बागलुङ नगरपालिका आफैमा जिल्लाको पुरानो र प्रशस्त सम्भावना बोकेको स्थानिय तहको रुपमा परिचित छ । त्यसमा पनि नगरको वडा नं. १ अन्य वडा तथा अन्य स्थानिय निकायको तुलनामा भौतिक पुर्वाधार र आर्थिक सम्भावनाका हिसाबले मजबुद वडाको रुपमा लिईन्छ । बागलुङ प्रबेश द्धारमा रहेको वडामा आधारभुत पुर्वाधारहरु पुर्ण छन् । गत बैशाखमा भएको निर्वाचनबाट लामो समयपछि वडाले जनप्रतिनिधि पाएको छ । लामो समय भारतमा रहेर प्रबासी नेपाली संघमा आबद्ध रहि नेकपा एमालेको राजनीतिमा लामो समय बिताएका पाका राजनीतिकर्मी दुर्गाबहादुर बोहरालाई जनप्रतिनिधिको रुपमा पाएको वडाले जिल्लामा आँफुलाई नमुना वडाको रुपमा विकास गर्ने जमर्को थालेको छ । नेपाली कांग्रेसका प्रकाश आचार्यलाई १ सय ७७ मतान्तरले पराजित गर्दै नेकपा एमालेको तर्फबाट वडाध्यक्ष बनेका बोहरासँग सहकर्मी रामकृष्ण बोहराको छोटो भलाकुसारी ।
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–लामो समयपछि भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर संक्रमणको बेला काम गर्न त्यति सहज छैन् । स्वभाविक हिसाबले जुन सुकै काम गर्न पनि त्यति सजिलो त छैन तर आम वडाबासीको माया, उहाँ हरुले देखाएको सदासयता, मेरा वडा सदस्यहरु र कर्मचारीहरुको सहयोगले मलाई काम गर्न सजिलै भएको महशुस गरेको छु । आम वडाबासीको काम गर्दा मलाई निकै आनन्द आउने गरेको छ ।
वडा अध्यक्ष भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नु भयो ?
–म जनताको सेवक हुँ । जनताले मलाई मत दिएर जिताएपछि जनताको काम कसरी छिटो छरितो गर्न सकिन्छ भन्ने नै मेरो मुख्य उद्देश्य नै हो । कामको मुल्यांकन गर्ने कुरा मेरो भन्दा पनि वडाबासीको हो भन्ने मलाई लाग्छ । काम धेरै भएका छन् । कर्मचारीको भरमा चलेको वडामा जनप्रतिनिधिले काम गर्दा यसै पनि केही सुधारका काम हुने नै भए । तर यो काम गरें भनेर मैले भन्दिन वडाका नागरिकहरुले मुल्याङ्कन गर्नुहुने छ ।
वडा कार्यालय नियमित नखुल्ने र सचिब नभेटिने समस्या छ भन्छन ?
–मेरो वडामा त्यस्तो समस्या छैन । म आफै कार्यालयमा उपस्थित हुने भएकाले पनि कार्यालय खोल्ने र कर्मचारी नियमित हुने अवस्था सिर्जना गरेको छु । जनताको काम गर्ने वडा कार्यालय नियमीत खुलेको छ । म र सचिव तथा अन्य बिषयगत कार्यालयका कर्मचारी समेत नियमित नै कार्यालयमा आउने गरेका छन् ।पार्क बनाउने नाममा तपाईको वडामा जर्बजस्ती सार्वजनिक जग्गा ओगट्ने काम भएको छ यस्तो समस्या कहिले अन्त्य होला ?
–यो साँचो हो । धेरै बर्षदेखि यो वा त्यो बहानामा सार्वजनिक जग्गा ओगटेर बिभिन्न पार्क, भवन बनाउने काम भएको छ । यसलाई हामीले इगोको रुपमा लिनु हुँदैन् । अब हामीले अनावश्यक पार्क हटाउने र व्यवस्थित पार्कको निर्माण गर्नुपर्छ अनि मात्र हाम्रो वडा नमुना बन्न सक्छ । पार्क धेरै बनाउने संरक्षण नगर्ने प्रबृतिको अन्त्य गर्नुपर्छ । यी सबै कामको व्यपस्थापन छिटोभन्दा छिटो गर्ने तयारीमा छौ ।
हजुरको क्षेत्रको विकासका लागि नगर परिषदबाट के–के योजनाहरु अगाडी सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–हाम्रो वडाको विकासका लागि गुरुयोजना नै तयार गरेको छौं । नगर परिषदबाट बिनियोजित भएको रकमले काम सुरु भएका छन् । केही योजना सम्पन्न भएका छन् । वडाभित्र रहेका सबै सडक कालोपत्रे गर्ने, नाली र ढलको व्यवस्थापन गर्ने, सोलार सडक बक्ति व्यवस्थापन र वडाको सबै क्षेत्रमा बिस्तार गर्ने, निरयघाट सडक, माझीबस्ती व्यवस्थापन, मालढुङ्गा सडक र फोहर व्यवस्थापन सबै क्रमिक रुपमा अगाडी बढदै छन् ।
तपाईका वडाका प्रायः सबै सडक पक्की छन् तर नालीको अवस्था हेर्ने हो भने बिजोग छ, निकासयुक्त ढलको बिकास कहिले गर्ने योजना छ ?
–जथाभाबी घर निर्माण, बाटो साँघुरा भएकाले ढल व्यवस्थापनमा अलि असहज भएको छ । खानेपानीको पाईप बिच्छाउनका लागि समेत सडकको छेउलाई प्रयोग गर्दा अर्को समस्या निम्तीएको छ । बजार क्षेत्रमा ढलको व्यवस्थापन हुन नसकेको कारण ढल बन्द भै हाम्रो वडामा आउने भएकाले यसको व्यवस्थापनका साथै आवश्यकता अनुसार ढल निर्माण र सरसफाई नै हाम्रो मुख्य काम रहेको छ । अब केही समयमा नै यसको समाधान गर्नतर्फ हामी लागिरहेका छौं ।
धौलागिरी अंचल कै खेल संचालनका लागि उपयुक्त बाङ्गेचौर खेल मैदानको अवस्था दयनिय छ यसलाई हराभरा र पूर्वाधारयुक्त बनाउन तपाईको योजना के छ ?
–बाङ्गेचौर खेल मैदानलाई रंगशाला बनाउनमा मेरो बेसी जोड छ । यो मैदानलाई रंगशाला बनाउन सकियो भने ४ नं प्रदेशमा पोखरापछि बागलुङ खेल क्षेत्रको गन्तब्य बन्न सक्छ । यसका लागि बागलुङ नगरपालिकाले समेत सरोकारवालासंग छलफल गरी प्रकृया अघि बढाएको छ । हाम्रो वडामा रंगशाला निर्माण हुने कुराले हामी खुसी छौं र वडाबासी र वडाको तर्फदेखि छिटोभन्दा छिटो रंगशाला निर्माण गर्न नगरपालिकाको नगरपरिषदमा बजेट बिनियोजन गर्ने मेरो प्रयास रहने छ ।
जनजाति संग्रालय बिबादका कारण निर्माण पुरा नहुँदै जीर्ण बनेको छ यस बारे तपाईले के सोच्नु भएको छ ?
–लामो समयसम्म जनजाति संग्रालय बिबादका कारण सम्पन्न हुन सकेन । यही अवस्था रहयो भने भवन अझ जीर्ण बन्ने निश्चित छ । अब हामी सरोकारवाला पक्षसंग छलफल गरी उक्त भवन सम्पन्न गर्न र सबैको पहिचान हुने गरी बागलुङ संग्रालय बनाउने योजनामा छौं ।
तपाईको वडामा नियमबिपरित धमाधम पक्की घर बनिरहेका छन्, कानुन बिपरितका कार्य रोक्न तपाईले चालेका कदम के–के छन ?
–हजुरले निकै महत्वपुर्ण प्रश्न गर्नुभयो । नियम बिपरित घरहरु निर्माण गर्ने क्रम धेरै बर्षदेखि नै रहदै आयो । यसले बागलुङ नगरपालिकाको बजार क्षेत्रमा धेरै नै असर ग¥यो । जनप्रतिनिधि नहुँदा जनताका सरोकारका बिषयहरुले प्रथामिकता पाउन सकेनन् । अहिले हामी जनप्रतिनिधिबाट स्वंम् उपस्थित भएर नगरपालिकाको मापदण्डअनुसार प्राबिधिकको सहयोगमा नै घर निर्माणका लागि अनुरोध गरेका छौं । कानुन बमोजिम घर निर्माण हुने कुरामा हामी बिश्वस्थ छौ । हामी जनताको सेवामा छौं । चारकिल्ला प्रमाणित, नक्सा सम्बन्धि सिफारिस दिने बेलामा हामी सबैलाई अनुरोध गर्ने, अनुगमन गर्ने, सुझाब दिने कार्यहरु नियमित गरेका छौं ।
आफनो कार्यकालमा हुजुरको वडा लाई कस्तो बनाउने योजना हुने छ ?
–कालीगण्डकी नदिको काखमा रहेको रामरेखा बागलुङ जिल्लाको प्रवेश द्वारहुँदै प्रसिद्व कालिका भगवती मन्दिर वरिपरी हरियाली वन बांङ्गेचौर खेल मैदान जसले बागलुङ जिल्लालाई चिनाई रहेका छन् । यहाँ भित्र रहेका श्रोत र साधनहरुको भरपुर खोजी र प्रयोग गरी जिल्ला कै नमुना वडा बनाउन सकिने अवस्था छ । हामी हाम्रो कार्यकालमा यो वडालाई जिल्ला कै सुबिधा सम्पन्न वडा बनाउने तयारीमा र्छौ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ की ?
थुप्रै सम्भावना बोकेको छ रामरेखाले । यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं । निकट भबिश्यमा नै यसको परिणाम देखिने गरी आउने छ । जिल्ला कै नमुना वडा बन्ने छ । थुर्पै योजना बनाएका छौं । धार्मिक, पर्यटन र खेलकुदको विकाससंगै हाम्रो समृद्वि जोडिएको छ । कालीगण्डकी कोरिडोर, मध्यपहाडी लोकमार्गको सडक छेउमा सोलार बत्ति, पार्किङ्ग र चिल्ड्रेन पार्क, भ्यू–टावर निर्माण गरी आन्तरिक तथा बाहिरी पर्यटक भित्राउने काम गरिने छ । साथै भरपुर फाइदा लिने योजनामा छौं । म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु । सबै वडाबासीको सुझाब र सल्लाहअनुसार काम गर्ने प्रतिवद्वता गर्दछु । अन्त्यमा मेरा भनाईहरु यस अनलाईनमार्फत सार्वजनिक गर्ने अवशर दिनु भएकोमा अनलाईन परिवारलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।