राजु पौडेल, पर्वत–जलजला गाउँपालिका वडा नं. १ का वीरबहादुर नेपालीले नौमती बाजा बजाउन थालेको ४८ वर्ष भयो । सानैदेखि बाजा बजाउन थालेका उनी पैसासँगै परम्परागत पेशा धान्न पाएकोमा गर्व गर्छन् । शारीरिक अवस्था र उमेरले थामेसम्म यही पेशालाई निरन्तरता दिने उनी बताउँछन् । ‘बाल्यकालदेखि बजाउन थालेको पेशाको संरक्षणका लागि मात्रै बाजा बजाउन हिँड्ने गरेको छु,’ वीरबहादुरले भने । उनले बाजाको कमाइबाटै अहिलेसम्म घरपरिवारको खर्च धान्दै आएका छन् ।
आफ्नो सबैभन्दा लामो उमेर नै बाजा बजाएर बिताएका दलबहादुरलाई अहिले पनि बाजा बजाउन छाड्ने मन छैन । ‘उमेर र शरीरले साथ दिएसम्म बाजा बजाउन छाड्दिनँ,’ उनले भने । जलजला–१ कै पुर्ण दमाइले १५ वर्षको उमेरदेखि बाजा बजाउन थालेका हुन् । ५० वर्षीय उनले ३५ वर्ष भयो बाजा समाएर हिँड्न थालेको । ‘बुवा र हजुरबुवाले बाजा बजाउनुभयो, मैले पनि बाजा बजाउने पेशा नै अंगालें,’ दमाइले भने । उनले लामो समय बाजा बजाउने पेशा अंगाल्दा कहिलेकाहीँ बाजा बजाउन नजाँदा कस्तो–कस्तो हुने गरेको बताए । ‘एकदिन बाजा बजाउन गइएन भने कस्तो कस्तो हुन्छ,’ उनले भने, ‘अब त बाजामा नशा नै बसिसकेछ ।’ स्थानीय डम्बरसिंह दमाइले ११ वर्षकै उमेरमा बाजा समाए । ‘मैले बाजा बजाउन थालेको ११ वर्षदेखि हो, अहिलेसम्म जहाँ बोलाए पनि जान छाडेको छैन,’ ६७ बर्षीय उनले भने, ‘सानैदेखि गर्दै आएको पेशाको माया बढी नै हुनेरहेछ ।’ दलबहादुर, पुर्ण र डम्बरसिंहजस्तै गाउँका ११ जना अहिले नौमति बाजा बजाउने समुह हुन् । पर्वत जिल्लाका साथै जहाँबाट खबर आए पनि उनीहरू नौमति बाजा बोकेर हिँडिहाल्छन् । ‘पेशाप्रति इमान्दार बन्न मनलाग्छ, बोलाएको ठाउँमा पुगेकै हुन्छांै,’ दलबहादुरले भने ।
उनीहरूले बाजा बजाएवापत एक दिनको २० हजार बुझ्छन् । ‘हाम्रो रेट दिनको २० हजार हो, कहिलेकाहीँ थोरैमा पनि बजाउनुपर्ने बाध्यता पर्छ,’ दलबहादुर भन्छन्, ‘कतिपय ठाउँमा राम्रो बाजा बजाएको भनेर हाम्रो मागभन्दा पनि बढी हातमा थमाइदिन्छन् ।’ अहिलेसम्म जेनतेन नौमति बाजा बजाउने पेशा धाने पनि आफूहरूपछिको पुस्ता बाजा बजाउने पेशामा आकर्षित नहँुदा भने उनीहरू चिन्तित छन् । ‘युवापुस्ताले बाजा बजाएवापत आउने पैसा नै देख्दैनन, धेरैजसो विदेश गएका छन्, भएका पनि अन्य पेशामा छन्,’ डम्बरसिंह भन्छन, ‘वर्षांैदेखि अंगाल्दै आएको पेशा नयाँपुस्ताले चासो नराख्दा नराम्रो लागेको छ ।’ कतिपय युवाहरूले केही दिन बाजा बजाउन हिँडे पनि टिक्ने गरेका छैनन् । ‘युवालाई पेशाप्रति विश्वासै छैन,’ डम्बरसिंह भन्छन, ‘परम्परागत पेशा थाम्ने पुस्ता नदेख्दा चिन्ता लाग्ने गर्छ ।’ जातिय रूपमा र पुर्खाको पेशा धानेको यो बाजासमूह जलजला गाउँपालिकाकै एकमात्र हो ।
जलजला गाउँपालिका वडा नम्बर ९ मा नौमति बाजा समूह रहे पनि त्यहाँ मगर जातिले बाजा बजाउने गर्छन् । नौमति बाजाको संरक्षणका लागि वर्षेनी सरकारी तथा गैरसरकारी निकायले लाखौ रुपैयाँ लगानी गर्ने गरेका छन् । पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशी, पूर्व सांसद कल्पना चापागाईं, प्रदेश सांसद विकास लम्सालले वर्षेनी नौमति बाजा किनेर वितरण गरेका थिए । पूर्व सांसद जोशीले नौमति बाजा संरक्षण गर्नुपर्ने बताए । ‘पेशा अंगाल्दै आएकाहरूको उमेर छिप्पिदंै गयो, नयाँपुस्तामा बाजा बजाउनेतर्फ आकर्षित नै छैन,’ जोशीले भने, ‘त्यसैले पनि नयाँ पुस्तालाई नौमति बाजा बजाउनमा आकर्षित गर्न जरुरी देखिन्छ ।’
Previous Articleकृषकले भेटे पहिलो पटक प्राबिधिक
Next Article २०७४ फागुन ५ गते शनिबार राशिफल