बागलुङ, १६ माघ– सिंहदरबारको अधिकार गाउँघरमा आउने आसमा भोट हालेका स्थानीय जनताहरु अहिले स्थानीय तहमा पनि सोचे जस्तो सेवा नपाएपछि दिक्क भएका छन् । स्थानीय तह निर्वाचन सकिएको ८ महिना सकिंदा पनि ग्रामीण स्थानका गाउँपालिकामा कर्मचारी र कार्यालय राख्ने घर समेत अभाव भएपछि स्थानीयमा निरासा भएको हो । जिल्लाको पश्चिम क्षेत्रको निसीखोला गाउँपालिकामा यो समस्या चर्को रुपमा देखिएको छ ।
निसीखोलाका ७ वटा वडामध्ये २ जना वडा सचिव र एक जना नायव सुब्बाको भरमा कार्यालय चलेको छ । कार्यालय राख्ने घर पनि नभएपछि कर्मचारी बसेर काम गर्न सक्ने अवस्था पनि छैन । हाल गाउँपालिकाको कार्यालयमा नासु दीपक शर्मा एक्लैले कुरेर बस्ने गर्छन् । लेखापालको रुपमा खटिएका ५६ बर्षिय भीमसेन थापा प्रायः कार्यालय जाँदैनन् । उमेर हदले पनि अवकास पाउने अवस्थामा पुगेकोले उनी कार्यालय कहिलेकाहीं मात्र जाने गरेका हुन् । बिराज विक र इन्द्रप्रसाद शाक्य दुई जना वडा सचिव छन् । ७ वटा वडाको काम दुइ जनाले गर्न बाध्य भएको उनीहरुले गुनासो गरे । यो गाउँपालिकाका लागि प्राविधिक दरबन्दी पनि छैन । साह्रै अप्ठ्यारो परेको समयमा बडीगाड गाउँपालिकाका ईन्जिनियर दिनबन्धु शाहले काम गरिदिने गरेका छन् । बडीगाढ गाउँपालिकाको कार्यालयबाट निसीखोला पुग्न एकतर्फी ५ सय रुपैयाँ बढी भाडा लाग्छ । भूगोलको हिसाबले सदरमुकामदेखि १ सय ४० किमी पश्चिमको यो गाउँपालिकालाई कर्मचारी प्रशासनले पनि ष्स्बिेवास्ता गरेको अध्यक्ष तारानाथ पौडेलले बताए ।
‘सदरमुकाम आउजाउ गर्नपनि निकै कठिन छ, धेरै पटकको आग्रहको सुनुवाई पनि भएन’ पौडेलले भने, ‘गाउँपालिकाका कार्यालय वडा कार्यालय जति पनि बनाउन सकिएको छैन ।’ जुग्जाखोला स्थीत पुरानो घरमा मासिक १५ हजार भाडा तिरेर कार्यालय स्थापना भएको छ । तर कार्यालयमा आउँदा काम नभएर धेरैले हैरानी खेपेका छन् । कार्यकारी अधिृकत समेत नभएकोले धेरै काम अगाडि सर्दै नसरेको शर्माले बताए । लेखापालले पनि जागिर छाड्ने मनस्थिति बनाएको उनले बताए । गत बर्षातमा यो तहका अधिकांस स्थानमा बढी पहिरोले सयौं मानिस विस्थापित भएका छन् । उनीहरुलाई राहत दिने काम समेत गर्न नसकिएको उनले गुनासो गरे । ‘रेडक्रस सहितका गैरसरकारी संस्थाले ल्याएको राहत वितरणमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बसेर बितरण गरियो’ उनले भने, ‘आफ्नो आन्तरिक आम्दानी नभएको र कर्मचारी पनि नभएपछि थप राहतका कार्यक्रम तय गर्न पनि नसकिएको हो ।’ गाउँपरिषदले तय गरेका कार्यक्रम लागू गर्न पनि कर्मचारी अभाव भएको उनले गुनासो गरे ।
‘सदरमुकामको जागिर छाडेर यति टाढा र दुर्गममा को आउला ?’ शर्माले भने, ‘डेरा खोजेर बस्ने ठाउँ पनि छैन, सुरक्षित घर पनि छैनन् ।’ जुग्जाखोला बढेर गत बर्षातमा कार्यालयको घर आसपासमा पनि ठूलो क्षति पुगेको छ । मानिस आउजाउ गर्ने नजिकैको पुलमा पनि क्षति पुगेको छ । आन्तरिक श्रोत नभएकोले अनुदानको रकमले मात्र सबै काम गर्ने बाध्यता भएको पौडेलले बताए । आवस्यक जनशक्ति ल्याएर योजना बनाउन सकेमा निसीखोलामा ठूला जलविद्युत आयोजना निर्माण गर्ने, मध्यपहाडी लोकमार्ग संचालन भएमा त्यसबाट कर संकलन तथा उत्पादनलाई निर्यातमुखी बनाउन सकिने समेत उनको योजना छ । ‘कृषिमा क्रान्ति ल्याउन सकिने पानी र जमिन छ’ पौडेलले भने, ‘कर्मचारीतन्त्रले हामीलाई साथ दिएनन् ।’ हाल उपभोक्ताको अगुवाईमा यहाँका झण्डै ५ हजार घरमा लघुविद्युत बलेको छ । राष्ट्रिय प्रसारण लाईन भने यहाँ पुगेको छैन ।
Previous Articleयसरी शुरु हुँदैछ मेयरकप फुटबल
Next Article १६ माघ २०७४, धौलागिरी स्टार साप्ताहिक