयले राखेका कम्प्युटर कक्षा प्रभावित भएका छन्भने क्याम्पसका प्रयोगशालामा पनि विद्युतकै अभाव भएको शिक्षकहरुले गुनासो गरे । विद्युतका कारण उद्योग संचालन नहुने र पूँजि पलायनको समस्या समाधान गर्न स्थानीय सरकार हस्तक्षेप गर्ने निष्कर्षमा पुगेको प्रमुख नेपालीले बताए ।