बागलुङ, २५ माघ– जिल्लाको नारायणस्थानमा बुधबारदेखी श्रीमद् लिंग महापुराण सुरु भएको छ । नारायणस्थानको कैयामा अवस्थित शिव मन्दिरको जिर्णोद्धारको लागि आर्थिक जोहो गर्ने उद्देश्यले लिंग महापुराणको आयोजना गरिएको हो । महापुराणमा आचार्य पण्डित दिपेन्द्र पौडेलले कथा बाचन गर्ने मुल आयोजक समितीले जनाएको छ । पुरानो संरचनामा रहेको मन्दिरलाई जिर्णोद्धार गरी नयाँ संरचना निर्माणको लागि पुराणको आयोजना गरिएको शिव मन्दिर जिर्णोद्धार तथा पुजा व्यवस्थापन समितीका सचिव सुरेन्द्र थापाले बताए ।
मन्दिरको पुरानो भवनलाई भत्काएर नयाँ निर्माण गरिसकीएको छभने पुराना मुर्तीहरु समेत व्यवस्थापन गरेर नयाँ मुर्ती बुधबारनै प्रतिस्थापन गरिएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पहिलोपटक आयोजना भएको श्रीमद लिंग पुराणमा दश हजार भन्दै धेरै भक्तालुको सहभागिता हुने आयोजकले जनाएको छ । ‘पण्डित जिका अनुसार लिंग महापुराण यो क्षेत्रमा पहिलो हो ।’
समितीका सचिव थापाले भने ‘अन्य पुराण सुनेकाहरुलाई पनि यो पुराण नछुटाउन भनेका छौं ।’ ५ लाख खर्च हुने अनुमान गरिएको महापुराणबाट यति नै आम्दानी हुने भन्ने बिषयमा भने समितिले कुनै आँकलन नगरेको थापाले बताए । ‘हामी महापुराणबाट जे–जति आम्दानी भएपनि सन्तुष्ट छौं’ थापाले भने ‘उठेको रकमबाट मन्दिरमा तारबार र सत्तल निर्माणको काम गर्ने योजना छ ।’ स्थानियहरुबाट सहयोग रकम उठाएर जिर्णोद्धार गरिएको मन्दिरमा मुर्ति प्रतिस्थापन र सत्तलको निर्माण तथा तारवारको लागि आवश्यक रकमको महापुराणमार्फत जोहो गर्ने समितिले योजना बनाएको छ । महापुराणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, फलेवास नगरपालिका, कुश्मा नगरपालिका र बरेङ गाउँपालिका लगायतका क्षेत्रबाट भक्तजनको उपस्थिती रहने आयोजकले जनाएको छ । सात दिन लामो महापुराणको शिवरात्रीका दिन समापन गर्ने कार्यक्रम तय भएको सचिव थापाले बताए ।
शिव मन्दिरको जिर्णोद्धारको लागि आर्थिक जोहो गर्न लिंग महापुराण
Previous Articleरिघामा फुटबल प्रतियोगिता हुने
Next Article ठेउलेखोला जलविद्युत आयोजना तयार