बागलुङ, १६ माघ– सदमुकाम बागलुङ बजारको बाङ्गेचौर खेल मैदानमा प्रदेश नम्बर चार४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता आजदेशि सुरु हुँदैछ । प्रतियोगिताको प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद तथा बागलुङ नगरपालिकाका प्रमुखले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सबै बराबर भन्ने मान्यताका साथ जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई आमन्त्रण गरिएको र कार्यक्रममा उपस्थित हुने सबै बिशिष्ट ब्यक्तिहरुले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
बिहान सहिद दिवसको कार्यक्रम हुने र त्यसलगत्तै झाँकी सहित धौलागिरी बहुमुखी ख्याम्पस गेटबाट बांगेचौर खेल मैदानमा पुगेर खेलको सुरुवात गरिने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए । ‘खेल मैदानमा पुगेपछि लामो भाषणको कार्यक्रम रहँदैन’ गुरुङले भने ‘उपप्रमुखको स्वागत मन्तव्य र प्रमुखको उद्घाटन मन्तव्य मात्रै औपचारिक कार्यक्रम रहने छ ।’ माघ १६ अर्थात् सहिद दिवसको अवसर पारेर पहिलोपटक आयोजना भएको प्रदेश स्तरीय मेयरकप फुटवलको उद्घाटन गर्न लागिएको आयोजक बागलुङ नगरपालिकाले जनाएको छ ।
प्रतियोगितको उद्घाटनका लागि तामझामका साथ तयारी पुरा भएको छ । उद्घाटनमा बागलुङका बिभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर परियारले बताए । बागलुङमा प्रसिद्ध प्राचिन हनुमान नाच, लाखे नाच, भजन, मगर तथा पुन समुदायको झाँकी र मार्सल आर्टका खेलाडिहरुले डेमोस्ट्रेशन प्रस्तुत गर्ने अध्यक्ष परियारले जानकारी दिए । प्रतियोगितालाई मर्यादित र व्यवस्थित बनाउनका लागि जिल्ला खेलकुद विकास समिती र जिल्ला फुटवल संघ बागलुङले समन्वयकारी भुमीकामा काम गरिरहेका छन् । ‘हामीले धेरै मेहेनत गरेर सबै खालका तयारीहरु पुरा गरेका छौ’ जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष गुरुङले भने ‘प्रदेश स्तरिय प्रतियोगिता भएकाले बागलुङको इज्जतसँग जोडीएको छ भनेर मेहेनत गरिरहेका छौं ।’ प्रतियोगिताको उद्घाटन पश्चात मंगलबार नै पहिलो खेल हुने गुरुङले जानकारी दिए ।
खेलमा सहभागी ११ टिमको खेल तालिका बनीसकेकाले मंगलबारबाट नै खेल सुरु हुने उनको भनाई थियो । मंगलबारको पहिलो खेल आयोजक बागलुङ नगरपालिका र पाहुना टोली पालुङ्टार नगरपालिका गोरखाका बीचमा हुने गुरुङले जानकारी दिए । बाङ्गेचौर खेल मैदान र भकुण्डे खेल मैदानमा गरी दुई स्थानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको दोस्रो खेल बुधबार पर्यटकीय संभावना बोकेको गाउँ भकुण्डे खेल मैदानमा हुने छ । भकुण्डेमा हुने खेलमा कुश्मा नगरपालिका पर्वत र गल्कोट नगरपालिका बागलुङका बीचमा खेल हुने एन्फा अध्यक्ष गुरुङले बताए ।