छोटो समयमै बागलुङ नगरपालिकामा रहेको पञ्चकोट धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । बागलुङ नगरको एउटा उराठ लाग्दो डाँडोमा अहिले हरेक दिन आन्तरिक तथा बाह्रय पर्यटकको बाक्लो चहलपहल हुन थालेको छ । पञ्चकोट अहिले बागलुङको सान बनेको छ । बागलुङको यो सानलाई कायम राख्नको लागि हामीले अझै धेरै काम गर्नुपर्ने भएको छ । पञ्चकोटमा अहिले दिनहुँ जसो पर्यटक पुग्दा त्यहाँको आर्थिक अवस्था समेत उकासिन थालेको छ । धार्मिक पर्यटकको गन्तव्य बन्न थालेको पञ्चकोटमा पुर्वाधार निर्माण कार्य चलिरहेको छ । पुर्वाधार निर्माण गर्नको लागि आर्थिक प्रमुख कुरा हो । आर्थिक संकलनको लागि पञ्चकोटमा हरेक वर्ष महायज्ञ लगाउने काम पनि भएको छ । यति छोटो समयमा चर्चित बनेको पञ्चकोटको विकासका लागि आम सरोकारवाला निकाय र नागरिक समाजबाट पनि उत्ति कै आर्थिक र नैतिक सहयोग आवश्यक छ ।
संसारकै अग्लो कलस बनाउने लगायतको अभियान राखेर शुरु भएको महायज्ञमा सहयोग गर्ने क्रम जारी रहेको छ । बागलुङ नगरपालिकाले पञ्चकोटको बिकासका लागि एक करोड रुपैयाँ दिने घोषणा समेत गरेको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गरेको पञ्चकोटको बिकासका लागि नागरिक स्तरबाट जति सकिन्छ त्यति सहयोग गर्ने होभने पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन । नगरपालिकाले यो क्षेत्रको बिकासका लागि एक करोड रुपैयाँसम्म खर्च गर्न सकिने सहमति भएको छ । नगरपालिकाले गुरुयोजना बनाएर बिषेश कार्यक्रमसहित उक्त रकम खर्च गरिने बताएको छ । जिल्लाको पहिचानको रुपमा पञ्चकोट बिकास हुन थालेकोले सबैको पहलमा देशकै उत्कृष्ठ गन्तव्य बनाउन सकिन्छ । यो अभियानको अगुवाई स्वामी कमलानयनाचार्यले गरिरहेका छन् । पञ्चकोट मात्रै होइन जिल्लाका अधिकांस पर्यटकीय क्षेत्रमा लगानी बढाउने वातावरणका लागि सरकारले पनि विशेष चासो दिनुपर्छ । पञ्चकोट र बागलुङ एक अर्काका पर्यायबाची भैसकेकोले यसको विकासका लागि सबै पहल गर्न जरुरी छ ।
ढोरपाटन, लघुजलविद्युत र झोलुङ्े पुलको जिल्ला भनेर परिचित बागलुङ अहिले पञ्चकोटको जिल्ला भनेर पनि चिनिन् थालेको छ । यसको विकासका लागि भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरुले प्रभावकारी भूमिका खेल्न जरुरी छ । पञ्चकोट क्षेत्रमा विकास गर्ने अभियान राज्यले ल्याउनु पर्छ । धार्मिक गन्त्व्य बनाउन पञ्चकोट सफल हुनेमा दुई मत छैन । त्यसैले त्यस क्षेत्रको विकास लागि वर्षेनि लगाईने महायज्ञमा सहभागि भई आफुले सक्दो सहयोग गर्नुपर्छ । पञ्चकोट कै कारण बागलुङ नगरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पञ्चकोटको गरिमा बागलुङसंग जोडिएको हुँदा यसलाई सदैव बचाई राख्नको लागि नागरिक स्तरबाट पनि आर्थिक तथा भौतिक सहयोगको अनिवार्य छ । अर्काे कुरा पञ्चकोट विकासको लागि लाखौं सहयोग गर्ने घोषणा गरेपनि अहिलेसम्म रकम उपलब्ध नगराएका कुरा बाहिर आएका छन् । त्यसैले आश्वासन मात्रै होइन यथार्थमा सहयोग गर्न जरुरी छ ।