बागलुङ, १० फागुन– सहकारी संस्थाहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । देशको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको भन्दै बक्ताहरुले उत्पादनमुखी कृषि कर्ममा लगानी गर्नुपर्नेमा जोड दिए । सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारी संस्थाले बुधबार बागलुङ बजारमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मन कुमारी केसीले सहकारीले कृषिको उत्पादनको क्षेत्रमा लगानि बढाउनु पर्नेमा जोड दिईन् । उद्देश्य अनुसारको काम गर्न नसक्दा सहकारी संस्थाहरुको गरिमामा आँच आउने भन्दै उनले निस्चीत उद्देश्य लिएर स्थापना भएका सहकारी संस्थाहरु सोही उद्देश्य प्राप्तीको लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले कृषि सहकारीले आफ्ना सदस्य बृद्धि गर्दा कृषकहरुलाई नै समेट्ने गरी सदस्यता बिस्तार गर्नुपर्नेमा जोड दिए । सहकारीका सल्लाहाकार एवं भिमपोखरा युवा क्लवका कार्यवहाक अध्यक्ष मणिभद्र शर्माले नाफामुखी भन्दा सेवामुखी व्यवहार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका कानुनी सल्लाहकार डिल्लीराज गौतम, चन्दादाता विवेक हमाल लगायतले बोलेका थिए । सहकारीले गत माघ १९ र २० गते जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखारामा सञ्चालन गरेको बृहत कृषि प्रदर्शनी मेला तथा पशु बिमा कार्यक्रमा सहयोग गर्नेलाई बुधबार स्वागत तथा सम्मान कार्यक्रमका बीच सम्मानित गरेको थियो ।
सो अवसरमा नेकपा एमालेका तर्फबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सहकारीकी शेयर सदस्य मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । मेलामा आर्थिक सहयोग गर्ने दुई दर्जन बढि चन्दादातालाई समेत प्रशंसा पत्र र खादा ओडाएर सम्मान गरीएको सहकारीले जनाएको छ । दुई दिनसम्म चलेको मेलामा १ लाख ३० हजार रुपैयाँ खर्च र १ लाख ७४ हजार रुपैयाँ आम्दानी भएको सहकारीका कृषि समिती संयोजक खिम कार्कीले बताए । कार्यक्रम संस्थाका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता, उपाध्यक्ष धनबहादुर कार्कीको स्वागत र सचिव चुडा मणि उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।