बुनु थारु
काठमाडौं, २१ माघ – आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। ‘हामी सक्छाँै, म सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसहरुको सबैभन्दा बढी मृत्यु हुने रोगमध्ये क्यान्सरलाई दोस्रो स्थानमा राखेको छ । विश्वभर एक करोड ४० लाख क्यान्सर रोगी रहेका छन्।
यही रोगका कारण वर्षेनी ९० लाखको मृत्यु हुने गरेको छ। विश्वमा ६ जनाको मृत्यु हुँदा एकजना क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ। विश्वव्यापी रुपमा १३ प्रतिशतको मृत्यु क्यान्सरकै कारणले हुने गरेको अध्ययनले देखाउँछ। नेपालमै वर्षेनी यो रोगबाट पीडितहरुको संख्या थपिँदै गएको अध्ययनले देखाएको छ। वर्षेनी ३० हजार नयाँ रोगी थपिने र करिब २० हजार मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेका छन्।
पाँच वर्षमा रोगीको संख्या दोब्बर
विश्व स्वास्थ्य संगठनको अनुसार विकाशोन्मुख देशमा फोक्सो र स्तन क्यानसरबाट ज्यान गुमाउने बढी छन् जसमा पाठेघरको मुखको क्यान्सर पनि एक हो। विश्वमा करिब १६ लाख मानिसको मृत्यु फोक्सोको क्यान्सरले हुने गरेको छ भने करिब २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको क्यान्सरले हुने गर्दछ। संगठनको पछिल्लो अध्ययनअनुसार नेपालमा करिब २९ हजार ८ सय ९८ मानिस यो रोगबाट पीडित रहेका छन्।
भक्तपुर क्यान्सर अस्पतालको पछिल्लो तथ्यांकले पनि त्यही संकेत गर्दछ। अस्पतालका अनुसार वर्षमा ४६२ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने ३३७ मा स्तन क्यान्सर र ४२२ मा घाँटीको क्यान्सर पाइएको छ । त्यस्तै गरी टाउको र नाकमा हुने क्यान्सर २९३ जनामा देखिएको छ।
भक्तपुर क्यान्सर अस्पतालले मात्रै वर्षमा ६० हजार क्यान्सरका बिरामीको उपचार गर्ने गरेको छ। सन् २०१२ मा अस्पतालले २८ हजार ३६६ बिरामीको उपचार गरेकामा २०१७ सम्मा आइपुग्दा पाँच वर्षको अवधिमा दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४४१ पुगेको देखिन्छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तथ्यांक हेर्दा पनि २२ प्रतिशतभन्दा बढी महिलामा पाठेघरको क्यान्सर देखिएको छ। १४ प्रतिशत स्तन, ११ प्रतिशत डिम्बाशय, १० प्रतिशत फोक्सो, पित्तथैली र पेटको क्यान्सर पाँच प्रतिशत रहेको छ ।
त्यसैगरी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरको २०१५– २०१६ को तथ्यांक अनुसार अनुसार सबैभन्दा बढी स्तन क्यान्सरका २७० जना बिरामीहरु देखिएका छन्। त्यसैगरी फोक्सोको क्यान्सरका बिरामीहरु १६० र पाठेघरको क्यान्सर लागेका १०६ देखिएका छन्। हरेक वर्ष यो अस्पतालमा १८ सयभन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको अस्पतालले जनाएको छ।
काठमाडौँ र काभ्रेमा क्यान्सर रोगी बढी
नेपालमा क्यान्सर रोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभे्रपलाञ्चकमा बढी देखिएको छ। काठमाडौँमा ३४९ लाई यो रोग देखिएको छ भने काभे्रपलाञ्चोकमा १९१ लाई पाइएको छ। त्यस्तै भक्तपुरका १७८, ललितपुरमा १५०, सिन्धुपाल्चोकमा १३८, मोरङमा १२९, झापामा ११९, सुनसरीमा १०२ जना क्यान्सर रोगीहरु देखिएको छ। भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा.ऋषिकेशनारायण श्रेष्ठले यी जिल्लामा किन बढी क्यान्सर देखिएको भनेर यकिन कारण नभएपनि काठमाडौँमा उपचार गर्न सजिलो र नजिक ठानेर पनि बिरामीहरु आएका हुन सक्ने बता। यस क्षेत्रमा किसानहरु बढी भएको र किटानाशक औषधीले पनि प्रभाव पारेको हुन सक्ने बताए।
सुगर र प्रेसर कहिल्यै निको हुँदैन तर क्यान्सर निको हुन्छ
क्यान्सर हुने कारणहरु धेरै छन्। जसमध्ये सबैभन्दा बढी भनेको सूर्तीजन्य पदार्थबाट हुने गरेको छ। त्यसपछि मद्यपान पनि अर्को प्रमुख कारण हो। विश्वमा करिब ३० प्रतिशत मानिसको मृत्यु सूर्तीजन्य पदार्थबाट हुने गरेको छ।
नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ भन्छन्, ‘क्यान्सर लाग्नुको प्रमुख कारण हाम्रो परिवर्तित जीवनशैली र रहनसहन हो, यसमा सावधानी अपनाए एक तिहाइ क्यान्सरबाट बच्न सकिन्छ।’
शाकाहारीलाई भन्दा मासांहारी भोजन गर्ने मानिसलाई क्यान्सरको बढी जोखिम देखिएको छ। डा. सुदीप भन्छन्, ‘पोलेको मासु त्यसमाथि रातो मासु त खाँदै खानुहुन्न, चिल्लो, गुलियो, नुनिलो, बोसोयुक्त खानाबाट टाढै हट्नुपर्छ।’
भक्तपुर क्यान्सर हस्पिटलका डा. ऋषिकेशनारायण श्रेष्ठका अनुसार अहिले धुम्रपान गर्ने व्यक्ति बढिरहेका छन्, स्कूलबाट आउनेबित्तिकै मोबाइल, आइप्याड, कम्युटरमा झुम्मिने बालबालिकाहरुमा शारीरिक व्यायामको कमी देखिएको छ, ठूला मानिसहरु पनि हल्का व्यायाम गर्न रुचि राख्दैनन् ।जंक फुडको सेवन धेरै छ, बजारमा अखाद्य वस्तुको बिगबिगी छ यसले पनि क्यान्सर रोग निम्तिरहेको उनको बुझाइ छ।
इन्फेक्सनको कारण पनि अहिल्यै क्यान्सरका रोगी बढेका छन्। ह्युमन प्यापिलोमा भाइरसले संक्रमण गर्दा धेरैजसो महिला जो शारिरीक सम्पर्कमा सक्रिय छन् उनीहरुलाई बढी पाठेघरको क्यान्सर देखिको छ । यसबाट बच्न भ्याक्सिनको आविष्कार पनि भइसकेको छ जुन शारिरीक सम्पर्कमा सक्रिय हुनुभन्दा अगाडि लगाएको खण्डमा इन्फेक्सनबाट बच्न सकिन्छ। सरसफाइका कारण पनि रोगलाग्ने भन्दै डा. श्रेष्ठले भने, ‘सरसफाइमा निकै ध्यान दिनुपर्छ। यौनांगहरु सधैँ सफा राख्नुपर्छ।’
सुख्खा खोकी लागिराख्ने, तौल घट्ने, शरीरबाट रगत आएमा र स्तनमा गिर्खा देखिएतुरुन्तै जँचाउन उनी सुझाव दिन्छन्। उनले भने, ‘सुगर र प्रेसरलाई निको पार्न सकिँदैन मात्र नियन्त्रण गर्न सकिन्छ, तर क्यान्सर निको पार्न सकिन्छ। त्यसका लागि आफू सचेत हुन जरुरी छ।
नेपालमा पहिलो स्टेजमैे कम्तीमा ७० देखि ८० प्रतिशतसम्म रोग निको पार्न सक्ने डा. श्रेष्ठले बताए। तेस्रो स्टेजमा पनि ३० देखि ४० प्रतिशतसम्म निको हुन्छन्। क्यान्सर रोग निको भएका समचार कम मात्रामा आउने गरेको भन्दै उनले सकरात्मक कुराको प्रसारमा जोड दिनुपर्ने बताए। डा. श्रेष्ठका अनुसार स्टेज १ का ८० प्रतिशत २ का ६० प्रतिशत र लास्ट स्टेजमा ३० प्रतिशत बिरामी बाँचने सम्भावना हुन्छ।
पैसा बाँड्नभन्दा जनचेतनामा जोड दिन आवश्यक
धेरै जना बिरामीहरु ढिलो भइसकेपछि मात्र उपचारका लागि आउने गर्छन् त्यसैले उपचार खर्च पनि धेरै लाग्ने गरेको छ। हुनेखानेका लागि सहज भएपनि विपन्नलाई क्यान्सर उपचार महँगो छ। भक्तपुर क्यान्सर अस्पतालका डा. ऋषिकेशनाराण श्रेष्ठ भन्छन्, ‘क्यान्सर उपचार महँगो छ, सरकारले १ लाख बाँडिरहेको छ तर सबै उपचार गर्न त्यो अपुग छ। सरकारले बाहिरबाट औषधि किन्दा महँगो पर्ने गरेको छ, सिधैँ फ्याक्ट्रीबाट नै सप्लाइ गरेको खण्डमा अलि कम पैसा पथ्र्यो।’ सरकारले क्यान्सर उपचार गराउने उपकरण किन्ने तथा त्यसमा लाग्ने शुल्कमा कम गरे उपचार अलि सस्तो हुने उनको भनाइ छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थपन महाशाखा अनुसार विपन्न नागरिक औषधि उपचार अन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा क्यान्सरका ९ सय ९१ जनाले सेवा लिएका छन्। सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोड ९० लाख रुपैयाँ छुट्याएको छ। सरकारले क्यान्सर रोगीको संख्या र अवस्थाको बारेमा थाहा पाउन तथ्यांक संकलन पनि यसै वर्षदेखि सुरु गरेको छ। स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले संयुक्त रुपमा कार्यक्रम सुरु गर्न लागेका हुन्।
किन बढ्दैछन् नेपालमा बर्सेनि क्यान्सरका रोगी ?
Previous Article२१ माघ २०७४, ढोरपाटन दैनिक
Next Article राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण