पर्वत, ७ फागुन– वनजंगलमा पाइने चाल्ने सिस्नो (अल्लो)बाट धागो बनाउँन नयाँ प्रबिधिको विकास गरिएको छ । पोखरा बिश्वबिद्यालय र कोरियाको हाङदोङ बिश्वबिद्यालयका अन्वेशकहरुले परम्परागत रुपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागत समेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीहरुका लागि नयाँ प्रविधिको विकास गरेका हुन् ।
अल्लो प्रशोधन गर्न विकास गरिएको नयाँ प्रबिधीको पर्वतको मोदीगाउँपालिका वडा नं ३ घुरुङ्गामा सफल परिक्षण समेत गरिएको छ । परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र ब्यबसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रबिधिको विकास गरिएको र यसले ग्रामिण क्षेत्रका लघुउद्यमीलाई फाइदा पुग्ने प्रमुख अन्वेषक एबम पोखरा बिश्वबिद्यालयका उपप्राध्यापक डा. अजय थापाले बताए । ‘नयाँ प्रविधि विकास गर्नाले अल्लोको भुँवा प्रशोधनमा ठुलो उपलब्धी हासिल भएको छ’ डा. थापाले भने ‘नयाँ प्रबिधिले छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादनमा महत्वपुर्ण सहयोग पुग्छ ।’ नयाँ प्रबिधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रबिधि अपनाइएको छ । परम्परागत रुपमा प्रशोधन गर्दा धेरै ज्यामी र शारीरिक श्रम लाग्ने तथा समय समेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले १ जनाबाटै संभब भएको स्थानिय उद्यमी रनमाया पुनले बताइन् । ‘नयाँ प्रविधि हाम्रा लागि इश्वरको बरदान नै भएको छ’ उनले भनिन् ।
पहिले अल्लोको भुँवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्दा धेरै श्रम र समय लाग्दै आएको उनले बताइन् । नयाँ प्रविधिको विकास गर्नका लागि कोरियाको बिज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङ्गदङ्ग बिश्वबिद्यालय, नेपाल इनोभेसन एण्ड इन्टरप्रेनरसिप सेन्टर, पोखरा बिश्वबिद्यालय लगायतले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेको तर त्यस अनुसार लाभ लिन नसकेको कारण नयाँ प्रविधिको खोजी भएको थियो ।
लघुउद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुबेदीले अन्वेषकहरुलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परिक्षणपछि आफ्नो उद्देश्य पुरा भएको सुबेदीले बताए । ‘लघुउद्यमको क्षेत्रमा लामो समय काम गरे, आज सबैभन्दा बढी खुसी छु’ उनले भने । यसैबीच, अल्लो प्रशोधनको नयाँ प्रविधि र भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योगको उद्घाटन गरिएको छ । घुरुङ्गमा स्थापित उद्योगको मोदी गाउँपालिकाकी अध्यक्ष सेती महत र हङ्गदङ्ग बिश्वबिद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उपाध्यक्ष महतले लघुउद्यमीहरुलाई नयाँ प्रबिधी, सिप र पुंजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताइन् । उनले अल्लो प्रशोधनलाई ब्यबसायिक बनाउन गाउँपालिकाले २० बर्षे उद्योग रणनिती बनाएर अघि बढेको जानकारी दिइन् । प्रोफेसर हानले नेपालमा लघु उद्यममा नयाँ प्रविधि विकास गर्न सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले यसलाई अन्य बस्ती र समुदायमा बिस्तार गर्न सके रोजगारी बढाउन सकिने बताउँदै त्यसका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालले अल्लोको ब्यबसायिक खेती र जंगलमा भएको अल्लोको संरक्षण र उपयोग बढाउन जरुरी रहेको कुरामा जोड दिए ।
Previous Articleतीन दिने शिविरमा ११ सय लाभान्वित
Next Article भुपुहरुलाई खुसिको खवर अब पेन्सन बैंकमा