बागलुङ, ३ फागुन– नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका–४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । टेलिकमले गाउँपालिकाको मसिना डाँडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो । २ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाँडामा रहेको उक्त टावर सञ्चालनमा आएसँगै ताराखोला गाउँपालिका–४ को नागबेलीखोला, दोगाडी सागुबोट, वडा नं ५ को छेल्दोर, सीप, वडा नं ३ को घुस्मेलीका झण्डै ३०० घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
तत्कालका लागि टु जी सेवा सञ्चालनमा ल्याईएको र केही समयपछि उच्च गतिको डाटासहितको थ्रिजी सेवा पनि सञ्चालनमा ल्याउने नेपाल टेलिकम बागलुङले जनाएको छ । टावर सञ्चालनमा आएपछि लामो समयदेखि सञ्चारको अभावमा नेटवर्कको खोजी गर्दै मोवाईल हातमा लिएर अग्लो डाँडातिर भौतारिनु पर्ने बाध्यता हटेको स्थानिय बासिन्दामा खुसियाली छाएको पुर्णभद्र निउरेले बताए । यता, डाटाको माग अत्याधिक बढेपछि टेलिकमले काठेखोला गाउँपालिकाको रेशस्थित सिगाना कोटमा रहेको मोवाईल टावरमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।
थ्रिजी सञ्चालनमा आएपछि त्यस आसपासका उपभोक्तालाई उच्च गतिको ईन्टरनेट चलाउन थप सहजता भएको छ । सेवा विस्तारको क्रममा नेपाल टेलिकमले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको उपल्लो दर्लिङ सेवा विस्तार गरेको छ । दर्लिङ र आसपासमा सञ्चार सेवा प्रदान गर्ने उदेश्यले उपल्लो दर्लिङ बाघखोरमा टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको हो । मोवाईल सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका बासिन्दालाई कुराकानी गर्न र डाटामार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।
Previous Articleबिद्यामन्दिरको ५५ औं बार्षिकोत्सव
Next Article दुई कम्युनिष्ट पार्टीलाई इतिहास रच्ने अवसर