पोखरा, २१ माघ – यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पोखरास्थित लोक सेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयलाई मतदान केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्देशनालयभित्र दुईवटा मतदान केन्द्र बनाइएको जानकारी दिँदै क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले यस प्रदेशमा कुल मतदाताको संख्या २३० जना रहेको जानकारी दिए । एउटा मतदान केन्द्रमा यस प्रदेशका ६० जना सदस्य र अर्को मतदान केन्द्रमा गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख गरी १७० जनाले मतदान गर्नेछन् ।
यस प्रदेशमा खुल्लातर्फ तीन, महिला तीन, दलित र अपाङ्गबाट एक÷एक राष्ट्रियसभा सदस्य निर्वाचित हुनुपर्नेमा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको कार्यक्रम रहेको सुवेदीले जानकारी दिए ।