बागलुङ, २४ माघ– आगामी सन् २०२० भित्र नेपालबाट हात्तिपाईले रोगलाई निर्मुल पार्ने अभियानका शुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयहरु मार्फत सबै जिल्लामा निर्मूल पार्ने योजना शुरु भएको नबौ बर्षमा अन्तिम प्रयास गरिने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले बताए ।
यो अभियानका लागि ८ बर्ष अघिदेखि देशभर हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेको थियो । बागलुङमा अझै १ प्रतिशत भन्दा धेरै बिरामी र संक्रमण देखिएकोले यो बर्ष शतप्रतिशत जनतालाई औषधि खुवाएर रोग निर्मुल पार्ने योजना बनाइएको हो । तिवारीका अनुसार हात्तिपाईले रोग बागलुङका केही गाउँमा अझै देखिएपछि फागुन १२ गते औषधि खुवाउन लागिएको हो । जिल्लाका ४ सय ३१ स्वास्थ्यकर्मी, ९ सय ५० महिला स्वास्थ्य स्वयंसेविका र ७ सय ३२ जना अन्य स्वयंसेवक समेत खटाएर उक्त दिन औषधि खुवाउने लक्ष बनाइएको हो ।
त्यसका लागि सरोकारवाला, संचारकर्मी र जिल्लाका कार्यालय प्रमुख तथा राजनीतिक दलको छलफल र अन्तरक्रिया राखिएको थियो । उक्त छलफल पछि स्वास्थ्यकर्मीलाई तालिम समेत दिइनेछ । नेपालको १४ जिल्लामा अझै संक्रमण भेटिएको बताइएको छ । ती मध्ये अधिकांस हिमाली जिल्लामा निर्मुल भैसकेको छ । पहाडी जिल्ला मध्ये गुल्मीमा पनि नदेखिएका पाइएको हो । बागलुङमा रहेका २ ला ५७ हजार जनालाई एकैदिन औषधि खुवाउने तयारी भएको हो ।
प्रदेश नम्बर ४ को पर्वत, बागलुङ, लमजुङमा यो संक्रमण देखिएको हो । शतप्रतिशत मध्ये दुइ बर्ष भन्दा कम उमेरका बालबालिका, दिर्घरोगी, सिकिस्त बिरामी र सुत्केरीलाई औषधि खुवाईने छैन । साथै यो औषधिसँगै जुकाको औषधि पनि खुवाइनेछ । दुइबर्षदेखि ५ बर्ष सम्मका बालबालिकालाई हात्तिपाईलेको एक चक्की र एउटा जुकाको औषधि खुवाईनेछ भने ६ देखि १४ बर्ष सम्मकालाई दुइवटा चक्की खुवाउनुपर्ने तिवारीले बताए । १५ बर्षदेखि माथिका मानिसले भने हात्तिपाईलेको ३ वटा चक्की र जुकाको एक चक्की औषधि खानुपर्छ । उक्त अवसरमा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले यो रोगले मानिसलाई मृत्यु सम्म हुने र अर्कालाई सर्ने खतरा भएकोले समयमै उपचार गर्नुपर्ने तथा औषधि खाएर रोग निर्मुल पार्ने अभियानमा सबैले साथ दिनुपर्ने बताए । ‘यो समाज प्रतिको कर्तव्य पनि भएकोले सबैले खानुपर्छ’ उनले भने, ‘घरमा लगेर राख्ने काम गर्दा रोक निर्मुल नभएकोले प्रत्यक्ष निगरानीमा खानुपर्ने व्यवस्था गरिएको छ ।’ घरमा लगेर खाने भन्दै कतिपयले औषधि सेवन नगरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाको अध्यक्षता र जिल्ला स्वास्थ्यका नासु तेजप्रसाद निउरेको संचालनमा भएको छलफलमा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल, जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल, बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष जीवन आचार्य लगायतले बोलेका थिए । उक्त अबसरमा प्रजिअ थापाले सबै सहभागिलाई ‘म हात्तिपाईलेको औषधि खान्छु, परिवारका सबैलाई खुवाउँछु र छिमेकीलाई खान सल्लाह दिन्छु’ भन्ने प्रतिवद्दताको सपथ खुवाएका थिए ।
Previous Articleयुवालाई नेतृत्व विकास तालिम
Next Article राष्ट्रिय सभाको चुनाव आज हुँदै