बागलुङ, ११ माघ- करदाता सेवा कार्यालयले अघिल्लो बर्षको तुलनामा कर संकलनमा उल्लेख्य प्रगती गरेको छ । नगरपालिकाको संख्या बढेको तथा नियमित कर शिक्षा संचालन गरेपछि करदाता बढेको कर अधिकृत सूर्यप्रसाद चापागाईले बताए । चापागाईका अनुसार आर्थिक बर्ष २०७४÷०७५ को पहिलो ६ महिनामा निर्धारित गरिएको लक्ष भन्दा ३० प्रतिशत बढी कर संकलन भएको हो ।
करको दायरा फराकिलो बनाउनका लागि कार्यालयले गाउँसम्म कर शिक्षालाई अगाडि बढाएको छ । जिल्लाका उद्योगी, व्यवसायी लगायत सामान्य कारोवार गर्ने व्यक्ति सम्म पनि करदाता कार्यालयको पहुँच विस्तार गर्ने योजना बनाएको उनले बताए । कार्यालयको मेहेनतबाट गत पुस मसान्तसम्म १० करोड ३५ लाख ९१ हजार कर संकलन गर्ने लक्ष राखेको कार्यालयले १३ करोड ५३ लाख २ हजार कर संकलन गरेको हो । करशिक्षा कार्यक्रममार्फत कर संकलन बढाउन सकिएको उनले बताए । आर्थिक बर्ष २०७२÷०७३ मा १३ करोड २५ लाख राजश्व संकलन गरेको कार्यालयले २०७३÷०७४ मा १७ करोड ९१ लाख संलकन गरेको थियो । उनका अनुसार जिल्लामा सबैभन्दा धेरै कर तिर्ने सहकारीहरु छन् ।
अहिले सम्मका करदातामध्ये सिवाईसी बचत तथा ऋण सहकारी संस्था अग्रणी बनेको छ । एक बर्षमा ६० लाख ७१ हजार १ सय ५३ रुपैयाँ कर तिरेको छ । यस अघि करदाताले पोखरा पुगेर कर तिर्नुपर्दा व्यवसायीले कहरको रुपमा लिने गर्थे । सार्वजनिक बिदाको दिन पनि काम गरेर करदाताको मन जितेपछि करदाता थपिएका हुन् । करदाता शिक्षा कार्यक्रम संचालन गरेपछि आयकर तिर्नेहरु बढेर ५ हजार ५ सय पुगेका छन्भने अन्य सबै गरेर १७ हजार छन् । कार्यालयमा ३ जना सहायक स्तरको कर्मचारी हुनुपर्नेमा एक जना मात्र छन् । पुरै दरबन्दी भएमा करको दर अझै बढ्ने उनले बताए । केही समययता निजी विद्यालय, औषधि व्यवसायी, फेन्सी, ऋगार व्यवसायी तथा व्यक्तिगत आयकर तिर्ने पनि बढेका हुन् ।
कर तिर्ने अवसर जिल्लामै पाएकोले व्यवसायीहरुले छल्ने काम छाडेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘कर्मचारीले झण्झट लगाईदिने र पोखरा पुगेर तिर्नुपर्ने समस्याले धेरैले कारोवार लुकाउने गर्थे’ भारीले भने, ‘कार्यालयले सहज वातावरण बनाईदिएकोले सबै व्यवसायी कर तिर्न उत्साही छन् ।’ लुकाएर गर्ने कारोवार र अवैध रुपमा कमाएको सम्पत्तिको कारण धेरै भ्रष्ट्राचारका मुद्दा उठीरहेकोले कर तिरेर गर्व गर्न पनि चापागाईले आग्रह गरे । कार्यालयको अगुवाईमा सबै करदातालाई दायरामा ल्याउने तयारी समेत भएको हो ।