म्याग्दी, १० फागुन– जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७ बाली लोप हुने अवस्थामा पुगेका छन् । पाँच सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसंगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका हुन् । करिब एक दशक अघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको जिल्ला कृषि विकास कार्यालयले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो कृषकको रहेको छ ।
कार्यालयको एक तथ्यांकअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली जिल्लाबाट लोप हुने अवस्थामा पुगेका हुन् । आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन्भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् । जिल्लाकै अगुवा कृषक चन्द्रबहादुर कार्कीका अनुसार, “विकासे बीउबिजनबाट एकपटक उत्पादन भएका खाद्यान्नलगायत फलफूल र तरकारीलाई अर्को पटकका लागि बीउका रुपमा प्रयोग गर्न सकिँदैन ।”