बागलुङ, २३ माघ– ताजा तरकारी उत्पादनसँगै बागलुङको खुंगाका किसानहरु बेर्ना उत्पादनमा पनि अग्रसर भएका छन् । उनीहरुले बेर्ना उत्पादनबाट गाउँभरीका किसानलाई बिक्री गरेर कमाई पनि गरेका हुन् । ढोरपाटन नगरपालिकाको खुंगास्थित छोरेगाउँका तिलकुमारी गैह्रे, दिलकुमारी कंडेल लगायतका महिलाले बेर्ना उत्पादनमा जोड दिएका हुन् । उनीहरुले प्याज, काउली, केराउ, बन्दागोबी लगायतका तरकारीका बेर्ना उत्पादन गरेर कमाई गरेकी हुन् ।
उनको कमाईमा परिवार आश्रित छ । व्यवसायिक रुपमा तरकारी खेतीलाई पनि उनीहरुले उत्तिकै महत्व दिएका छन् । बुर्तिवाङ बजारमा बिक्री गर्न सकिने भएकोले ताजा तरकारी लगाएका उनीहरुले गाउँघरमा आफै खानका लागि लगाउनेहरुले पनि बेर्नाको खोजी गर्न थालेपछि बेर्नामा ध्यान दिएको गैह्रेले बताईन् । केही बर्ष यता उनीहरुले मासिक २ देखि ३ लाख रुपैयाँ बीउ उत्पादनबाट कमाई गरिरहेका छन् । ‘गाउँभरका किसानले हामीसँग सम्पर्क राखेर बेर्ना लैजाने गरेका छन्’ गैह्रेले भनिन्, ‘अत्याधिक चिसो भएकोले सबैले बेर्ना हुर्काउन नसकेपछि हामी दुईचार जना मिलेर लगाएका हौं ।’ बर्षातमा झरी र हिउँदमा तुसारोबाट जोगाएपछि उनीहरुले बेर्ना बिक्री गर्न सकेको बताए ।
केही बर्षदेखि युवाहरु रोजगारी खोज्दै खाडी मुलुक हानिएपछि घरमा बसेका बुढाबुढीहरुले खेती गरेर राम्रो आम्दानी लिन सकेको बताए । ‘खाडीमा काम गर्न नजाउ, बरु तरकारी लगाउ भनेर धेरै सम्झाए, तर छोराहरुले मानेनन्’ कंडेलले भनिन्, ‘घरमै बसेर गाईभैसीको मल प्रयोग गरेर उत्पादन गरेको तरकारी र बेर्नाले राम्रै कमाई भएको छ ।’ बैदेशिक रोजगारीमा गएका युवाले सामान्य घर खर्च पनि पठाउन नसक्दा कृषिको कमाईबाट बचत समेत गरेको समेत उनले बताईन् । बुर्तिवाङ बजारमा आउने अधिकांस तरकारी तराईबाट आउने भएकोले उनीहरुको अर्गानिक तरकारी सहज बिक्री हुन्छ । हरेक दिन एउटादेखि दुइवटा जिपमा उनीहरुको तरकारी बजार पुग्ने गरेको हो । ‘पहिला–पहिला बोकेरै लैजानुपथ्र्यो, अहिले जिप चल्न थालेको छ’ कंडेलले भनिन्, ‘होलसेल पसलेसंग सल्लाह भएपछि घरैमा पैसा आइपुग्न थालेको छ ।’ केही बर्षदेखि खुलेको कृषि सडकले फसल बिक्रीका लागि सहज भएको उनले बताईन् । गैह्रे टोलका ७ घरले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन्भने उनीहरुको घरबाट बेर्ना लगेर झण्डै एकसय घरले खाने जोहो गरेका छन् ।
अधिकांसले बजारको तरकारी किन्न छाडेको स्थानीय कृषि प्राविधिक टेकमाया खड्काले बताईन् । बेर्ना बाहेक लसुन, केराउ, आलु तथा दुध र घिउ समेत उनीहरुले उत्पादन बढाएका छन् । घरघरमा ५ देखि १० वटा बाख्रा पालेर बर्षमा खसीबोका बिक्रीबाट पनि झण्डै एकएकलाख आम्दानी गर्न उनीहरु सफल भएका हुन् ।
Previous Articleपत्रकार जिसीलाई कृयाशिल पत्रकारीता पुरस्कार
Next Article महाशिलाबाट सिकौं