बागलुङ, १५ फागुन– सदरमुकाम बागलुङ बजारको आवारोडमा सुपथ मुल्यको सहकारी पसल सञ्चालनमा आएको छ । बागलुङ बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवसको अवसर पारेर पसल सञ्चालनमा ल्याएको हो । पसलको सोमबार एक समारोहका बीच बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले उद्घाटन गरे । पसलको उद्घाटन गर्दै खड्काले सहकारीहरुले सहकारीको मर्म र भावनाअनुसारको काम गर्नुपर्ने बताए । बचत र ऋणको कारोवार भन्दा सहकारीका सदस्यहरुको हितमा हुने खालका कार्यक्रम संञ्चालन गर्ने योजना सहकारीले बनाउनु पर्नेमा उनको जोड थियो ।
सहकारीले आफ्नो १८ औं स्थापना दिवसको अवसर पारेर शेयर सदस्यको हितमा हुने गरी सुपथ मुल्यको सहकारी पसलको सुरुवात गरेको भन्दै खड्काले सहकारीले गरेका कामहरुको प्रशंसा गरे । शेयर सदस्यहरुको माग र गत साधारण सभाको मुख्य एजेण्डालाई साकार रुप दिँदै सहकारीले पसल सञ्चालनमा ल्याएको हो । पायक पर्ने सबै शेयर सदस्यहरुलाई लाभ हुने गरी पसल सञ्चालनमा ल्याईएको सहकारीका अध्यक्ष असोक गोबिन्द राजभण्डारीले बताए । ‘हामीले आम सर्वसाधारणको हितको लागि पसल सुरु गरेका हौं’ राजभण्डारीले भने ‘सबै शेयर सदस्यलाई आफ्नै पसलमा कारोवार गर्नुहुन अनुरोध गरेका छौं ।’ कार्यक्रममा बोल्दै बक्ताहरुले सहकारीको काममा गुणस्तर, मुल्य र सेवा महत्वपुर्ण हुने भन्दै यस्ता कुरामा ख्याल गर्न सहकारी सञ्चालकलाई आग्रह गरेका थिए । सहकारीले आर्थिक कारोवारका अलावा सेवामुलक कामहरु पनि गर्नुपर्ने भन्दै उपभोग्य बस्तुको सहजताका लागि सहकारीको सुपथ मुल्य पसल लाभदायक कुने बक्ताहरुले बताए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले बागलुङ बहुद्देश्यीय सहारीले स्वागत योग्य काम गरेको बताए ।
सहकारीले आफ्नो स्थापना दिवसको अबसर पारेर समाजमा सकारात्मक सन्देश दिनेखालका काम गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला साखा बागलुङका अध्यक्ष दिल शिरिष, ब्रह्मकुमारी इस्वरीय बिश्वबिद्यालयका सञ्चालिका साबित्री दिदि र समाजसेवी ओमकारप्रसाद गौचनलाई सम्मान गरेको छ । उनीहरुलाई बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्का र संस्थाका अध्यक्ष अशोकगोबिन्द राजभण्डारीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । सहकारीले ६५ बर्ष उमेर पुगेका १० जना शेयर सदस्य, महिला शेयर सदस्यका २ जना बिद्यार्थी बालबालिका र एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालयका २ र संस्थागत बिद्यालयका २ जना बिद्यार्थीलाई समेत सम्मानित गरेको थियो ।
सहकारीको दैनिक कारोवार सञ्चालनका लागि उत्कृष्ट र अनुशासित काम गरेको भन्दै कर्मचारीको तर्फबाट बजार प्रतिनिधि निकिता मेलेपतिलाई समेत सम्मानित गरिएको सहकारीले जनाएको छ । सोमबार आयोजित १८ औं स्थापना दिवस तथा सुपथ मुल्यको सहकारी पसल उद्घाटन कार्यक्रममा शेयर सदस्यहरु लक्ष्मी शाक्य, पशुपति सापकोटा, एकता सहकारी संस्था बागलुङका अध्यक्ष ध्रुवप्रसाद शर्मा, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सल्लाहकार श्याम श्रेष्ठ, जिल्ला सहकारी संघका सचिव तेजेन्द्र थापा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, सावित्री दिदि, समाजसेवी तथा सहकारीका संरक्षक देवबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष आशोकगोबिन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दुर्गादत्त आचार्यको स्वागत र सचिव योगनाथ कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleविद्युत अभावमा पुँजी पलायन बढ्दै
Next Article १५ फागुन २०७४, धौलागिरी स्टार साप्ताहिक