बागलुङ, १० फागुन– जिल्ला सदरमुकाम बागलुङ बजारमा बुधबार बिहानदेखी खानेपानी सहज भएको छ । बाटो खन्ने क्रममा आईतबार डोजरले पल्टाएको ढुंगाले लागेर फुटेको खानेपानीको पाईप जडान कार्य सम्पन्न भएकाले बुधबारदेखी सहज रुपमा पानी बितरण भैरहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । पहिलो दिन स्थानियको अवरोध र दोस्रो दिनदेखी सुरु भएको जडान कार्यले गति लिन नसक्दा बागलुङ बजारमा खानेपानीको अभाव भएको थियो । पाईप फुटेको स्थान काठेखोला–७ रेशमा निरन्तर डोजरले काम गरिरहेकाले पानीको पाईप जडानमा ढिलाई भएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।
तिन दिन लगाएर पाईप पुनः जडानको काम सकिएकाले बुधबारदेखी बागलुङ बजारका सबै टोलमा पानीको बितरण भैरहेको शर्माले बताए । ‘पाईप जडानको काम सकिएलगत्तै ट्याङ्कीमा पानी खसेको छ’ शर्माले भने ‘यदि पुनः पाईप नफुटे सहज आपुर्ति हुन्छ ।’ पाईप रहेको स्थान भन्दामाथि निरन्तर बाटो स्तरोन्नतीको काम चलिरहेकाले पुनः पाईप फुट्ने सम्भावना रहेको संस्थाले जनाएको छ । रेशको अर्को मुहानहुँदै आएको पानीले नगरपालिकाका १ हजार ५ सय धारामा पानी आएको भएपनि बाँकी १ हजार २ सय धारामा पानी बन्द थियो । पानीको आपुर्ति बन्द हुँदा बागलुङ बजारका उपल्लाचौर, श्रीनगरटोल लगायतका क्षेत्रमा पानीको चरम अभाव भएको थियो ।
Previous Articleरैथाने बाली लोप हुँदै
Next Article उत्पादनशिल क्षेत्रमा लगानी गर्न जोड