बागलुङ, २ फागुन– बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा संग्रहालय निर्माण गरिएको छ । मौलिक संस्कृति र परम्पराको पहिचान जोगाउन संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा ऐतिहासिक महत्वका सामग्री संग्रह गर्न शुरु गरिएको छ । संग्रहालय व्यवस्थापन समितिले मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरेको छ । जनश्रमदानसहित रु. ३३ लाखको लागतमा स्थापना भएको सो संग्रहालयको नाम ‘भकुण्डे संग्रहालय’ राखिएको छ । संग्रहालय भवन बनाउन सरकारी तथा गैरसरकारी निकायले आर्थिक सहयोग उपलब्ध गराएका थिए । संरचना तयार भएपनि सामग्री राखेपछि मात्र संग्रहालयले पूर्णता पाउने सञ्चालक संस्था मिलिजुली आमा समूहकी अध्यक्ष इन्द्रा थापाले बताइन् ।
“हामी ऐतिहासिक महत्वका सामग्रीको खोजीमा छौँं, सार्वजनिक रूपमा आह्वान समेत गरेका छौँ’ उनले भनिन्– “विभिन्न जातजातिका भेषभूषा, संस्कृति र रितिरिवाज झल्कने गरी संग्रहालय बन्छ ।” भकुण्डेमा मगर जातिको बाहुल्य रहेकाले संग्रहायमा विशेष गरी मगर समुदायको पहिचान दिलाउने सामग्रीहरू बढी राखिनेछन् । संग्रहालयकी व्यवस्थापक मुना थापामगर सबै जातजातिका रीतिरिवाज झल्कने सामाग्री संग्रहित गर्न थालेको बताउँछिन् । परम्परागत ढिँकी, जाँतो, घरेलु उत्पादनका वस्तु, वेषभूषालगायत संग्रहालयमा राखिने छ । घरबास (होमस्टे)को समेत प्रवद्र्धन भइरहेको उनले बताइन् ।
संग्रहालयका कारण भकुण्डेमा पर्यटक आकर्षित गर्न सकिने बागलुङ नगरपालिका–१० का वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । भकुण्डेलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरिने उहाँको भनाइ छ । घरबास पर्यटन शुरु भएसँगै भकुण्डेमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटकलाई आकर्षित गर्न भकुण्डेकै मुलाबारीमा ‘भ्यू टावर’ पनि निर्माण गरिएको छ ।
Previous Articleबुर्तिवाङमा डकर्मी पुर्नतार्जगी तालिम
Next Article विद्यार्थीलाई सम्मान तथा पुरस्कृत