बागलुङ, १५ माघ– कुष्ठ रोगलाई नेपाली समाजबाट शुन्यमा झार्ने अभियान स्वरुप कार्यक्रम थालिएको छ । ६५ औं कुष्ठ रोग दिवशको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङले गरेको एक अन्तरक्रियामा बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले कुष्ठरोगमुक्त समाज बनाउने अभियान भैरहेको बताए । ‘हामीले कुष्ठ रोगमुक्त समाज बनाउन चाहेका छौं, तर पनि अझै पिडितहरु बढी रहेका छन्’ तिवारीले भने जनचेतनामार्फत पिडितलाई हेर्ने दृष्टीकोण परिवर्तन गर्न सक्नुपर्छ ।’ उनका अनुसार, संसारकै पुरानो मानिने कुष्ठ रोग नेपालमा अझै निवरणको अवस्थामा पुग्न नसकेको पनि बताए ।
कार्यालयले क्षय कुष्ठ सुपरभाईजर देव प्रकाश घिमिरेको नेतृत्वमा खटिएको टोलीले जिल्लामा गत बर्ष मात्र ९ जना बिरामी फेला पारेर उपचारको दायरामा ल्याएको छ । पछिल्लो तीन बर्षदेखि थालिएको खोजी अभियानको क्रममा जिल्लामा १७ जना बिरामी फेला परेका हुन् । उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालले गोप्य रुपमा निशुल्क उपचार गराइ रहेको घिमिरेले बताए । कुष्ठ रोग निवारण गर्ने अभियान थाल्दा पिडितहरु बढ्दो दरमा रहेको देखिएपछि कार्यालयले गत २०७२÷०७३ देखि खोजी अभियान बढाएको थियो । उक्त बर्ष ३ जना मात्र भेटिएकोमा आव २०७३÷०७४ मा ५ र गत आव २०७४÷०७५ मा ९ जना भेटिएका हुन् । उनीहरुमध्ये एक जनालाई अस्पतालमा र अन्यलाई गाउूतहकै स्वास्थ्यचौकीमा उपचार भैरहेको हो ।
कुष्ठरोग लागेको बिरामीको शरिरमा फुस्रो दाग देखिन्छ । ती दागमा छोएमा थाहा नपाईने भएकोले समय समयमा सबैले आफ्नो शरिरको अनिवार्य परिक्षण गर्न बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले आग्रह गरेका छन् । ‘हामीले निवारण गर्ने भन्दा फेरी बढेको देखियो त्यसैले घरघरमा पुगेर खोजी अभियान बनाएका छौं’ तिवारीले भने, ‘शंका लाग्नासाथ स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुनै यसको निदान हो ।’ भेदभाव गरिने भएकोले कुष्ठरोगलाई धेरैले अझैसम्म नराम्रो रुपमा हेरिएकोमा अहिले सम्मान गर्ने वातावरण बनेको उनले बताए । कुष्ठरोग डेढ बर्ष सम्म औषधि खानुपर्ने भएपनि पहिलो दिनको औषधि सेवनबाटै नसर्ने उनले बताए ।
सरकारले कुष्ठरोग लागेका बिरामीलाई निशुल्क औषधिको व्यवस्था सहित बाटो खर्च स्वरुप १ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको अस्पतालका मेडिकल सुपटिरेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । घिमिरेको संचालनमा सम्पन्न अन्तरक्रियामा पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए ।
Previous Articleफेसबुक सहायतामा बन्यो नमुना घर
Next Article दिउँसो बाँदर, रातभर दुम्सीको आतंक !