बागलुङ, २५ माघ– जिल्लाको ग्रामिण क्षेत्र गल्कोट नगरपालिका–११ रिघामा फुटबल प्रतियोगिता हुने भएको छ । विजेतालाई १ लाख १ हजार नगद पुरस्कारसहित आयोजना गरिएको फुटबल प्रतियोगितामा उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजक युवा तथा खेलकुद विकास समिति रिघाले जनाएको छ । फागुन १८ गतेदेखिे रिघामा आयोजना गरिने फुटवल प्रतियोगिताको तयारी स्वरुप प्रचार–प्रसारलाई तीव्रता दिइएको छ ।
युवा खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने तथा फुटवल खेलको वृद्धि र विकासबाट रिघालाई फुटबल हबको रुपमा विकास गर्ने योजनासहित आगामी कार्यक्रमको तयारी गरिरहेको समितिका अध्यक्ष दानबहादुर श्रीले बताए । ३ दिनसम्म चल्ने कार्यक्रमबाट रिघाको आन्तरिक पर्यटनलाई विकास पुग्ने र कार्यक्रम अवधिमा १५ हजार दर्शक भित्राई आर्थिक लाभ लिने खेलकुद विकास समितिले जनाएको छ । स्थानिय लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने कार्यक्रममा ३० लाख बरावरको आर्थिक कारोवार हुने आयोजकको दाबी छ । कार्यक्रमको लागि झण्डै ११ लाख खर्च हुने बताईएको छ । फुटबल प्रतियोगिता सन्चालनका लागि गल्कोट नगरपालिकाले २ लाख सहयोग गर्ने बताईएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक गायिकाहरुको सांगीतिक प्रस्तुती, स्थानिय लोक संस्कृति झल्कने खालका सोरठी, कौडा, सालैजो गीत तथा नृत्यहरुको प्रस्तुती, मगर संस्कृति झल्कने खेल धनुषबाँण प्रतियोगिता लगाएतका कार्यक्रम रहेको अध्यक्ष श्रीसले बताए ।