म्याग्दी, २ फगुन– सुदिप रावल स्मृति कोषले राष्ट्रिय राष्ट्रिय परिक्षा बोर्डले २०७३ र २०७४ सालमा लिएको कक्षा ११ र १२ को परिक्षामा सम्मिलित भई उत्कृष्ट अंक ल्याउने म्याग्दी जिल्लाका तीन विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्वर्गीय रावलको स्मृति दिवसको अवसरमा मंगलबार बेनीमा २०७३ र ७४ सालमा लिएको परीक्षाकोे औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो । सो अवसरमा जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा, द्धितीय हुने माउण्ट एभरेष्ट आवासीय उच्च माविकी छात्रा काजल रोका र तृतीय हुने माउण्ट एभरेष्टकी सुस्मा आचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापा, कोषका अध्यक्ष सन्तोष रावल र संरक्षक दुर्गाबहादुर रावलले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत र सम्बन्धित विद्यालयलाई सम्मान गरेका थिए । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारको साथमा सम्मान पत्र एवम् खादाले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो । २०६५ साल फागुन १ गते बागलुङमा भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नपा–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ ।
शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा रचनात्मक कार्य गर्ने उदेश्यले स्थापित कोषको रकमलाई बृद्धि गर्दै सामाजिक कार्यमा थप रचनात्मक कार्यहरु गर्ने योजना रहेको कोषका अध्यक्ष रावलले बताए । कार्यक्रममा पुरस्कार प्रदान गर्दै सांसद थापाले स्वर्गीय रावलको स्मृतिमा कोषले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेको बताए । सुदिप रावल स्मृति कोषका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका कोषाध्यक्ष चन्द्रकुमार केसीले शुभकामना मन्तव्य, सदस्य हरिकृष्ण गौतमले स्वागत र सचिब विक्रम बोगटीले कार्यक्रमको सञ्चालन गरेका थिए । सोही अबसरमा स्वर्गीय सुदिपका नवविवाहित माहिला दाजु विकास रावल र भाउजु सन्ध्या केसी रावलले कोषमार्फत म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको दृष्टिविहिन पुस्तकालयलाई २५ हजार सहयोगको घोषणा गरेका छन् ।
Previous Articleपर्यटकीय गाउँमा संग्रालय
Next Article ज्ञानेन्द्र शाहको भारत भ्रमण र राजनीतिक तरङ्ग