दार्चुला, २७ माघ – एघार वर्षभन्दा बढी समय लगाएर निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत् आयोजना उद्घाटन गरिएको छ । शैल्य शिखर नगरपालिका-१ बलाचमा निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । यो प्रदेश नं. ७ को सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाले यस क्षेत्रको विद्युत विकासको ढोका खोलेको प्रधानमन्त्री देउवाले बताए। यो क्षेत्रमा जलविद्युत्को धेरै सम्भावना भएको भन्दै प्रधानमन्त्री देउवाले ७ नं. प्रदेशमा मात्रै २० हजार मेगावाट विद्युत् उत्पादन हुने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे।
सुदूरपश्चिमको विकासमा जलविद्युत् विकासले सहयोग पुर्याउने भन्दै उनले यसैमा लगानी भित्र्याउन सके विद्युत् उत्पादनबाट प्रदेश समृद्ध बनाउन सक्ने धारणा व्यक्त गरे। जलविद्युतको विकासका लागि चमेलिया आयोजना उद्घाटनले विद्युत् उत्पादनमा कोसेढुङ्गा हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो। उनले सरकारी र निजी क्षेत्रलाई विद्युत्मा लगानी गर्न अनुरोध गरेका छन्।
यसमध्ये विद्युत् गृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्टिकल मेकानिकल तथा हाइड्रो मेकानिकल कार्यका लागि करिब रु. ७ अर्ब ८४ करोड एवं परामर्श सेवातर्फ करिब रु. ६० करोड गरी जम्मा रु. ८ अर्ब ४४ करोड खर्च भएको आयोजनाले जनाएको छ।
बलाच अत्तरिया १३१ किलोमिटर प्रसारण लाइन निर्माण, प्रशासकीय खर्च, मूल्य समायोजन, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी, सवस्टेशन निर्माणलगायत गरी १५ अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
सन् २००८ मा ठेक्का सम्झौता भइ निर्माण सुरु भएको आयोजनाको विभिन्न कारणले लागत र समय बढी लागेकोले आलोचित बनेको थियो। आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण गरिसकेपछि ३० मेगावाट विद्युत्को उत्पादन हुन थालेको हो। पिकलोडमा आयोजनाले दुईवटै युनिटबाट १५/१५ मेगावाट विजुली उत्पादन गरिरहेको आयोजनाले जनाएको छ।
तीस मेगावाटको चमेलिया जलविद्युत् आयोजना उद्घाटन
Previous Articleमहाशिबरात्री पर्वमा ब्यवसायीद्धारा मन्दिर सरसफाइ
Next Article प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई, सभामुख राजपालाई