नेपाल प्राकृतिक छटा, धार्मिक र साँस्कृतिक सम्पदामा सम्पन्न भएपनि बाह्य पर्यटक भित्राउन सकिएको छैन । देशमा गहिरिदो राजनीतिक तरलता, बन्द आमहड्ताल र असुरक्षाका कारण पर्यटन क्षेत्र तंग्रिन सकेको छैन् । विश्वका गरिब मुलुकहरु पर्यटन क्षेत्रको विकास गरेर देशको विकासमा कायापलट नै गरेका छन् । सानो मुलुक थाईल्याण्ड सेक्स पर्यटन कै कारण विश्वमा चर्चित छ । बालुवाको थुप्रो मात्रै भएका खाडी मुलुकहरु कृत्रिम पर्यटकिय क्षेत्र बनाएर विश्वलाई चकित पारिरहेका छन् । तर, हाम्रो देश नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक रुपले सम्पन्न भएपनि बाह्य पर्यटकलाई भित्राउन नसक्नु दुखको कुरा हो । विश्वका कतिपय देश पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र मजबुत बनाएका छन् । नेपालमा थला परेको पर्यटन क्षेत्र उकास्न भने ठोस पहल हुन सकेको छैन । पर्यटन प्रर्वद्वनको लागि नेपालमा औपचारिक कार्यक्रम गरी दिवस मनाउने प्रचलन छ जसले अन्तराष्ट्रिय क्षेत्रमा कुनै महत्व राख्दैन ।
नेपालमा विदेशी पर्यटक भित्राउनको लागि पर्यटन वर्ष घोषणा पनि गरिएको थियो । तर, त्यसलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा चासो नदिँदा नेपालको पर्यटन क्षेत्र कमजोर बन्दै गएको छ । नेपालमा पर्यटन प्रर्वद्वन हुन नसक्नुमा राज्यको बेवास्ता मुख्य कारण हो । नेपालमा जबसम्म राजनीति स्थिर हुँदैन तबसम्म पर्यटन क्षेत्रको विकास संभव पनि छैन । सरकारी तथ्यांकका अनुसार, सन् २००३ देखि २०१५ सम्म ७२ लाख ८७ हजार विदेशीहरु नेपालमा घुम्न आएका छन् । सोही अवधिमा तिब्बत र भारतमा वर्षमा कयौं गुणा ठूलो संख्यामा पर्यटक आउँछन् । लामो समय आन्तरिक द्वन्दको मार खेपेको श्रीलंकाले छोटो समयमै पर्यटनबाट मनग्य फाइदा लिएपनि नेपाल भने अगाडि बढ्न सकेको छैन । नेपालको पर्यटनमा पर्याप्त संभावना छ । यसको फाइदा लिनको लागि राजनीतिक दलहरुले यसबारे ध्यान दिन जरुरी छ । अर्काेतर्फ राजनीतिक दलहरु मात्रै दोष थुपारेर हुँदैन । पर्यटन व्यवसायी पनि यसको प्रर्वद्वन गर्न सक्रिय भूमिका खेल्नु पर्छ ।
नेपालमा राणा शासनकालमा विदेशीलाई नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । त्यसको असर हालसम्म पनि परिरहेको छ । २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि ०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । तत्कालीन राजा महेन्द्रको पालामा नेपालमा पर्यटन व्यवसाय शुरु भएको थियो । नेपाल गणतन्त्रमा आईपुग्दा पनि पर्यटन क्षेत्र उत्साह छैन । किन यस्तो भईरहेको छ । राज्य संचालन गर्नेले सोच्न जरुरी छ । अर्काेतर्फ व्यवासयीले आफ्नो जिम्मेवारी मात्र निभाएमा नेपालको पर्यटन क्षेत्र धेरै सुधार हुन सक्छ । पर्यटन प्रर्वद्वनको लागि पुर्वाधारको पनि उत्तिकै महत्व हुन्छ । थुप्रै पर्यटकीय क्षेत्र पुर्वाधारको अभावमा ओझेलमा परेका छन् । त्यसैले पर्यटन क्षेत्रलाई उत्साह बनाउन पुर्वाधारमा लगानी र वातावरण सिर्जना गर्नुपर्छ ।