बागलुङ, २३ माघ– प्रेस चौतारी नेपालको २० औं स्थापनाको अवसरमा पत्रकार रामबहादुर जिसीलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार दिइएको छ । चौतारीका पूर्व केन्द्रीय सचिव गणेश पाण्डेले दुई बर्ष अघिको भूकम्पले क्षति पुगेको घटनाको आधारमा तयार गरेको डकुमेन्ट्री प्रदर्शनबाट संकलिन रकमले यो पुरस्कार स्थापना गरिएको थियो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले १० हजार नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर जिसीलाई सम्मान गरेका थिए । पत्रकार जिसी हाल धौलागिरी जागरण दैनिकका सम्पादक छन् ।
धौलागरी एफएम, ढोरपाटन दैनिक लगायतका संचार माध्यममा पनि काम गरिसकेको जिसीले सहकारी क्षेत्रलाई समाचारको बिट बनाएका छन् । पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसी राष्ट्रिय सहकारी बैंकका संचालक पनि हुन् । कार्यक्रममा पुरस्कार दिंदै नगर प्रमुख पौडेलले जिसीले आँफू आवद्ध संस्थाहरु संस्थागत बिकासका योगदान गरेको चर्चा गरे । जिसीले ईन्सेक प्रतिनिधि हुँदा जनआन्दोलनको संगालोको रुपमा पुस्तक प्रकाशित गरेको, राजनीतिक परिवर्तनको एजेण्डालाई समाचारमा उतारेको जस्ता बिषय महत्वपूर्ण भएको भन्दै प्रसंसा पनि गरे । प्रेस चौतारीका केन्द्रीय सचिव रामकृष्ण शर्माले व्यवसायिक पत्रकारितामा आर्थिक संकट बढेको भन्दै खोजी पत्रकारिता गरेर आर्थिक बिकासमा लाग्न पत्रकारलाई सुझाव दिए ।
ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले व्यवसायिक पत्रकारिता सँगै क्रियाशिलता र निरन्तरता दिन सक्दा सम्मान र पुरस्कार पाउन सकिने बताए । अघिल्लो बर्ष चौतारीले गौतमलाई पुरस्कृत गरेको थियो । पुरस्कृत जिसीले पनि संचारक्षेत्रमा आएपछि निरन्तर काम गरेको भन्दै आफ्नै अगुवाईमा संचार संस्थामा परिवर्तन र सकारात्मक सन्देश फैलाउन पहल गरेको बताए । प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, सचिव सिर्जना पन्तको संचालन र उपाध्यक्ष नविन शिसिरको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले सचिव लालबहादुर थापा, पत्रकार महासंघका अध्यक्ष तथा पुरस्कार छनौट समितिका सदस्य दिल शिरिष, प्रेस युनियनका सचिव संगम घर्ती, प्रेस सेन्टरका अध्यक्ष राम थापा, प्रगतीशिल पत्रकार संघका प्रतिनिधि बिजय रानाले बोलेका थिए । चौतारीले महासंघको भवन निर्माण अभियानलाई ५ हजार ५ रुपैयाँ सहयोग पनि गरेको छ ।
Previous Articleसिद्धार्थ बैंकको सेवा शुभारम्भ
Next Article तरकारीका बेर्ना उत्पादन गर्दै खुंगाका कृषक