डिल्लीप्रसाद गौतम
शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले धार्मिक भ्रमणको शिलशिलामा मित्र राष्ट्र भारतमा छन् । देखावटी रुपमा धार्मिक भनिए पनि उनी त्यहाँ विभिन्न राजनीतिक भेटघाट र छलफलमा पनि सहभागी भएको समाचारहरु आइरहकेका छन् । हुन त नेपाल–भारत बीच परम्परादेखि नै ‘रोटी तथा वेटीको’को लेनदेन अनि दुवै देशका सर्बसाधारण नागरिक पनि आतेजाते गर्ने गरेको इतिहासले नै बताउँछ । त्यति मात्र हैन वर्षमा कैयन भारतीय नागरिकहरु नेपालका प्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, लुम्बिनी, गोर्खा मनकामना, बागलुङ भगवती, गलेश्वर अनि मुक्तिनाथ जस्ता पवित्र स्थलमा दर्शन गर्न हजारौँको संख्यामा आउने गर्दछन् । त्यस्तै गरी नेपालीहरु पनि हजारौंको संख्यामा भारतका प्रसिद्ध तिर्थस्थल काशी, गया, विन्दा वनहरुमा पुग्ने गर्दछन् । यसरी छिमेकी देश भारत तथा नेपालका सर्वसाधारण नागरिकहरु विभिन्न पेशा–व्यवसाय तथा मजदुरी गर्नको लागि पनि आउने गर्दछन् । त्यस्तै व्यापारिक हिसाबले पूर्ण रुपले नै नेपाल भारतमा नै निर्भर रहनु पर्ने भौगोलिक बाध्यता समेत रहेका कारण हरेक प्रकारले नेपाल भारत बीच पारस्परिक सम्बन्ध रहेको छ । ज्ञानेन्द्र शाह मात्र हैन यहाँका हुन वा भारतका कुनैपनि राननीतिज्ञहरु मित्र राष्ट्रको भ्रमण गर्दा अनेक टिकाटिप्पणी अनि राजनीतिक तरङ्ग पैदा हुने गर्दछन् । केही दिन पहिला भारतिय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले पनि राजनीतिक वृतमा त्यतिकै चासो र तरङ्ग पैदा गरिदिएको थियो । अहिले ‘बाघ कराउने र बाख्रो हराउने’ भन्ने नेपाली उखान ठ्याक्कै मिलेको छ । भारतिय विदेशमन्त्री नेपाल आउनु, परराष्ट्र र सुरक्षा नीति आफुले तय गर्नुपर्ने भन्ने खालका कुरा बाहिर आउनु, बाम गठबन्धनको पार्टी एकीकरणमा विलम्व हुनु, त्यही अवसरमा ज्ञानेन्द्र शाहको भारत भ्रमण हुनु ? हुनतः राजा ज्ञानेन्द्र अहिले आमनागरिक सरह आफ्नो जीवन ब्यतित गरिरहेका छन् । तर पनि बेला–बेलामा नागरिक र देश प्रेमका खातिर अहिले आफ्ना विचार, व्यक्त गर्ने समेत गरेका छन् । जब–जब ज्ञानेन्द्र शाह स्वदेशको भ्रमण वा कुनै विशेष समारोहका बीच देखा पर्दछन उनले कुनै न कुनै खालको तरङ्ग पैदा गर्ने गर्दछन् । त्यही प्रक्रिया अन्र्तगत अहिले भारतको धार्मिक भम्रणमा रहेका बेला पनि विभिन्न धार्मिक तथा राजनीतिक भेटघाटबाट फेरी देश–विदेशमा चर्चामा आएका छन् । नेपालमा पहिले संविधानसभाको निर्वाचन र त्यही निर्वाचनबाट निर्वाचित संविधानसभाको सभासदहरुको पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । नेपालमा राजनीतिक इतिहासमा २०५८ जेष्ठ १९ को दरबार हत्या काण्ड पश्चात राजा बनेका अन्तिम शाह वंशिय राजा ज्ञानेन्द्र शाह अत्यन्तै कमजोर सावित भएको मौका छोपी पहिलो संविधानसभाले नेपालबाट विधिवत रुपमा बिना रक्तपात राजतन्त्रको अन्त्य गरेको थियो ।
संविधान सभाले राजतन्त्रको अन्त्य गरेपनि नेपालमा तत्कालिन राजतन्त्रका अवशेष भने यथावत कायमै छन् । राजतन्त्रका पक्षधरहरुले पनि आफ्ना गतिविधले आशंका पैदा गरिदिएको छ । देशमा परम्परादेखी चलि आएको हिन्दु धर्ममा गहिरो प्रहार भएको छ । विदेशी धर्म संस्कृतिले नेपाली धर्म संस्कृतिलाई निल्नै खोज्दा समेत देशको जिम्मेवारी सम्हालेका नेता तथा पार्टीका प्रमुखहरु रमिते बनिरहेका छन् । राष्ट्रियता संकटमा छ । जातजाति र भाषाभाषी बीच बेमेल बनाउने तत्व सक्रिय छन् । नागरिकहरुको दैनिकी दयनिय बनिरहँदा दलका नेताहरु देशमा ब्रम्हलुट मच्चाइरहेको छन् । गरिब अझै गरिब र धनी अझै धनी भै गरिब र धनीको खाडल बढ्दो छ । यसरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृतिमाथि चौतर्फी आक्रमण भैरहँदा धर्म– संस्कृति प्रेमीहरुले समेत आ–आफ्ना गतिविधी बढाईरहँदा त्यसको संरक्षकत्वको समेत खोजी भैरहेको छ । अहिलेका दलका नेताहरुबाट पुरानो धर्म संस्कृतिको संरक्षण र जगेर्ना नहुने भएपश्चात नागरिकमा पनि अभिभावकको खाँचो महशुुस भएको छ । यसरी नागरिकबाट संरक्षकको खोजी भएको बेला ज्ञानेन्द्र शाहले पनि आफ्नो स्थान सुरक्षित गर्ने अभियान अन्र्तगत हिन्दु राज्यको नाममा आफ्ना गतिविधि बढाईरहेका छन् । एकातिर देश ०७२ को संविधान अनुसार पुर्ण रुपमा संघिय संरचनामा प्रवेश गरको छभने राजतन्त्रको पनि अन्त्य भएको छ । संघिय संरचना अनुसार प्रदेश तथा संघको निर्वाचन भै उक्त परिणाममा प्रजातन्त्रवादी पुर्ण रुपमा बढारिएका छन्भने प्रदेश तथा संघमा बामपन्थीहरुको झण्डै दुई तिहाई मत प्राप्त भै बामपन्थीहरुको पुर्ण बहुमतको सरकार गठन हुने भएको छ । यसरी नेपालमा कम्युनिष्टहरुको सरकार गठन हुने भएपश्चात प्रजातान्त्रिक मुलुक भारत लगायत अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्नु स्वभाविकै हो । एकातिर नेपालमा कम्युनिष्ट हरुको सरकार बन्ने र अर्काेतर्फ भारत विरोधी छवी बनाएका व्यक्तित्व एमाले नेता केपी ओली प्रधानमन्त्री भन्ने पक्का भएपश्चात भारतले समेत आफ्नो भुमिका बढाईराखेको अवस्थामा ज्ञानेन्द्र शाहको भारत भ्रमण अनि राजनीतिक भेटघाटले राजनीतिमा तरङ्ग ल्याउनु स्वभाविकै हो ।
मुलुक संघियतामा प्रवेश गरिसकेको छ । ७ वटा प्रदेशमा ७ मुख्यमन्त्री चयनको अभ्यास भैरहेको छ । ७ प्रदेशमा गरी झण्डै ५५० सदस्य प्रदेशमा मात्र सभासद रहने छन्भने केन्द्रमा २ सयभन्दा बढि । यसरी यस पुर्व रहेको ६०१ बाट घटाउने भनिएको सांसद संस्था अहिले झन् दोब्बरको हाराहारीमा पुग्दैछ । मुख्या मन्त्री, सभासद मन्त्री मण्डललाई खर्च जुटाउन राज्य कोषबाट ठूलो धनराशी खर्च हुने देखिन्छ । सातै प्रदेशको प्रदेश सभा केन्द्रको प्रतिनिधीसभा सञ्चालनमा पनि उत्तिकै धनराशी खर्चिन पर्दछ । तसर्थ देशको अधिकांश राजश्व नेता मन्त्री तथा सभासद र सभा सञ्चालनमा नै खर्च हुने देखिन्छ । यस प्रकारले विकासको अधिकारको हिसाबले कायपलट हुने संघियता कतै अभिसाप हुने त हैन ? प्रश्न चिन्ह खडा भएको छ । जे होस देशमा वामपन्थीको सरकार बन्दै छ । खासगरी तीव्र इच्छा शक्ति र बोलीमा दम भएका नेता केपी ओली प्रधानमन्त्री बन्दैछन् । उनको शासनकालमा देशले तीव्र आर्थिक उन्नती गरोस, देशमा सु–शासन कायम होस् । देशमा गरिबी, अन्याय, अत्याचार, शोषण अनि विभेदको अन्त्य होस् । दिनहुँ हजारौको संख्यामा रोजगारी तथा अध्ययनको नाममा लाखौं खर्च गरेर गरिबका छोराछोरी बाहिरीन नपरोस् । यदि केपी ओलीको नेतृत्व कालमा आर्थिक क्षेत्रमा साँच्चिकै देशले फड्को मारोस् र देशमा नागरिक अकालमा कतै सिटामोल नपाएर त कतै न्यानो कपडा अनि खरको झुपडीको अभावमा मर्न नपरोस् । साँच्चिकै नेतृत्व देश र नागरिकप्रति जिम्मेवार र बफादार बनेमा राजतन्त्रको भुत र ज्ञानेन्द्र शाहका स्वेदश वा विदेशमा हुने धार्मिक होस वा राजनीतिक ? उनको बेला बेलामा हुने सम्बोधन होस् वा भेटघाट र उनको अभिव्यक्ति कोही तर्सिनु पर्ने र भोक निद्रा हराम हुनुपर्ने कुनै कारण छैन ।
Previous Articleविद्यार्थीलाई सम्मान तथा पुरस्कृत
Next Article ठग म्यानपावरलाई कार्वाही