स्थानिय विकास र सर्वसाधारणको पक्षमा काम गर्न भन्दै जनमत लिएर निर्वाचित भएका जनप्रतिनिधिले कहाँ के काम गरिरहेका छन् भन्ने आम सर्वसाधारणको चासोको बिषय हो । प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित भएकाहरुको बिषयमा भन्दा धेरै सर्वसाधारणले स्थानिय तहमा निर्वाचित भएकाको लेखाजोखा गरिरहेका छन् । कयौं आश्वासन र कयौं सपना देखाएर जनताको अमुल्य जनमतलाई आफ्नो पक्षमा पारेका स्थानिय निकायका जनप्रतिनिधि यतिबेला निकै ब्यस्त छन् । जबकी उनीहरुलाई आफुलाई अमुल्य मत दिएका सर्वसाधारणसँग बोल्नको लागि समेत समय छैन् । चुनावको बेला दुई हात जोडेर गरिब दिन दुःखीको घरदैलोमा पैदल पुगेका निर्वाचित जनप्रतिनिधिलाई अहिले भने आमसर्वसाधरणले मुश्किलले कुदिरहेको गाडीको सिसा भित्र देख्छन । त्यो पनि सडक छेउमा घर भएका र कुनै कामको शिलशिलामा सडकमा निस्कीएकाले । देश संक्रमणकालबाट मुक्त भए पनि सर्वसाधारणका दुःख र बेदना घटेका छैनन् । सर्वसाधारणको बीचमा हिजो जुन समस्या थिए ति समस्या समाधान भएका छैनन् ।
कर्मचारीले धानेको प्रशासनसँग काम गरेका सर्वसाधारण आज पनि उहिँ प्रशासनसँग लुकामरी खेल्न बाध्य छन् । कारण आफुले जिताएको जनप्रतिनिधिलाई कार्यालयमा बस्ने र जनताको काम गर्ने फुर्सद नै छैन । जिल्लाका दश वटै स्थानिय तहका प्रमुख आज पनि यो वा त्यो ढंगबाट ब्यस्त जिवन बिताईरहेका छन् । सराकारी तथा गैह्रसरकारी संघ संस्था, बिद्यालय, क्लब समुह वा कुनै बर्ग वा समुदायका औपचारिक कार्यक्रमको उद्घाटन गर्ने भाषण ठोक्ने र गाडीमा सयर गर्दैमा उनीहरुको दिन बितिरहेको छ । दुर्गमका केही स्थानिय तहमा यो अवस्था नभएपनि जिल्ला सदरमुकाम र आसपासमा रहेका स्थानिय तहका प्रमुखको हकमा यो कुरा पुर्ण रुपमा लागु हुने गरेको छ । स्थानिय तहका प्रमुख मात्रै हैन वडा अध्यक्ष र वडा सदस्यलाई समेत भ्याईनभ्याई जस्तै छ । यसको अर्थ यो होईन कि उनीहरुले कुनैपनि कार्यक्रम, सभा सेमिनार वा भेला बैठकहरुमा सहभागिता जनाउनु हुँदैन । उनीहरुले सर्वसाधारण जनताको कामको महत्व र सर्वसाधारणको हितमा हुने खालका काममा बढि ध्यान दिन जरुरी छ । जहाँ सहभागी हुँदा सर्वसाधारणले अधिकतम् फाईदा लिन सक्छन् वा जाकारी पाउन सक्छन् त्यो ठाउँमा जनप्रतिनिधिको उपस्थिती अनिवार्य छ तर कुनै एक पहुँचवाला व्यक्तिको श्राद्धमा समेत सहभागी हुने पहुँच नभएको नागरिकको जीवन मरणको सवालको काममा समेत बेवास्ता र ढिलासुस्ती गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ । सर्वसाधारणले आफ्नो प्रतिनिधि फेरी पनि ठेकेदारी, पहुँचवाला प्रणालीको लागि पाएका होईनन् । आफ्ना प्रशासनिक, सामाजिक र व्यवहारिक कामका लागि सिधा आफ्ना प्रतिनिधिमार्फत काम गर्नको लागि पठाएका हुन् । यदि जनप्रतिनिधि यि र यस्तै काममा ब्यस्त भैरहने होभने सर्वसाधारणले उनीहरुलाई कहिले भेट्ने ? कहिले सुनाउने आफ्ना दुखेसा र गुनासा ? त्यसैले अब जिम्मेबार जनप्रतिनिधिले आफ्नो बेकामी ब्यस्ततालाई कम गर्न जरुरी छ । कुनैपनि कार्यक्रमलाई आवश्यताको पहिचान गरेर मात्रै सहभागी हुने र बाँकी समय सर्वसाधारणको काममा खर्चनु पर्छ ।