काठमाडौं, २४ माघ– निर्वाचन आयोगले आज माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ । नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।
संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल दुई हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् । प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
आयोगले सो निर्वाचनका लागि छवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको जनाइएको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ । निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “प्रत्येक मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।” हरियो र रातो रङका चार÷चार प्रकारका मतपत्र रहने छन् । यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।
यसैबीच, निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट तीनजनाका दरले विज्ञ खटाइएको छ । छ वटै प्रदेशमा तीनजना विज्ञ र दुईजना प्रशासनिक गरी पाँचजनाको गणना टोली पठाइसकेको आयोगका सूचना अधिकारी अर्यालले बताए । आयोगले सोमबार मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ । आयोगले सकेसम्म भोलि माघ २४ गते नभए पर्सि २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको उनले जानकारी दिए ।
Previous Articleहात्तिपाईले निर्मुल पार्ने अभियान
Next Article बाँझो जग्गा व्यवस्थापन गर्दै काठेखोला गाउँपालिका–७