गाउँ छोड्ने मनस्थितीमा स्थानिय
तारानाथ आचार्य
बागलुङ, १५ माघ– जिल्लाको दक्षिणका केही गाउँमा बाँदर तथा दुम्सीको आतंक बढ्दै गएको छ । बाँदर तथा दुम्सीको आतंक बढेपछि स्थानीय चिन्तित बनेका छन् । बाँदर र दुम्सीले खेतबारीमा लगाएका बालीनाली खाईदिने र घर–घरमै पसेर दुःख दिन थालेको जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका हरिप्रसाद सापकोटाले बताए । खेतबारीमा लगाएको हिउँदे बाली र घर छेउमा लगाईएका तरकारी बारीमा समेत दुम्सी र बाँदरले पालै–पालो खाईदिने गरेका छन् । दिनको समयमा बाँदरले घर–घरमै पसेर खाद्यान्न खाईदिने र रातको समयमा दुम्सीले हिँउदेबालीको नाश गर्ने गरेको सापकोटाले बताए ।
बस्ती नजिकैको जंगलबाट आउने दुम्सी र बाँदरका कारण त्यस क्षेत्रका स्थानीय हैरान परेका छन् । पहिले–पहिले कुकुर र मान्छेको गन्ध मात्रै पाउँदा समेत भाग्ने बाँदरले घर–घरमै पसेर खाद्यान्नको सर्वनाश गर्ने गरेको सापकोटाले गुनासो गरे । ‘बाँदरले मान्छेलाई गन्दैन घर–घरमै निधक्क पस्ने गरेको छ’ सापकोटाले भने ‘दिनभर बाँदर धपाउँदा हैरान, रातभर दुम्सीको बिगबिगी छ ।’ खेतबारीमा लगाएका आलु, केराउ, मुसुरो लगायतका हिउँदे बालीमा बाँदर र दुम्सीले राज गर्ने गरेको सापकोटाले बताए ।
‘जंगलबाट आउने बाँदरले धपाउँदा समेत टेर्न छाडेको छ’ स्थानिय मात्रिका सापकोटाले भने ‘बाटोमा एक्लै हिँड्दा मान्छेलाई समेत बाँदरले आक्रमणको प्रयास गर्छ ।’ साना बालबालिका र बृद्धबृद्धालाई जंगलको बाटो एक्लै हिड्न समेत गाह्रो हुने गरेको उनको भनाई थियो । घरमा पसेको बाँदर धपाउन स्थानीयलाई सकस हुने गरेको छ । एकदुई जना वा महिलाको स्वर सुनेर मात्रै बाँदर नभाग्ने गरेको स्थानियको गुनासो छ । ‘खेतीयोग्य जमीनमा गरेको खेती बच्दैन् घर–घरमा बसेर घरभित्रको सबै बोकेर जान्छ’ हरिप्रसाद भन्छन् ‘बाँदरकै आक्रमणका कारण गाउँ छोड्ने स्थिती निम्तीने भो ।’
बाँदर र दुम्सीकै कारण दमेकको सयौ रोपनी जमिनमा लगाईको आलु समय नपुग्दै खन्नु परेको स्थानिय बताउँछन् । बाँदर र दुम्सीका कारण स्थानिय आतंकित बनेपछि वडा कार्यालयले नियन्त्रणका लागि छलफल सुरु गरेको थियो । ‘हामीले यहाँका स्थानिय आतंकित बनेर बसाई नै सर्ने स्थिती आएपछि नियन्त्रणको प्रयास थालेका थियौं’ जैमिनी–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने ‘बन्यजन्तुको अधिकारका क्षेत्रमा काम गर्नेहरुले बाँदर दुम्सी मार्न दिँदैनन्, गुलेलीले हाँनेर बाँदरले टेर्न छोड्यो ।’ वडा कार्यालयले बाँदरको नियन्त्रणका लागि सामुहिक रुपमा धपाउने काममा लाग्न स्थानियलाई आग्रह गर्दै आएको छ । ‘जंगलबाट आउने जन्तुलाई रोक्न निकै मुस्किल छ’ सापकोटाले भने ‘ठुलै जमात लगाएर धपाउँदा केही दिन आनन्द हुन्छ ।’ एक दुई जनाको प्रयासले मात्रै गाउँ पसेको बाँदर जंगल नजाने र गाउँमा केटाकेटी तथा बुढा बुढी मात्रै भएकाले बाँदरलाई धपाउन समस्या हुने गरेको स्थानिय ज्ञानज्योती प्राविका प्रधानाध्यापक डम्मरा देवी शर्माले बताईन् ।
Previous Articleकुष्ठरोग शुन्यमा झार्ने अभियान
Next Article फेसबुक मार्फत सहयोग अभियान