बागलुङ, १९ माघ– प्रेम सबन्ध र गर्भ बोकाएपछि पनि बिवाह गर्न नसक्ने भन्दै प्रेमीले आफ्नी प्रेमिकाको हत्या गरेका छन् । प्रेम र शारिरीक सम्बन्ध पछि गर्भवती बनेकी बागलुङको जैमिनी ८ की २२ बर्षिय कमला शर्मालाई पर्वतको बिहादी २ का २३ बर्षिय प्रदिप पराजुलीले हत्या गरेको प्रहरीले बतायो । गर्भ रहेको तीन महिनापछि कमलाले प्रेमीसँग बिवाहको प्रस्ताव राखेकी थिईन् । माघ ५ गते भेटपछि शर्माले राखेको प्रस्ताव अस्विकार गर्दै पराजुलीले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । केही महिना देखि शर्मा र पराजुलीको प्रेम सम्बन्ध रहेको खुलेको छ । माघ ५ गते घरबाट निस्केकी शर्मा बिना सूचना बेपत्ता भएपछि अभिभावकले खोजी अभियान थालेका थिए । त्यसै क्रममा अभिभावकले जिल्ला प्रहरी कार्यालय बागलुङमा पनि खोजीका लागि उजुरी गरेका थिए । खोजीको क्रममा मंगलवार दिउसो गुल्मी र पर्वतको सिमानामा रहेको पूर्तिघाट स्थित घुमाउनेमा शव भेटिएको हो ।
उक्त शव पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ । प्रहरीको नियन्त्रणमा साविती बयान दिएका पराजुलीलाई भने गुल्मी पठाइएको छ । पिडितलाई दुःख दिने नियतले अभियुक्त गुल्मी पठाएकोमा परिवारले बिरोध गरेका छन् । साथै उनीहरले सामान्य किसान परिवारले गुल्मी जाउ जाउ गर्न र शवको दाहसंस्कार लगायतको खर्च व्यवहोर्न समेन समस्या परेको गुनासो गरेका छन् । प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले भने गुल्मी खण्डमा शव भेटिएकोले अभियुक्तलाई उता पठाएको बताए । विभिन्न तारेखमा पिडितलाई गुल्मीपुग्न समस्या पर्ने उनीहरुको गुनासो छ । प्रहरीले बेपत्ता शर्माको खोजी गर्दै जाँदा प्रेम सम्बन्धमा परेको समेत थाहा पाएपछि प्रेमी पराजुलीको घर सम्म पुगेको थियो ।
सामान्य केरकारमै उनले हत्याको स्वीकार गरेपछि प्रहरीले नियन्त्रणमा लिएरे अनुसन्धान गरेको थियो । पराजुलीले शर्माको हत्या गरेर कालीगण्डकी नदीमा फालेको बयान दिएपछि प्रहरी र स्थानीयले दुइसाता सम्म खोजी गरेका थिए । प्रहरीमा पराजुलीले बिवाह प्रस्ताव अस्विकार गरेपछि शलले घाँटीमा बेरेर हत्या गरेको बताएका थिए । मैले हत्या गरेको हुँ भनेर बयान दिएकोले मुद्दा प्रकृया अगाडि बढ्ने थापाले बताए । साथै उनले शर्माको हत्यापछि कालीगण्डकीको झोलुंगेपुलबाट शव फालेर घर गएको पनि स्वीकारेका थिए ।