चेतना भया
भरत बागलुङे
मुलुकका विधाता तिनले नागरिकलाई बाँडेका या देखाएका सपना ती कति पुरा तिनले गर्न सके होलान् ? प्रश्नको पुलिन्दा बोकेर सडक किनारामा उभिएको नागरिक गम खाईरहेको छ । उ हठात् देखिन्छ हैट ! नाथे एकवारको जोवन सामुन्ने विकल्प के छ ? ति जति नै खराब होउन हाम्रो सम्मुख तिनका नाममा लालमोहर लगाउनु बाहेक अर्थोक विकल्प छैन । सायद यहि कारण हुनुपर्छ ती हामीलाई सपना बाँडिरहेका छन् तर उधारो । हरेक वर्ष राज्यले नागरिकको नाममा बजेट बनाउँछ र घोषणा गर्छ तर त्यो कति प्रतिशत ती आममान्छेको जीवनसँग प्रत्यक्ष जोडिन सक्छ त्यसको कुनै खोजीनीति के सरकार र त्यसका प्रशासनिक निकायबाट हुने गर्छ ? नागरिक बबुरो गम खान्छ राज्य सायद त्यसका आँखा बन्द छन् र कान पनि ती त्यसो कहिल्यै गर्ने छैनन् । परिणाम हामी दुःखको भूमरीबीच नाथे जोवन अभिषप्त बाँचिरहेका छौँ । सायद दार्शनिक सोपेन हावर गलत छैन भने यो चौराहामा उभिएर हजारपटक घोषणा गर्न मन थियो आवर लाइफ इज द पनिसमेन्ट फर द क्राइम अफ आवर वर्थ । हो हामी यही साझा नियतिमा जीवनका दैयन्दिनी व्यतित गरिरहेका छौँ मालिक । तिम्रो इच्छाको आदेशपालक बनेर ।
मालिक ती फेरी पनि उत्साहपूर्वक सपना बाँडिरहेका छन् । तिनका चेहेरामा सपना बाँडुन्जेल किञ्चित लज्जाबोध देखिदैन । र नागरिक ती उस्तै उत्साहपूर्ण रुपमा सपना थापिरहेका छन् र तिनका चेहेरामा पनि वितृष्णा र प्रश्नका शेष अवशेष देखिदैनन् । कस्तो अचम्म ? कुन विवशताको कालकुट पिएर बाँच्न अभिषप्त छ यो नागरिक ? उ इतिहासको इतर उभिन डराईरहेको छ । मालिकका ज्यादतीविरुद्ध मूर्दावाद ओकेल्नु पर्ने बेला उ पछाडि हटिरहेको छ । उ आप्mनो बलिदानीको हिसाब माग्न डराईरहेको छ । उ आप्mनो सपनाको हिसाब माग्न डराईरहेको छ । नागरिक उ नेतृत्वले गरेका खराबीहरुका बिरुद्ध उभिन डराई रहेको छ आखिर किन ? सन्निपातको रोगी जस्तो मृत्युको पर्खाईमा नागरिक बाँचिरहेको छ । गरिमाविहिन, अस्तित्वविहिन, उत्साहविहिन । लोकतन्त्रको नाममा साँच्चि राज्यले नागरिकमाथी बर्बर र पाशविक अत्याचार गरिरहेको छ । सारको हैन रुपको परिवर्तनले नागरिक चेतना, नागरिक अस्तित्व, नागरिक हक, नागरिक गरिमा, नागरिक सर्वोच्चता र नागरिक दैयन्दिनी ती ध्वस्त बनिरहेका छन् । धनी र गरिब बीचको विभेद, तल्लो र माथिल्लो जातिबीचको विभेद, महिला र पुरुषबीचको विभेद, शहरिया र गाउँले बीचको विभेद, सुगम र दुर्गम बीचको विभेद, शासक र शासित बीचको विभेद ती खाली संविधानमा मात्र लिपीवद्ध छन् । यो क्रमभंगताको नयाँ उपक्रमबाहेक अर्थोक केही हुनै सकेको छैन विडम्बना !
हरेक बिहान पूर्वबाट रातो घाम उदाईरहेको छ र साँझ पश्चिममा अस्ताईरहेको छ । हरेकदिन अल्छि लाग्दा पाइला उचालेर शीत निद्राबाट ब्युँझेको सर्प जसरी मन्त्री मन्त्रालय धाइरहेको छ । सभासद संसद भवन छिरिरहेको छ र योजना आयोगका मालिकहरु ती कागजमा नौरंगी योजना कोर्न मग्न देखिन्छन् । बाहिर व्यापारी किसान र उपभोक्ताको शोषण गरिरहेको छ । महँगीले आकाश छुने इरादा त्याग्न सकेको छैन । शिक्षालय अभिभावकको आर्थिक र विद्यार्थीको मानसिक शोषण गरिरहेका छन् । सरकारी हुन या नीजि अस्पताल र डाक्टर ती विरामी र तिनका परिवारजनको आर्थिक, मानसिक, शारिरीक र समयको शोषण यति चरम रुपमा गरिरहेका छन्, नागरिक कहालीलाग्दो जीवन व्यतित गर्न अभिषप्त छ । न्यायलय न्यायका बखानमा समय र पीडितलाई ¥याइँच्याइँ नचाईरहेका छन् । सरकारी अड्डा ती प्रत्येकमा नागरिकको गरिमा कहाँनेर सुरक्षित छ ? कहाँनेर अपनत्व र स्वाभीमान सुरक्षित छ ? कहाँनेर नागरिकप्रतिको दायित्व र सम्मान सुरक्षित छ ? ती युक्लिट्स जस्ता नाङ्गा छन् र नागरिक लोकतन्त्रको पछ्यौरा ओढेका मालिकहरुको ज्यादतीका शिकार बनिरहेका छन् । अफसोच ! सात समुन्द्र पारीबाट धनदौलत बोकेर पादरी धर्मको व्यापार गर्न मुलुकका कुना कन्दरामा सहज प्रवेश गरिरहेको छ । अभिषप्त जिन्दगीको रथ गुडाउन विवश नागरिक बाँच्नको लागि मृगौला ब्यापार गरिरहेको छ दलालहरुसँग सित्तैमा । उसको लागि धर्म बेच्नु, स्वाभिमान बेच्नु, संस्कार संस्कृति र परम्परा बेच्नु अपराध हो भनेर राज्यले पुग्न सकिरहेको छैन या चाहिरहेको छैन । भुगोल, शरिर, स्वाभिमान, अस्तित्व, पहिचान, संस्कार संस्कृति ती सबै बेचिसकेपछि हामीसँग जोगाउन बाँकी शेष केही छ की ?
हामी मरिरहेका छौँ । लोकतन्त्रले हामीलाई नितान्त नीजि जिन्दगीको बारे मात्र सोच्न विवश बनाईरहेको छ । पलपल केवल हामीले आप्mनो लागि मात्र सोचिरहेका छौँ परिणाम मुलुक मरिरहेको छ । हिमाल मरिरहेको छ । पहाड मरिरहेको छ र मधेश मरिरहेको छ । हाम्रो प्रकृति मरिरहेको छ दलाल र ब्यापारीहरुको कारण, हाम्रो धर्म संस्कार र संस्कृति मरिरहेको छ दलाल र ब्यापारीहरुको कारण, हाम्रो शिक्षा मरिरहेको छ दलाल र ब्यापारीहरुको कारण । हाम्रो शरिर र मानसिकता मरिरहेको छ मरिरहेको छ दलाल र ब्यापारीहरुको कारण । यति चरमरुपमा मुलुकलाई ब्यापारी र दलालीकरण गरिएको छ की हामी ऐन, कानुन र नियमका हैन दलालका रैती हौँ । हामी क्रमशः राज्यका हैन दलालका नागरिक बनिरहेका छौँ । मुलुक नजानिँदो गरी पुनः हलिया, दाश र कमारा प्रथातिर उन्मुख भईरहेको छ । कानुन केवल भातपानीको जोहो गर्ने माध्यम मात्र हो । राजनीति केवल भातपानीको जोहो गर्ने माध्यम मात्र हो । राज्य त्यो पनि भातपानीको जोहो गर्ने माध्यम मात्र हो । कस्तो विडम्बना ! नागरिक दशैंमा पनि भोको छ दलालहरु ती तीनसय पैसठ्ठी दिन दशैं मनाईरहेका छन् । नागरिकको दैयन्दिनी त्यो विराट कष्टले दिनपरदिन दाशताउन्मुख बनिरहेको छ तर हामी लोकतन्त्रको सुन्दर लोरी गाउन अभिषप्त बनिरहेका छौँ । सडक किनारामा गरिबी र बेरोजगारीलेग्रस्त युवा अनिश्चित भविष्यको यादले त्रसित बनिरहेको छ । दलाल उत्पादन गर्ने राज्यसत्ता उ कुम्भकर्ण निद्राको अभिनयमा दिनहरु व्यतित गरिरहेछ । समयको कुनै मोडमा नागरिक उ मुर्दाशान्तिको गुम्बजभित्रबाट आगो बोकेर दलालका अखडामा आगो झोस्न विवश बन्ने छ । चेतना भया !