लामो समय कर्मचारीले चलाएका स्थानिय तहमा यतिबेला जनप्रतिनिधिहरु छन् । करिव बीस बर्षसम्म कर्मचारीको भरमा चलेका स्थानिय तहमा जनप्रतिनिधि आएपछि केही नयाँ चहल पहल छाएको छ । नयाँ संरचना बनेर सोही संरचनाका आधारमा निर्वाचित भएका जनप्रतिनिधिबाट आम मतदाताले ठुलो आशा गरेका छन् । जिल्लाका स्थानिय तहहरुमा केही यस्ता ब्यक्तिहरु निर्वाचित भएका छन् जो यस अगाडि पनि पुरानो संरचनामा जनप्रतिनिधि भएर काम गरेका थिए । जिल्लाको सदरमुकाम रहेको बागलुङ नगरपालिमा पनि पहिले समेत वडाअध्यक्ष भएर काम गरेका जनप्रतिनिधिहरु अहिले पनि निर्वाचित भएका छन् । २०५४ सालमा वडाअध्यक्ष बनेर पाँच बर्से कार्यकाल पुरा गरेका बागलुङ नगरपालिकाका खगराज पाण्डे अहिलेको नयाँ रंचनाअनुसार बनेको ७ नम्बर वडाका वडाअध्यक्ष हुन् । उनले गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर पराजुलीलाई ४ सय ७७ मतान्तरले पराजित गर्दै नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष भएका थिए । पाण्डे पुनः निर्वाचिन भएपछि उनले गरेका काम कारवाईको बिषयमा सहकर्मी तारानाथ आचार्यको छोटो कुराकानी ।
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–मैले योभन्दा पहिले पनि २०५४ सालमा वडाध्यक्ष भएर काम गरेको थिएँ । लामो समय राजनीतिमा बिताएको र बिगतमा समेत काम गरेको अनुभव भएकाले मलाई काम गर्न कुनै कठिनाई छैन् । नयाँ संरचना अनुसार वडाको आकार ठुलो भएकाले पहिलेको तुलनामा कामको चाप बढि हुनु स्वभाविक हो । जनताले सेवा पाईनम् भनेर गुनासो गर्छन की भन्नेमा सधै सजक रहनु परेको छ । किनभने वडा पहिलो आकारमा छ्रैन् । अन्य कुराहरु त गरिरहेकै भएकाले मलाई काम गर्न समस्या छैन् ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–सबैभन्दा पहिले त हामीले लामो समयको संक्रमणका कारण रोकिएका विकासका कामलाई गति दिएका छौं । भुकम्पका बेला घरबार बिहिन भएकाहरुलाई नेपाल सरकारले दिने अनुदानको पहिलो किस्ताको रकम दिलाउन हामीले ठुलो प्रयत्न गर्नु प¥यो । हामीले निरन्तर मेहेनत गरेर पीडितहरुलाई राहत दिलाउने काम गरेका छौं । अर्को कुरा बृद्ध बृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता कृषि बिकास बैंकमार्फत पाउने ब्यबस्था थियो । जसका लागि बागलुङ बजार जानु पर्ने हुन्थ्यो । जुन कुरा उहाँहरुको लागि असहज थियो । त्यसलाई सहज बनाउनका लागि हामीले गाउँमा नै वडा कार्यालयमार्फत घरघरमै पुगेर भत्ता बितरण गर्ने परिपाटी बसाल्यौं । अर्को कुरा सडकको स्तर उन्नती बिद्यालयहरुलाई जिम्मेबारपुर्वक पठन पाठन गराउन सुझाव दिने लगायतका काम हामीले गरेका छौं ।
वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–वडा कार्यालय नै नखुल्ने, सचिव नै नहुने भनेर कसैले भनेको छ भने त्यो गलत हो । कार्यालय नियमित खुलेको छ । सचिव ज्यु, म सधैं कार्यालयमा नै हुन्छौं । निरन्तर जनतालाई सेवा दिईरहेका छौं । बेला बेलामा आवश्यक परेको बेला जनताको घरदैलो मै पुगेर समेत हामीले सेवा प्रदान गरेका छौं ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–वडामा बिभिन्न कामहरु गर्नका लागि यो आर्थिक बर्षमा नगरपालिकाले ३६ लाख बजेटको ब्यवस्था गरेको छ । जुन हाम्रो माग अनुसारको थियो । त्यो रकमबाट वडा भित्र गर्नुपर्ने बिभिन्न विकासका काममा सुधारको काम हामी गछौं । अर्को कुरा वडाका सबै सडकको स्तरोन्नतीको लागि ७० लाख बजेट बिनियोजन भएको छ । त्यो हामीले बाटोहरुको स्तरोन्नतीमा खर्च गर्ने छौं । शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिषयमा व्यवहारीक प्रयोगको लागि हामीले नगरपालिकासँग योजनाहरु बनाएर माग गरेका छौं । जग्गादाता मेघराज पाण्डेले जग्गा दिएपछि हामीलाई स्वाथ्य चौकी भवन निर्माणको बाटो खुलेको छ । स्वास्थय चौकी नभएको हाम्रो वडामा अब स्वास्थय चौकी भवन बनाउने योजना छ । वडा भित्रका कृषि समुहहरु सँग हामीले योजना माग गरेका छौं । उहाँहरुबाट आएका योजनाहरुमा छलफल गरेर नगरपालिकासँग योजना माग गछौं र व्यवसायिक कृषिमा अनुदानको व्यवस्था मिलाउँछौं ।
तपाईको वडाका सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–हामीले तीन बर्ष भित्रमा वडा कार्यालय छुने गरी मुख्य सडक पिच गर्ने योजना बनाएका छौं । पाँच बर्ष भित्रमा वडाको रिंगरोड पीच गछौं भन्ने योजना छ । अन्य साना सडकहरुलाई ग्राभेल गर्ने, नाली काट्ने र अप्ठ्यारो रहेका ठाउँहरुमा ढलान गर्ने काम हुने छ ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–हामीले आफ्नो कार्याकाल फलदायी होस भन्ने हिसाबले काम गर्ने छौं । वडामा रहेका सबै विकासका काममा हामीले गति लिने गरी थालनी गर्ने छौं । शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतका क्षेत्रमा भावी पुस्ताले यो क्षेत्रमा विकासको थालनी गर्नुपर्ने छ भन्ने ठाउँ हामीले राख्ने छैनौं । किनभने हामीले सबै बिषयमा विकासको थालनी गर्ने छौं । स्वाथ्यमा सुबिधा सम्पन्न भवन, शिक्षामा प्रबिधिक तथा व्यवहारिक शिक्षा, जसको लागि हाम्रोमा रहेको बिश्वकर्मा मावीका बिद्यार्थीहरुलाई आधुनिक प्रबिधियुक्त खेती सिकाउनको लागी जग्गा भाडामा लिएर कृषि प्रयोगशाला बनाउँछौं । सबै क्षेत्रमा अवसरको सिर्जना गर्ने र सबै अट्ने खालको विकास गर्ने योजना छ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–हाम्रा कुरा तपाईंको अनलाईनमार्फत आम सर्वसाधारणलाई जानकारी गराउने अवसर दिनुभएकोमा तपाईं लगायत तपाईको टिमलाई धन्यवाद । हाम्रो कुृरा ध्यान दिएर पढ्ने पाठकलाई पनि धन्यवाद । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई खवरदारी गरिरहनु हुन यहाँहरुलाई मेरो अनुरोध छ ।