तारानाथ आचार्य
बागलुङ, १८ माघ– जैमिनी नगरपालीका–२ दमेक यतिबेला नगरपालिकाको केन्द्रसँग जोड्ने मुल सडकको स्तरोन्नतीको काममा जुटेको छ । कुश्मीशेरा बजार छेउको दुर्लिबेशीदेखी सुन्तला चौरसम्मको मुल सडक स्तरोन्नतीको काम थालनी भएको हो । उपभोक्ता समिती गठन गरेर स्थानिय उपभोक्तामार्फत मुल सडकलाई सात मिटर चौडा गर्न लागिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए । यसै आर्थिक बर्षभित्र नगर बस सञ्चालन गर्ने गरी सडक बिस्तारको काम थालिएको सापकोटा बताउँछन् ।
नगरपालिकाले बनाएको स्टमेट र बिनियोजित बजेटले भ्याएसम्म नगर कार्यालयदेखी वडा कार्यालयसम्मको सडक चौडा बनाईने छ । उपभोक्ता समितीले ब्यबसायीसँग घटिघटाउका हिसाबमा बाटो खन्ने डोजर लिएर काम थालेको हो । डोजरले बकेट प्रयोग गर्दा प्रतिघण्टा ४ हजार ५ सय रुपैयाँ र ब्रेकर प्रयोग गर्दा प्रतिघण्टा ५ हजार ५ सय रुपैयाँ समिती भुक्तानी गर्ने गरी सम्झौता गरेर काम अगाडि बढाईएको उपभोक्ता समितीका सचिव मात्रिकाप्रसाद शर्माले बताए । ‘हामीले निकै कम मुल्यमा डोजरको प्रयोग गरिरहेका छौं’ शर्माले भने ‘जनप्रतिनिधि आएपछि उपभोक्ता समितीले बजेटको व्यवस्थापनमा गरेको यो निकै ठुलो कसरत हो ।’ उनीहरुले पछिल्लो समय चलेको रेटभन्दा निकै कममा डोजर सम्झौता गरेर काम गरेको दाबी गरे ।
बाटो चक्याउनको लागि डोजरको प्रयोग गरेको उपभोक्ता समितीले कमजोर धरातल रहेको ठाउँमा ग्राभेल तथा सोलिङको काम पनि एकैपटक थालेको छ । स्थानिय मजदुरको प्रयोग गरेर कमजोर भु–भागमा सोलिङको काम थालिएको समितीका अध्यक्ष हिराबहादुर थापा क्षत्रीले बताए । ‘पानी बढि हुने र चिप्लिने ठाउँहरुमा सोलिङको काम पनि थालेका छौं’ क्षेत्रीले भने ‘स्थानिय मजदुरलाई काम दिँदा उनीहरुको दैनिकी चलेको छ ।’ नगरपालिकाको ४० लाख अनुदान बजेटमा चौडा बनाउन लागिएको बाटोमा २४ लाख रुपैयाँ खर्च हुने समितीले जनाएको छ । बाटो छेउमा रहेको सिंचाईंको ३ सय ८० मिटर कुलो पक्की गर्ने काम समेत सोही बजेटबाट हुने भएकाले २४ लाख रुपैयाँ मात्रै बाटोको स्तरोन्नतीमा खर्च गर्न मिल्ने अध्यक्ष क्षेत्रीले बताए ।
मानव बस्ती र खेतीयोग्य जमिनको माझबाट निर्माण भएको बाटोको स्तरोन्नतीमा केही समस्या रहेपनि स्थानियको रचनात्मक सहयोगका कारण स्तरोन्नतीको काम द्रुत गतिमा अगाडि बढेको वडा कार्यालयले जनाएको छ । ‘हामीले बाटोलाई आवश्यक जमिन एकैपटक काट्नुस भनेका छौं’ स्थानिय ताराकेश्वर सापकोटा भन्छन् ‘बाटोको स्तरोन्नतीका नाममा पटक–पटक डोजर चलाउँदा भुक्षय, सिंचाईका कुला तथा खानेपानीका पाईप काटिने गरेका छन् ।’ बाटोका कारण काटिएका पाईप र भत्काईएका कुलाहरु पुनःनिर्माण हुने भएपनि पटक–पटक समस्या नदोहोरियोस भन्ने आँफुहरुको माग रहेको सापाकोटाले बताए ।
यस बर्षको बजेटमा कम्तीमा ६ किलोमिटर बाटो चौडा हुने वडाले जनाएको छ । बाटोको स्तरोन्नती भैरहेका बेला स्थानिय उपभोक्ताले पनि निकै चासोका साथ निगरानी गर्ने गरेका छन् । ‘सात मिटरको लठ्ठी बनाएर बुढापाका देखी युवा युवती निर्माण स्थलमा हुन्छन’ स्थानिय हरिप्रसाद सापकोटाले भने ‘बाटो नाप्ने, नाली काट्न लगाउने र आवश्यक ठाउँमा थुप्रिएको माटो झार्न हामी आँफै लाग्ने गरेका छौं ।’ स्तरोन्नती गर्दा दोस्रोपटक मेसिन लगाउन नपर्ने गरी जमिन कटानको काम भैरहेको सापकोटाले बताए ।
Previous Articleबिवाह गर्न नसक्ने भन्दै प्रेमीले गरे प्रेमिकाको हत्या
Next Article १९ माघ २०७४, ढोरपाटन दैनिक