भारतीय उच्च सैनिक अधिकारीको बागलुङ भ्रमण
बागलुङ, ७ फागुन– भारतीय सेनाका कल्याणकारी कोष हेर्ने प्रमुख एवं लेप्टिनेन्ट जनरल आरपी सिंहले बागलुङका भूतपूर्व सैनिकहरुलाई बैंकमार्फत पेन्सन दिने घोषणा गरेका छन् । आईतबार बागलुङस्थित जिल्ला सैनिक बोर्डमा आएका सिंहले पेन्सन बितरणमा परेको समस्याबारे छलफल गर्दै गाउँपालिका र नगरपालिकामा खुलेका बैंकबाटै पेन्सन झिक्न मिल्ने व्यवस्था गर्न लागेको बताए ।
यो व्यवस्था भएमा पेन्सनवालाहरुलाई सदरमुकाममा आउजाउको समस्या पर्दैन । हाल बागलुङस्थित जिल्ला सोल्जर बोर्डबाट धौलागिरी भित्रका १० हजार निवृत्त भारतीय सैनिकले पेन्सन थाप्दै आएका छन् । नेपाल सरकारले सबै गाउँपालिका तहसम्म बैंक खोल्ने घोषणा गरेकोले सबैलाई बैंक खातामा रकम जम्मा गरिदिने उनले बताए । यो व्यवस्था गर्दा बोर्डमार्फत पनि लाखौं रुपैयाँ बचत हुनेछ । भूतपूर्व सैनिकहरुले पनि यो कार्यक्रम राम्रो भएको बताए । ‘साहै्र बुढाबुढी भएकाहरुको औंठाछाप नमिलेको भन्दै केही बैंकले सास्ती दिएका घटना छन्’ भूपू सैनिक हरिबहादुर भण्डारीले भने, ‘त्यो समस्यालाई समाधान गर्न सकियो भने बैंकबाट दिन सजिलो होला ।’ बैंकहरुले हस्ताक्षर नमिलेको लगायतका बिषयले भुक्तानीमा समस्या बनाएको उनीहरुले बताएका थिए । समस्याबारे सुनेका सिंहले नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता जस्तै सहज बनाउने बताएका थिए ।
उनले भूपू सैनिक र उनीहरुको परिवारलाई निशुल्क स्वास्थ्य सेवाको अभियान ल्याएको पनि बताए । नेपालका सबै सरकारी अस्पताल र तोकिएका नीजि अस्पतालमा पुगेर उनीहरुले उपचार गर्न पाउनेछन् । सिंहका अनुसार आकस्मिक उपचार गर्नु परेमा पनि त्यसको जानकारी सैनिक श्रोतलाई दिएपछि भुक्तानी हुने व्यवस्था छ । सिंह भारतीय सैनिक कल्याणकारी कोषका उच्च पदस्थ अधिकारी हुन् । निशुल्क स्वास्थ्य कार्यक्रम अन्र्तगत सबै लाई नेपाल र भारतमा उपचार गर्न पाउने गरी परिचयपत्र बनाईनेछ । बहालवाला सबैलाई परिचयपत्र बनाईसकेको छ भने निवृत्त भएकालाई बनाउने क्रम चलिरहेको भारतीय दुतावासका रक्षा सहचरी कर्नेल अवनीस चम्बयाल एस एसले बताए । भारतीय सेनाले कल्याणकारी काम अन्र्तगत यो अभियान ल्याएको पनि उनले सुनाएका थिए । भारतीय सेनाले राजदुताबास मार्फत जिल्ला जिल्लामा एम्बुलेन्स सेवा पनि सहयोग गरेको छ ।
साथै विद्यालयहरुमा बस र छात्रवृत्ति, भारतीय सेनाका परिवारलाई नियमित पेन्सन तथा उपचारमा सहयोग गर्दै आएकोमा अव सबै स्वास्थ्य सुविधा निशुल्क बनाइएको उनले बताए । सैनिक बोर्ड मार्फत भारतीय सेनाले बागलुङमा व्यवसायिक तालिम पनि संचालन गरेको छ । एकल महिला र सैनिकका परिवारलाई सिलाईकटाई तालिम तथा अन्य ईच्छाएको तालिममा प्रशिक्षक र तालिम खर्च दिएको बोर्डका जिल्ला ईन्चार्ज पूर्णबहादुर थापाले बताए । भ्रमणमा आएका सैनिक अधिकारीले निवृत्तको नागरिकता र पेन्सन पट्टामा थरमा फरक परेको, श्रीमान श्रीमतीको नाता प्रमाणित समस्यालाई व्यवहारिक कठिनाई हेरेर सहज बनाईदिने पनि बताए । नाममा अक्षर फरक पर्दा कतिपयले पेन्सन थाप्न सास्ती भोगेको गुनासो गरेका थिए ।
जातै फरक परेको अवस्थामा संशोधन गर्न कठिन हुने भएपनि नामका अक्षरमा आउने सामान्य त्रुटी र कमजोरीलाई सच्याउन सहजै सकिने र मातहतको निकायमा पनि सोही अनुसारको निर्देशन दिने सिंहले आश्वासन समेत दिएका छन् । उक्त अवसरमा स्वतन्त्र भूपूसैनिक संस्थाका संस्थापक अध्यक्ष मेजर तेजबहादुर थापा र क्याप्टेन हरिबहादुर भण्डारीले स्वागत गरेका थिए ।