बागलुङ, ४ फागुन– सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती (स्वास्थ्य बिमा) को बेवास्ताका कारण जिल्लाको दक्षिणका सर्बसाधारण स्वास्थ्य परिक्षणमा प्रबिधिको प्रयोगबाट बञ्चित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा सञ्चालन गर्न भनेर ल्याएको एक्सरे मेसिन सञ्चालन गर्न नसक्दा सर्बसाधारण मर्कामा परेका हुन् ।
गत भदौमा स्वास्थ्य बिमाले केन्द्रमा ल्याईएको मेसिन केही दिन पहिलेसम्म डार्ग रुममा प्रयोग हुने एसेसरिज नामक सामान नभएका कारण सञ्चालनमा आउन सकेको थिएन भने अहिले जनशक्तिको अभावका कारण बन्द कोठामा कैंद गरेर राखिएको छ । ‘भदौमा मेसिन आएको हो, २०–२५ दिन पहिला मात्रै डार्ग रुमको सामान आयो’ स्वास्थ्य केन्द्रका प्रमुख डा. बिजय शर्माले भने ‘मेसिन चलाउने दक्ष जनशक्ति नभएका कारण सेवा सुरु गर्न सकिएको छैन् ।’ स्वास्थ्य केन्द्रले मेसिन चलाउनका लागि आवश्यक तालिम दिन समितीलाई आग्रह गर्दै आएको छ । ‘हामीले स्वास्थ्य केन्द्रमा कार्यरत अहेब डिल्लीप्रसाद शर्मालाई मेसिन चलाउन आग्रह गरेका छौं, उहाँ राजी हुनुहुन्छ’ डा. शर्मा भन्छन्– ‘प्रबिधिक ज्ञानका लागि आवश्यक तालिमको व्यवस्था गर्ने भनेको समितीले तालिम दिएको छैन् ।’ उनका अनुसार स्वास्थ्य केन्द्रले पटक–पटक पहल गरेको भएपनि जिल्ला भरका स्वास्थ्य केन्द्रका प्रविधिकहरुलाई एकै पटक तालिम दिने भन्दै समितीले समय लम्बाउँदै लगेको छ ।
सेवा क्षेत्रभित्र झण्डै ६० प्रतिशत सर्वसाधारण स्वास्थ्य बिमा कार्यक्रममा सहभागी रहेको केन्द्रमा दैनिक ५० देखी ६० जनासम्म बिरामी आउने गरेको तथ्याङ्क छ । स्वास्थ्य केन्द्रमा आउने बिरामीको एक्सरे परिक्षण गर्नुपर्ने भएमा धौलागिरी अञ्चल अस्पतालाको लागि सिफारिस गरेर पठाउनु पर्ने अवस्था रहेको शर्माले बताए । ‘चोट पटकका घटनाहरु परिक्षण बिना यसै भन्न सकिने हुँदैनन्’ शर्मा भन्छन्– ‘केन्द्रमा भएको मेसिन पनि सञ्चालन गर्न नसकेका कारण हामीले सिफारिस गरेर जिल्ला पठाउने गरेका छौं ।’ स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका सर्वसाधारण स्वास्थ्य केन्द्रमा आएर सामान्य एक्सरे सेवा समेत नपाउँदा झर्किने रिसाउने गरेका छन् ।
‘जोखिम कम गर्न र सेवा पाउनका लागि भनेर हामीले बिमा गरेका हौं भन्दै बिरामी हामीसँग रिसाउँछन्’ सेवा केन्द्रका स्वास्थ्य बिमा स्रोतव्यक्ति डिल्लीप्रसाद शर्माले भने ‘बिरामीले तथानाम गाली गर्दा पनि सहेर बस्नु पर्ने अवस्था आएको छ ।’ केन्द्रमा आएको मेसिन लामो समय सञ्चालन नभएको बिषयमा स्वास्थ्य केन्द्र ब्यबस्थापन समितीले समेत चासो देखाएको छ । ‘मेसीन किन नचलेको हो भन्ने बिषयमा केन्द्र प्रमुखसँग सोधेको छु’ व्यवस्थापन समितीका अध्यक्ष भुपेन्द्र थापाले भने ‘समस्याको पहिचान गरेर आवश्यक पहल थाल्छौं ।’ यता स्वास्थ्य बिमा कार्यक्रमले भने आफुहरुका कारण नभई सप्लायर्स कम्पनीका कारण एक्सरे मेसिन सञ्चालनमा आउन ढिलाई भएको बताएको छ । मेसिनसँगै आउनु पर्ने डार्ग रुमको सामान नआएका कारण सेवा सुरु गर्नमा ढिलाई भएको स्वास्थ्य बिमा कार्यक्रम प्रदेश नम्बर ४ का संयोजक जिबलाल खरेलले बताए ।
‘सप्लायर्सले ढिलो गरी समान पठाउँदा लामो समय लागेको हो’ खरेलले भने ‘सामान पुर्ण भएका सबै केन्द्रका छिट्टै प्रबिधिकलाई तालिम दिएर सेवा सुर गर्छौं ।’ जिल्लाका सबै स्वास्थ्य केन्द्रका प्रविधिकहरुलाई एकै पटक तालिम दिने गरि योजना बनाएको भएपनि केही स्वास्थ्य केन्द्रहरुमा दरबन्दी अनुसारका कर्मचारी नभएका कारण कठिन भएको उनको भनाई थियो । जिल्ला स्वास्थ्य कार्यालय, स्थानिय निकाय र सरकारसँग सहकार्य गरेर छिट्टै कर्मचारी समस्याको समाधान गरी एक्सरे सञ्चालनमा ल्याउने खरेलले बताए ।
पाँच महिना बित्यो एक्स–रे मेशिन चलेन
Previous Article२०७४ फागुन ४ गते शुक्रबार राशिफल
Next Article प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए सपथ