कृष्णराज शर्मा
हिंजो बेलुका निधो गरेका थियौं, आज अमेरिकाको राजधानी वासिङटन् डिसी पुग्ने,घुम्ने । निधो अनुरूप बिहानको खाना खाएर हामी हिंड्यौं । म गाडी भित्र पसें । अमेरिकी ‘रूल’ मा भिजिनसकेकाले सिटबेल्ट बाँध्न बिर्सेछु । कारमा जडित अत्याधुनिक प्रविधिले गुड्न लाग्दा नै टुईंटुईं गर्दै आवाज निकाल्यो । छोराले– ल ड्याडी फेरी पनि बिर्सिनु भयो बेल्ट बाँध्न ? भन्यो । म झस्कें । तुरून्तै सिटबेल्ट कसें । यात्रा शुरू भयो । यदी म यत्तिकै सवार हुन्थें भने बाटोमा राखिएका ट्राफिक संकेतसँगै राखिएका सुक्ष्म क्यामेराले फोटो लिएर सीधै होम एड्रेसमा ‘टिकट’ (जरिवानको रसिद ) पठाउँदो रहेछ । कम्तिमा पचास डलर नियम उल्लँघन गरे बापत जरिवाना बुझाउनै पर्ने । यसको बेवास्ता गर्नु भनेको असंभव नै रहेछ त्यहाँ । त्यसैले स्वयं गाडी चालकले नै ट्राफिक प्रहरीको काम गरिरहेका हुँदा रहेछन अमेरिकामा । सीधै गाडीमा पसेपछि गाडीबाट देखिने बाटोका दृश्य नियाल्नु मेरा लागि रोमाञ्चक त छँदै थियो साथसाथै त्यहाँको ट्राफिक व्यवस्थापन बुझ्दै थिएँ । बाटोमा देखिने दृश्यहरूमा क्यामेरा सोझाउँदै हामी बाटो लाग्यौं ।
फराकिला र एकतर्फि बाटा । बाटोको दायाँ बायाँको हरियाली । सबै गाडीको एकनाशको गति । आ–आफ्नो रफ्तार लिंदै हुईंकिएका सयौं गाडीका ताँती । गाडीभित्र हजारौं मान्छे दौडिरहेका तर, मान्छे कतै नदेखिने । गाडीको ध्वनी कहिल्यै नसुनिने । सुनिन्छ त खहरे खोला सुस्साएको आवाज मात्र । गतिमा तिव्रता भएपनि एकापसमा गाडी ठोक्किने संभावना नै नपाईने । तैपनि एउटा मालबाहक मझौला भ्यानले भने ट्र्याक परिवर्तन गर्दा नजिकियो । नेपालमा जस्तै त्यो भ्यानमा साना अक्षरमा ‘ट्रक साहित्य’ लेखिएको रहेछ । गाडीको पछाडी लेखेको थियो– “यो वाक्यांश तपाईंको आँखाले पढ्न सक्नु भयो ? यदि सक्नु भएको छभने तपाईं मेरो नजिक आईपुग्नु भयो ।’’ अँग्रेजीमा बडो मिठो ढङ्गले लेखिएको ट्रक साहित्य यही एक ठाउँमा मात्रै पढ्न भ्याएको थिएँ । यो वाक्याँशले पछाडी आउँदै गरेको गाडीलाई आँफूसँग ठोक्किन नपाओस् ताकि, संभावित दुर्घटनाबाट जोगिन सकियोस् भनेर सावधान गराउन चाहन्थ्यो । लगभग असी माईलको गतिमा गुड्ने गाडीमा तुरून्तै दश माईल डाउन गर्दा पनि दुर्घटनासंग जम्काभेट हुने खतरा प्रबल हुने रहेछ । यही गतिमा हाम्रो यात्रा रँहदा बेलायतकी सुन्दरी राजकुमारी डायना फ्रान्सको पेरिसमा सडक दुर्घटनामा परि उनको दुःखद निधन भएको र संगसंगै उनको पछाडीका दर्जनौ गाडी दुर्घटनामा परेको घटनाको स्मरण गराएको थियो । गाडीमा सवार अवस्थामा दुर्घटनाका कुरा उठाउन र कोट्याउन हुंदैन । चालकलाई यसले प्रभाव पार्दछ । चालक छोरा थियो । चालक छोरालाई र उसकी ममीलाई पनि यो कुरा सुनाउनु हुन्थेन । मनले मनसंग कुरा गरें तर गाडीको गति र निकटताको बारेमा उच्चारण नै गरिएन ।
त्यस्तो सोच हामी नेपालीहरूमा कम छ । चालक आँफै सचेत हुन्छ । बाटोको बारेमा सबैकुरा जानकार हुन्छ चालक । हामी बढी जान्ने भएर ठाउँ कुठाउँ अनावश्यक दुर्घटनाका प्रसंग उठाएर चालकलाई झस्काउन पुग्छौं । बागलुङबाट काठमाण्डौको यात्रामा ठूलो बस, जीप, माईक्रो बस र कार धेरै चढियो । जीवनमा कति चढिन्छ थाहा छैन । काठमाण्डौ सम्मको सफरमा मैले धेरैचोटी त्यस्ता स्मार्टहरू देखेको छु । हामीकहाँ चालक भन्दा दोब्बर स्मार्ट भएर कतिपय हामी यात्रुले चालकलाई सिकाई रहेका हुन्छौं । यात्राका क्रममा घटनास्थल नजिक पुग्नै लाग्दा चालकलाई ठूलठूला दुर्घटना स्मरण गराउने गर्छौं । चालकहरू यस्तो रूचाउँदैनन् । यसोगर्दा चालकलाई नै संत्रास र क्रोध श्रृजना गराई रहेका हुन्छ । चालकलाई मनोवैज्ञानिक प्रभाव पर्दछ । चालकलाई साथी साथमा चाहिन्छ । तर ती साथीले यतापट्टी ध्यान दिएका हुँदैनन् । खैर, म वासिङटनका लागि गुड्दैछु । कति छिटो आफ्नै देशको यातायात व्यवस्थापनका बारेमा सोच्न पुगेको हुन्छु । कहिले के कहिले के सोच्दै र गुड्दै दुई घण्टाको वरिपरीको समय लगाएर हामी वासिङटन पुग्यौं । अमेरिका पुग्ने जो कोही पनि एक पटक अमेरिकाको राजधानी शहर पुग्ने सपना देखेका हुन्छन् । हाम्रो पनि त्यो सपना त्यही दिन साकार हुँदै थियो । आजको शक्तिशाली अमेरिकाको संपूर्ण सार बुझ्न वासिङटन पुग्नै पर्ने ठाउँ रहेछ । हामी सरासर National Mall मा पुग्यौं । नेशनल मल राष्ट्रपति भवन White House ज्यगकभ को सेरोफेरो समेटिएको परिसर हो । यहाँ अमेरिकी स्वतन्त्रता संग्रामका संपूर्ण तत्वहरूले जीवन्तता दिईरहेका थिए । ह्वाईट हाउस, US Capitol, ( हाउस अफ् रिप्रिजेण्टेटिभ्, सिनेटर र कंग्रेसहरू रहने भवन ) लिंङ्कन मेमोरियल, पचास राज्यको प्रतिविम्व झल्कने रिफ्लेक्टिङ पुल, वासिङटन मोनुमेण्ट स्तम्भ लगाएतका थुप्रै ऐतिहासिक स्मारक रहेका रहेछन् । यो परिसरले विशाल आकार लिएर फैलिएको रहेछ । यहीं ठाउँ हेर्न विश्वभरिबाट अमेरिका पुगेकाहरूको बाक्लो उपस्थितिका बीचमा हामी पुगेका थियौं । नेशनल मल राष्ट्रिय पुरातात्विक सम्पत्ति भएका कारण त्यहाँ घुम्न अन्यत्र जस्तो प्रवेश शुल्कको जरूरत पर्ने रहेनछ । बरू आफ्नो सवारी साधन स–शुल्क पार्किङ गर्न पनि नपाउँदाको झञ्झट् बिर्सि नसक्नु बन्यो । यसका लागि करिब एक घण्टाको समय खर्चिएको थियो । अन्ततः हामी नेशनल मलमा घुस्यौं ।
झट्ट हेर्दा काठमाण्डौको रत्नपार्कदेखि नेपाली सेनाको सैनिक मुख्यालय सम्मको दुरी र उस्तै चौडा हरियाली जमीनमा सबैकुरा देखिए । ह्वाईट हास देखि लिङ्कन मेमोरियल सम्म हामी पैदल पुग्यौं । बीचको अग्लो स्तम्भ वासिङ्टन मोनुमेण्टमा ह्वाईट हाउसमा जत्तिकै फोटो सेसन सबैले गर्दा रहेछन्, हामीले पनि गर्यौं । ओल्लो छेऊबाट पल्लो छेऊ पुग्दा समय घर्की सकेको थियो । सन् १९६४ मा मार्टीन लुथर किङ्ले नागरिक अधिकारको घोषणा यहीं गरेका थिए । सन् १७७६ मा बेलायत र अन्य युरोपेली देशको दासताबाट स्वतन्त्र भएको अमेरिकाको मुक्ति आन्दोलनको घोषणा पनि यहीं भएको थियो । अमेरिकी जनसेनाका कमाण्डर जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति बनेका थिए । उनैको नाममा अमेरिकाको राजधानीको नाम रहेको कुरा अमेरिकाको इतिहास पढ्दा थाहा पाए पनि अझै पढ्ने अबसर त्यहाँ मिल्यो । मैले स्नातक तहमा अमेरिकाको संविधान पढ्दा पाएका धेरैकुरामा म साक्षात हुँदै गएँ । हाम्रो पाठ्यक्रममा भएका सबै कुरा मैले लालायित हुँदै बुझ्न खोजें । यसै सन्दर्भमा नेशनल आर्किभ National Archive पुग्नु पर्ने अनिवार्य बन्यो । नेशनल मलको पारिपट्टी National Archive (पुरातात्विक संग्रहालय) रहेको थियो । हामी पुग्यौं । निशुल्क तर क्यामेरा निःषेध रहेछ । आधुनिक अमेरिकाको शुरूवातीका संम्पूर्ण महत्वपूर्ण दस्तावेजहरू यहीं रहेछन् । हातले छुन पनि नपाईने । फोटो खिच्न त झनै बन्देज । अमेरिकी संविधानको शुरूवाती संविधानमा जम्मा सातवटा धारामा सिमीत रहेछ । सबै हस्तलिखित कागजातहरू बलियो शिशाको फ्रेम भित्र प्रष्ट बुझिने थिए । थुप्रै केरमेट सहितका मस्यौदाहरू पनि अति सुरक्षित गरि राखिएका थिए । हाम्रो क्यामेरा खोल्ने अनुमति त्यहाँ भित्र नभएकाले हुबहु फोटो लिन सकिएन । त्यहाँ चारै तर्फका भित्तामा स्वतन्त्र अमेरिका निर्माणमा प्रमुख भूमिका अदा गर्नेहरूका ठूल्ठूला तस्विरहरू टाँगिएका थिए । देश र जनताको लागि बलिदानी नेतृत्व गर्नेहरूको सम्मान कसरी गरिनु पर्दछ भन्ने छनक् मात्रै देख्दापनि मैले हाम्रो देशको बारेमा बुझ्ने त्यस्तो ठाउँ कुन होला भन्ने चाख मात्रै राखें । भलै, हामी कसैको दास बनेनौं फेरीपनि, स्वतन्त्र राष्ट्र निर्माणमा योगदान दिएकाहरूको बारेमा एकमुष्ठ अध्ययन गर्ने र देखाउने त्यस्तो अनुसन्धान परिसर के लाई मान्ने ? भन्ने प्रश्न मात्रै सोचें । एकदिनको दौडादौडमा अमेरिकाको राजधानी र अमेरिकाको इतिहासको साक्षात् कसरी हुन्थ्यो र ! तै पनि देखेको सपना विपनामा परिणत हुँदा खुशीको सीमा नाघ्यो ।
त्यही साँझमा अमेरिका स्थित नेपाली राजदूताबासको अवस्थिति हेर्न गाडी मोड्यौं । पुग्यौं पनि । पुग्दा लाग्यो, हामीकहाँ अमेरिकी राजदूतलाई जति ठूलो महत्व दिन्छौं त्यस्तो रहेनछ । डलरमा पाउने सुबिधाबाहेक अमेरिकाको लागि नेपाली राजदूतको कुनै सम्मान नै नभए जस्तो दूताबासको हरिगति देखियो । काठमाण्डौको असनमा च्यापिएको थोत्रो घर जस्तै दूताबासको कार्यालय देखेर म दङ्ग परें । हामी जस्तै अफ्रिकन देशहरू ईथियोपिया नाईजर सुडान जस्ता देशरूकै लाईनमा ति देशका दूताबासहरूको पनि हरिदशा रहेछ । आफ्नो देशको प्रतिनिधित्व गर्ने दूताबासले त्यो ठाउँमा पुरै देशको प्रतिनिधित्व गर्नुपर्छ । देशको इज्जत बेईज्जत जे गर्ने त्यही दूताबासले गर्ने हो । तर बाहिरी रूप हेर्दा नेपालको ईज्जत त नै राख्दैन– राख्दैन, त्यसले त्याहाँ रहेका नेपालीको ईज्जत कसरी राख्ला ? मनमा अनेक प्रश्न उब्जे । यसैबीच झमक्कै साँझ पर्यो । हामी पुनः आफ्नै बासस्थान बाल्टिमोर नै फर्कियौं । क्रमश …..
Previous Articleसहकारी ऐन २०७४ सम्बन्धि प्रशिक्षण
Next Article महिला महोत्सवको तयारी तीव्र