राजेशचन्द्र राजभण्डारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्ति भएका छन् । एमाले र माओबादी केन्द्रका तर्फबाट १७४ सांसदको समर्थन रहेको दाबी पेश गरेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सपथ समेत खाइसकेका छन् । २०७३ श्रावण १९ गते पद छाडेका एमालेका अध्यक्ष ओलीले नेपाललाई छिमेकी मुलुक भारतले नेपालको संबिधानप्रति असन्तुष्टि जनाएर नाकाबन्दी गरेको समयमा भारतसंग नझुकेर आफुलाई राष्ट्रबादी भनेर चिनाउन समेत सफल भएको कारणले पनि केपी शर्मा ओली अहिले राजनीतिक चर्चामा रहेका हुन् ।
अहिले मुलुकको ४१ औ प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फेरि चर्चाको शिखरमा रहेका छन् । हिजो माओबादी कै कारणले प्रधानमन्त्री हुँदै माओबादी कै अबिश्वासको कारण प्रधानमन्त्रीबाट हट्न बाध्य भएका ओली यतिबेला बामपन्थी गठबन्धनपछि फेरि माओबादी केन्द्र कै समर्थनमा मुलुकको प्रधानमन्त्री हुन सफल हुनु पनि नयाँ संयोग हो । बामपन्थी गठबन्धन संग–संगै एमाले र माओबादीबीच पार्टी एकता गर्ने अभियान समेत थालेका एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको एकताको कारणले पनि अहिले बामपन्थी गठबन्धनलाई नेपाली जनताले बहुमत दिएर पठाएको छ । छिमेकी मुलुक भारतले आर्थिक नाकाबन्दी गरेर पुरै देशलाई अस्तब्यस्त बनाउँदा समेत नेपाली जनताले दाउरा बालेर गाडी नचढीकन ओली सरकारलाई साथ दिएका थिए । साँच्चै राष्ट्रबादी हुने अबसर जसरी पाएका थिए अहिले पनि नेपाली जनताले ओलीबाट धेरै आशा र भरोसा लिएका छन् ।
साँच्चै यतिबेला हामीले ओलीको सकारात्मक कुराको खोजी गरिरहेका छौ । जिउँदो इतिहास बोकेका एमाले अध्यक्ष केपी शर्मा ओली मृत्युलाई समेत जितेर अहिले बाँच्न सफल ब्यक्ति पनि हुन् । २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएर २०२३ सालमा राजनीतिमा प्रबेश गरेका ओली २०३० साल देखि २०४४ सालसम्म १४ बर्ष जेल जीवन बिताउँदै २०४४ सालमा एमालेको केन्द्रीय सदस्य २०४७ सालमा युवा संघको संस्थापक अध्यक्ष हुँदै २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट सांसदमा निर्वाचित २०५१ सालमा गृह मन्त्री २०५६ सालमा पुनः झापा क्षेत्र नम्बर ६ बाटै निर्वाचन जित्न सफल भएका एमाले नेता ओली २०६३ सालमा उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री २०७० सालमा एमाले संसदीय दलको नेता हुँदै २०७१ सालमा महाधिवेशनबाट एमालेको अध्यक्ष हुन सफल भएका थिए । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्न सफल मात्रै भएनन् ओलीले नयाँ इतिहास समेत रच्न सफल भएका थिए । अहिले फेरि एकपटक महान जिम्मेवारी बोकेर केपी शर्मा ओली ४१ औ प्रधानमन्त्री बन्न सफल भएका छन् । अहिले समय, परिस्थिति र घटनाक्रम फेरिएको छ । पहिलोपटक प्रधानमन्त्री हुँदा जति चुनौती थियो अहिले समय र घटना र राजनीति फेरिएको छ । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका पनि अहिले एकाएक फेरिएको छ । जसलाई पहिले नेपाली जनताले जसरी श्रद्धापुर्बक सम्मान गर्दथ्थे । अहिले नाकाबन्दीपछि एक जना पनि नेपाली जनता उनीप्रति सकारात्मक छैनन् । स–साना बालबालिका समेत भारत र मोदी नकारात्मक छन् । प्रधानमन्त्री ओलीले राष्ट्र राष्ट्रियता स्वभिमान शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको जनाउँदै संविधान निर्दिष्ट मौलिक हकको प्रत्याभूतिका लागि सरकार लागि पर्ने बताएका छन् । ओलीले ‘सुखी नेपाली, संमृद्ध नेपाल’ को चाहना पूरा गर्न चालेका कदमहरुप्रति सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् जसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
बामपन्थी गठबन्धनबाट जनताले धेरै आशा र भरोसा राखेका छन् । निर्वाचनको समयमा सामाजिक सुरक्षा भत्ता ५ हजार रूपैयाँ पु¥याउने जनतालाई रोजगारी दिने भनेर जुन प्रतिबद्धता जनाएका थियो । अब भने त्यो कुरा ब्यबहारिक रूपमा उतार्न जरुरी छ । अहिले देउवा सरकारले जुन सामाजिक सुरक्षा भत्ता बढाउनुका साथै उमेर घटाउने जुन काम गरेर छोडेका छन् त्यसलाई निरन्तरता नदिने भनिसकेको छ । अब ओली सरकारले नेपाली जनतासंग गरेको बाचा कबोल कसरी पूरा गर्छ । त्यसलाई सफल बनाउन आर्थिक स्रोत कसरी जुटाउने काम गर्छ त्यो भने हेर्न बाँकी नै छ । केही दिन अघि प्रधानमन्त्री केपी ओलीले कालो धनलाई सरकारले छुट दिनुपर्ने भनेर बोलेको भनेर बिबादास्पद भनाइ बाहिर आएको थियो । तर अहिले सरकार प्रमुख बनेपछि भने ओलीले भाषा परिवर्तन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालभित्र वैधानिक रुपमा लकेर बसेको पुँजीलाई परिचालन गर्ने भन्ने कुरालाई कालोधनलाई छुट दिने भन्ने अर्थमा नबुझ्न आग्रह गरेका छन् । यसबाट के कुरा बुझ्न सकिन्छ भने कालो धनीलाई सेतो बनाउन दिने पक्षमा अहिलेको सरकार छैन भन्ने स्पष्ट हुन्छ । हो साँच्चै सरकारसंग हिम्मत छभने कालो धनलाई राष्ट्रियकरण गर्नुपर्छ । अहिले सरकारले कालो धनलाई राष्ट्रियकरण गर्ने निति ल्याउन जरुरी छ । अहिले बामपन्थी सरकारले ५ बर्षसम्म देश र जनताको हितमा कार्यक्रम ल्याउन सक्नुपर्छ । जति कुरा गर्न सजिलो छ काम गरेर देखाउन र्गाह्रो नै छ । हामीसंग साधन र स्रोत प्रशस्त छ तर त्यसलाई पूरा गर्ने इच्छाशक्ति नभएको कारणले काम हुन नसकेको हो । अहिले राष्ट्रबादी नेताको नेतृत्वमा नयाँ सरकार बनेको छ । सफल बनाउने काम सबैको हो ।
अहिले राजनीति घटना क्रमले नयाँ रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राती साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका मात्र छैनन् भारत भ्रमणको निम्तो समेत दिएका छन् । केही दिनअघि भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले नेपालको भ्रमण गरेर फर्केकी छिन् । अब सरकारले छिमेकी भारत र चीन दुबै मुलुकसंग सम्बन्ध राम्रो बनाउन जरुरी छ । राष्ट्रबादी छविलाई कायमै राख्न जरुरी छ । अझै पनि सरकारलाई मागी खाने भाडो ठगी खाने भाँडो बनाउनु हुँदैन । नेपाली जनताको हितमा देशको हितमा काम गरेर देखाउन जरुरी छ । नेपाली पुरानो उखान जस्तो दाइ त काले भाइ पनि काले–काले मिलेर खाउ भालेको सिद्धान्तमा भने क्रमभंग गर्न जरुरी छ । जसरी हिजो चुनावको समयमा एमाले र माओबादी केन्द्रलाई एउटै शक्तिशाली पार्टी बनाउने भनेर जुन कसम खाएका थिए त्यसलाई पद र सरकारलाई धुरी नबनाईकन देश जनता र कार्यकर्ताको भावना अनुसार चल्न जरुरी देखिन्छ ।
Previous Articleभुपुहरुलाई खुसिको खवर अब पेन्सन बैंकमा
Next Article समुन्नत प्रदेशको अपेक्षा