‘भ्यालेन्टाईन डे’ विशेष कविता
———————————
–ओमप्रसाद घायल
प्रियदर्शीका !
जव हाम्रो मायाको भूगोलबाट
पंक्षीजसरी उडेर गयौ तिमी अर्कैको साम्राज्यमा
तवमात्रै मलाई बोध भयो तिमी नहुनुको पीडा
म आत्तिएँ/म मात्तिएँ
म हराएँ/म बर्बराएँ
र मैले पहिलोपटक आफैमाथि गरेको
अञ्जान कुठाराघातको दुखद अनूभव गरेँ ।
पत्तै भएन
समयले मलाई कसरी छकाइदियो
र बनाइदियो जिन्दगीको वेचैन मुसाफिर !
हामी सँगै भएर पनि
एकाएक विग्रियो प्रेमको अंकगणित
र बेरूजुमा परे थुप्रै सपनाहरू !
न तिमीले मलाई बुझ्न सक्यौं
नत मैले तिमीलाई बुझाउन सकेँ
आखिर थाहै नपाई भयौ हामी
जीवनको सीमा वारि र पारि ।
एउटा पराजित सिपाहीजस्तो
एउटा थकित भरियाजस्तो
निकै उजाड भएको
जिन्दगीको चौतारीमा बसेर
मैले आज पहिलोपटक लेख्दैछु प्रियदर्शीका
तिम्रो र मेरो त्यही अव्यक्त प्रेमकथा ।
मलाई अझै थाहा छैन
प्रेममा पात्र प्रधान हुन्छकी मूल्य !
त्याग प्रधान हुन्छकी उपलब्धी !!
मैले त यत्ति जान्दछु
तिमी थियौ र म थिएँ
हामी थियौं र थिए सायद धेरै प्रेमिल सपनाहरु
मलाई माफ गर प्रियदर्शीका !
मैले बुझेर पनि बुझ्न सकिन जीवनलाई
मैले चाहेर पनि पाउन सकिन तिमीलाई ।
तिम्रो नाममा मेरो मनले
हरेकदिन लेख्थ्यो धेरै प्रेमपत्रहरु
तिम्रो नाममा मेरो हातले
हरेकदिन टिप्थ्यो रातो गुलाब
र तिम्रो नाममा मेरो आँखाले
हरेकदिन कुर्दथ्यो तिमी हिँड्ने बाटो
तरपनि प्रियदर्शीका
कायरताको पराकाष्ठा
मनमै थन्किए ती प्रेमपत्रहरु
हातमै ओइलायो त्यो रातो गुलाब
र बाटोमै पर्खिरहे यी आँखाहरु
तर तिमी त्यही मेरो अव्यक्त मनलाई गिल्ला गर्दै
एकदिन उडेर गयौ अर्कैको साम्राज्यतिर ।
प्रियदर्शीका
आज म धेरै भएर पनि रित्तो छु
सबै भएर पनि एक्लो छु
र यसरीनै जिन्दगीका धेरै अफ्ठ्याराहरु
त्यही अव्यक्त प्रेमको छायामुनि बसेर
अभिशप्त जपिरहेको छु–विछोडगाथा ।
हुनत भेटिनु र छुट्निु नै हो जिन्दगी
पाउनु र गुमाउनु नै जिन्दगी
उदाउनु र अस्ताउनु नै हो जिन्दगी
यही जिन्दगीको थोरै बाटो
तिमीसँग हिँडेर पुग्नु थियो अलि परसम्म
तरपनि जिन्दगीको बाँकी यात्रामा
तिम्रो सम्झना बोकेर हिँड्ने छु
तिम्रो सपना बोकेर निदाउने छु
तिमी जहाँ भएपनि
जसको भएपनि
खुसी खुसी बाँच्नु प्रियदर्शीका
तर म यो शरीरमा स्वास रहुञ्जेल
तिमीलाई नै प्रेम गरिरहने छु ।
********* ********* *********
प्रेम गरेर पनि प्रेमको भूमिका निभाउन नसक्ने संसारका सबै देवदासहरुमा समर्पित ।