बागलुङ, १२ असोज – विद्यालय प्रशासन र व्यवस्थापन समितिले ६ बर्षदेखिको आर्थिक हिसाब किताव सार्वजनिक नगरेको भन्दै कुडुले माविमा अभिभावक र प्रअ बीच विवाद चुलिएको छ ।
२०६७ सालमा प्रअ नियुक्ती भएदेखि प्रअ गोविन्द पराजुलीले आर्थिक पारदर्शिता नगरेपछि विद्यालयको अनियमितता बारेमा अख्तियारमा समेत उजुरी परेपछि अभिभावक रुष्ट भएका हुन् । मंगलवार राखिएको सामाजिक परिक्षणमा समेत अभिभावकले प्रअको लापरवाहीले विद्यालयको अवस्था दिन दिनै खस्केको आरोप लगाएका छन् ।
पूर्व प्रअले हस्तान्तरण गरेको ४० लाख रुपैयाँ घटेर ८ लाख पुगेको, विभिन्न चरणमा शान्ति मन्त्रालय, जिल्ला शिक्षा र नगरपालिकाको सहयोगमा बनेका भौतिक संरचनाको हिसावकिताव पारदर्शी नभएको उनीहरुले आरोप लगाए । ‘प्रअलाइ भएको अधिकार भन्दा धेरै खर्च गरेर विद्यालय व्यवस्थापन समितिलाइ देखाउने, लेखा स्पष्ट नराख्ने गरेकोले अभिभावकमा शंका छ’ अभिभावक तुलसीराम सापकोटाले भने, ‘कापीको पानामा लेखिएका हिसावमा हामीले कसरी विश्वास गर्नु ?’ बील भरपाइ बिनाको खर्च विवरणलाइ पास गर्न खोजेपछि समितिमा समेत विवाद हुने गरेको उनले बताए । प्रअले समितिका पदाधिकारीलाइ समेत आउन नपर्ने भन्दै फर्काउने गरेको, भवन निर्माणको क्रममा भएका हिसाव सार्वजनिक नगरेको आरोप छ । प्रअ नियुक्त भएदेखिनै उनले वार्षिक अडिट नगरेको अभिभावकको आरोप छ । आर्थिक हिसाव किताव सार्वजनिक नगरेको र प्रष्ट लेखा नभएकै कारण अख्तियारले पनि पटक पटक बयानका लागि बोलाउने गरेको छ ।
समितिले भवन निर्माण गर्दा सामान ल्याएको ग्यालेक्सी हार्डवेयरको १ लाख ५२ हजार, विवेक हमालको १ लाख ४२ हजार र आचार्य सप्लायर्सको ५२ हजार अहिले सम्म तिरेको छैन । तर मंगलवारको सुनुवाइमा प्रअ पराजुलीले सार्वजनिक गरेको आय व्ययमा उक्त रकम कतै पनि उल्लेख नभएपछि जिल्ला शिक्षा अधिकारी र कार्यालयबाट गएका अन्य कर्मचारीले समेत प्रश्न उठाएका थिए । ‘नियमित रुपमा सार्वजनिक गर्ने, अडिट गरिरहेको भए समस्या थिएन’ जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले भने, ‘शंकास्पद भएकै कारण नगरपालिका भित्रका सबै विद्यालयका प्रअ, अभिभावक, कार्यालयका सबै कर्मचारी समेत बसेर छलफल गर्नु परेको हो ।’ अघिल्लो बर्ष पनि विद्यालयमा आर्थिक अनियमितता, पढाइको गुणस्तर नभएको तथा परिक्षाफलमा समेत गम्भिर त्रुटी पाएपछि विद्यालयमा झगडा भएको थियो । अभिभावक, विद्यार्थी र शिक्षकहरुमा मनमुटाव बढेपछि एक महिना सम्म पढाइ अवरुद्ध भएको थियो ।
अभिभावकहरु विवेक हमाल, ताराकान्त आचार्य, झपेन्द्र सापकोटा, गोविन्द प्रसाद पौडेल लगायतका अधिकांस अभिभावकले प्रअले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ समेतलाइ वेवास्ता गर्दै आर्थिक अनियमितता गरेको आरोप लगाएका थिए । उनीहरुले पारदर्शी हिसाव सार्वजनिक गरेर आगामी दिनदेखि यस्ता कमजोरी नगर्ने प्रतिवद्धता जनाउन आग्रह समेत गरेका छन् । प्रअको प्रतिवेदनमा जिल्ला शिक्षाबाट आएको छात्रवृत्ति, पाठ्यपुस्तकको अनुदानको समेत प्रष्ट हिसाव छैन । मंगलवार पराजुलीले ६७ लाख २ हजारको आयव्याय सार्वजनिक गरेका थिए । उक्त आर्थिक प्रतिवेदनमा सामान्य आय व्यय समेत त्रुटी देखिएपछि अभिभावक झनै आक्रोसित भएका हुन् । शैक्षिक गुणस्तरका लािग पनि प्रअले वेवास्ता गरेको आरोप आएपछि जिल्ला शिक्षा अधिकारी मिश्रले कक्षा कोठामा शिक्षक बस्ने, कुशल व्यवस्थापन गर्ने तथा आर्थिक पारदर्शीतालाइ ध्यान दिने गरेमा मात्र विद्यालयको गुणस्तर बढ्ने धारणा राखे । विद्यालयमा भएको अनियमितता बारे अख्तियारमा परेको मुद्दालाइ स्पष्ट पार्नेगरी श्रेस्ता राख्न पनि उनले निर्देशन दिएका थिए ।
Previous Articleसहयोगी मन थपिदैं
Next Article लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी