पर्वत, १३ फागुन– फागुन १६ देखि २६ सम्म पर्वतमा संचालन हुने १० औं बृहत पश्चिमाञ्चल महिला महोत्सवको तयारी तिव्र पारिएको छ । रेडियो दिदिबहिनी पर्वतले आफ्नो आठौं बार्षिक उत्सवको अबसर पारेर आयोजना गर्न लागेको बृहत पश्चिमाञ्चल महिला महोत्सवको तयारी तिव्र पारिएका हो । रेडियो दिदिबहिनी पर्वतले शनिबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरि १ सय ८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको १० औं बृहत पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिककोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको हो ।
महोत्वसको वारेमा जानकारी दिदै रेडियोका अध्यक्ष कल्पना चापागाईले महिलाहरुको मात्र व्यवस्थापनमा संचालन गरिएको रेडियो दिदीबहिनीले आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्वत आउनु हुने भएको बताइन् । बिभिन्न कार्यक्रमका साथ ११ दिन सम्म संचालन हुने महोत्सवमा एक करोड बराबरको कारोबार र १० लाख नाफा निकाल्ने आयोजकले जनाएको छ । उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको उनले जानकारी दिइन् ।
महोत्सवमा दोस्रो सावित्री कन्चनजंगा दिदीबहिनि कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ । त्यसैगरि महोत्वसको अवसरमा १४ गते कुश्मा बजार सरसफाई र १५ गते ११ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चापागाईले बताइन् । त्यसैगरि महोत्वसको अवसरमा देशभरिका महिला स्टेशन म्यानेजरहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बताइएको छ ।