राजेशचन्द्र राजभण्डारी
नेपालीमा एउटा उखान छ ‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ बागलुङको नगर सरसफाइ अभियान यतिबेला । बागलुङ नगरपालिकालाई सुन्दर र सरसफाइयुक्त नगर बनाउने कल्पनाका साथ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले शुरू गर्नुभएको सरसफाइ अभियान यतिबेला अलमलमा परेको छ । बागलुङ जिल्लामा सरूवा भएर आउनु भए लगत्तै शुरू गरिएको सरसफाइ अभियान हप्तामा पुगे पनि बागलुङ नगरबासीमा कुनै उत्साह छ न त कुनै चासो समेत छैन । मुख्य गरेर प्रमुख सरोकारवाला निकाय बागलुङ नगरपालिकाले आजका दिनसम्म आई पुग्दा खासै गम्भीर भएको देखिदैन । स्थानीय निकाय जनप्रतिनिधि बिहिन भएको अबस्थामा नगरपालिका कर्मचारी कै भरमा चल्नु स्वभाबिक हो । अहिले सबैभन्दा बढी बेथिती कहाँ छ भनेर सोध्ने हो भने त्यो बागलुङ नगरपालिकामा हो भनेर जो कोहिले पनि सहज रूपमा भन्न सक्छन् ।
बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युबराज अधिकारी जिल्लामा कम काठमाडौं,पोखरामा बढि समय बेथित गरेको कारण पनि सरसफाइ अभियान साच्चै भन्नु पर्दा भालुको कमपरा साबित हँुदै गएको छ । समाउन पनि गाह्रो छोड्न पनि गाह्रो । प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, प्रहरी प्रमुख, खानेपानी डिभिजन प्रमुख, देखि बागलुङका सरकारी कार्यालयका प्रमुख देखि कर्मचारी हातमा माक्र्स, पन्जा, कुचो लिएर हिड्नु अबश्य पनि नगर सरसफाइको लागि राम्रो पक्ष हो तर हामीले गर्न खोजेको के हो हामी कहाँ पुग्न खोजेका हौ । बागलुङ नगरबासीको सबै भन्दा राम्रो बिशेषता भनेको बिहान सबेरै उठ्ने आफ्नो घर आँगन सरसफाइ गर्ने अनि आफ्नो वरिपरि भएको फोहरमैला छन्भने नगरपालिकाले फोहर संकलन गर्ने गाडी बजारमा आएको समयमा त्यो ब्यबस्थित रूपमा हालेर पठाउने भएको कारणले गर्दा नेपालको धेरै नगरपालिका भन्दा बागलुङको आफ्नै पहिचान छ ।
बागलुङ नगरबासी असन्तुष्ट छभने त्यो हो बागलुङ नगरपालिका कार्यालय सँगै हो किनभने फोहर मैला ब्यबस्थापनको नाममा लाखौं रूपैयाँ आउछ तर त्यो पैसा कसरी केमा खर्च हुन्छ भन्ने जानकारी नगरबासीलाई छैन । बागलुङ नगरपालिका भित्र दर्जनौं टोलबिकास संस्था गठन गरिएको छ त्यो टोलको बिकासको लागि नभै नगरपालिकाको सजिलोको लागि हो भन्ने कुरा पनि सारा दुनियाँलाई थाहा छ । सरसफाइको बजेटमा सबैभन्दा बढि अनियमितता हुने कुरा दिनको घाम झै छर्लङ्ग छ । बागलुङ नगर क्षेत्र भित्र रहेको टोल बिकास संस्थाले भने अनुसार कुनै काम पनि हँुदैन १० बर्ष सम्म पनि सतह ढल सरसफाइ नभएको दर्जनौं टोल छन् । जतिसुकै भने पनि नगरपालिकाको सरोकार वालाले त्यो कुरा सुन्दैन तर पनि फोहर मैलमा आएको पैसा खर्च देखाएर सिमित मान्छेले फाईदा गरे कै छन् ।
अहिले कै सरसफाइ अभियान कै कुरा गर्ने हो, अहिलेसम्म अभियान चलाउने नाममा नगरपालिकाले खरिद गरेको कुचो, माक्स, पन्जा, कै बिल एकपटक अहिले अभियानको क्रममा हिड्ने सरोकारवालाले हेर्ने हो भने पुग्छ । त्यो त एउटा सानो उदाहरण मात्र हो फोहरको नाममा खण्ड–खण्डमा अखण्ड भ्रष्टाचार छ भनेर अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी नपरेको होईन । नगरपालिका भित्र पनि सेण्डिकेट छ भन्दा हाँसो लाग्न सक्छ हो बागलुङ नगरपालिका भित्र यातायात ब्यबसायिको भन्दा पनि ठुलो सेण्डिकेट कायम भएको कारण बागलुङ नगरपालिका जति सफा हुनुपर्ने हो त्यति हुन नसकेको हो । एकजना कर्मचारीलाई फोहरमैला हेर्ने सुपरभाइजर बनाईको छ । नगरपालिका भित्रका सिमित कर्मचारीको मिलोमतोमा काम भएको देखाई बिल भरपाई पेश गर्ने त पञ्चायती पारा त गणतन्त्र आउदा सम्म गएको छैन ।
बागलुङ नगरबासीले बिहान उठेर सरसफाइ गर्छन् अनि नगर सरसफाइ अभियानको टोली हातमा कुचो लिएर हिड्दा खेरि नगरबासिलाई गिजाए जस्तो महसुस गरि टोलबासीले प्रश्न समेत नगरेको होइन, उद्देश्य पबित्र भए पनि योजनाबद्ध कार्यक्रम नहुँदा नत सरसफाइ अभियानले गति लिएको छ न त कुनै नगरबासीको साथ र समर्थन नै पाएको छ । जसरी बाग्मती सरसफाइ अभियानमा सबै बर्गको जसरी जनसमर्थन पायो प्रत्येक अभियानमा हजारौको सहभागीता छ हाम्रो छिमेकी जिल्ला कुश्मा नगरपालिकाले चलाएको सरसफाइ अभियानमा समेत नगरबासीको सहयोग समर्थन सहभागीता देखियो तर हामीले किन जुटाउन सकेनौं त्यो बाताबरण अब साच्चै समीक्षा गर्नु पर्छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख पुर्णचन्द्र शर्मा पनि अहिले बागलुङमा भै रहेको नगर सरसफाइ अभियानको गतिविधि सँग सन्तुष्ट देखिनु हुन्न, अहिलेसम्म भएको गतिविधि काम सबैको राम्रो समीक्षा गरेर मात्र अब अघिबढ्नु पर्ने भनाइबाट पनि सरसफाइको क्षेत्रमा काम गर्ने सरोकारवाला बिच एउटा निश्चित लक्ष योजना र गन्तव्य बनाउन जरुरी देखिन्छ । स्वच्छ, सफा र सुन्दर नगर निर्माण बागलुङ नगरबासीको साझा अभियान भन्ने मुलनारा साथ बागलुङ नगरपालिका, लायन्स क्लब अफ धौलागिरी बागलुङ, लियो क्लब अफ धौलागिरस् बागलुङले सँयुक्त रूपमा सहकार्य गरि हिजोका दिनमा बागलुङ नगरपालिका क्षेत्रमा सरसफाइ अभियान संचालन गरि बागलुङलाई राम्रो र ब्यबस्थित गरेको कुरा नगरबासीले अहिलेसम्म भुलेका छैनन् । हिजोका दिनमा राम्रो अनुभव बटुल्न सफल बागलुङ नगरपालिका अहिले भने आफै अलमलमा परेको छ । सरसफाइ अभियानमा नगरपालिकाले आफ्ना भएका कर्मचारी समेत परिचालन गर्न सकेको छैन अन्य टोलबिकास संस्थाको कुरा धेरै टाढाको बिषय प¥यो ।
बागलुङ नगर सरसफाइ अभियान प्रजिअले राम्रो उद्देश्यले शुरू गरिएको तर नगरपालिका कै लापरबाहीले गर्दा अभियान फेल भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको भनाइ छ । बागलुङ नगरपालिका भित्र भएको टोलबिकास संस्था सँग समेत कुनै सहकार्य हुन नसक्नु कमजोरी भएको भन्ने कुराबाट पनि के कुरा स्पष्ट छभने नगरपालिका सरसफाइको लागि जिम्मेवार छैन भन्ने बुझ्न सकिन्छ । बागलुङ नगरपालिका भित्र सरसफाइको क्षेत्रमा काम गर्ने गरि धौलागिरी फोहोर मैला तथा सहकारी गठन गरि आफ्नो लगानी गरि सरसफाइको क्षेत्रमा नगरबासी बिच राम्रो छाप छोड्न सफल भएको कारणले अहिले बागलुङ नगरपालिका क्षेत्रको फोहोर मैला सरसफाइको सानो जिम्मेवारी पाएको छ । एक बर्ष सम्म आफ्नो खर्चमा बागलुङ बजार भित्रका फोहर मैला संकलन गरेर नियमित निःशुल्क सेवा दिएर राम्रो प्रभाब मात्र पारेन भारतले नाकाबन्दी गरेको समयमा समेत नगरबासीलाई सेवा दिने राम्रो संस्था मध्य पर्छ । राम्रो गर्नेलाई समाजले राम्रो मानेको छ ।
हिजोका दिनमा सरसफाइको काम गर्न कम चुनौती थिएन तर त्यस्तो समयमा समेत काम गरेको अनुभव भएको नगरपालिका अहिले भने बिना गन्तव्यको यात्रामा हिड्दा बागलुङ नगरबासी अचम्मित बनेका छन् । बागलुङ नगर सरसफाइ अभियानले कालो पोलिथिनको झोला मुक्त बनाउन सफल भएको हो । बागलुङ बजार भित्रको अव्यवस्थित बजारलाई ब्यबस्थापन गरेको हो चोक–चोकमा फोहोर जम्मा गर्ने परिपाटीलाई अन्त्य गरेको हो तर अहिले साच्चै फोहोर कहाँ छ त्यसको समीक्षा गरेर के गर्दा बागलुङ नगरपालिका पुर्ण सरसफाइयुक्त नमुना शहर बनाउन सकिन्छ चिन्तन मनन् गर्न अब ढिलाइ भै सक्यो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जुन सरसफाइ अभियानको सुरूवात गर्नु भयो तर अभियानले खासै गतिलिन नसक्नुलाई बागलुङ नगरपालिका कै लाचारि हो । नगरपालिका भित्रको गुटबन्दीको प्रभाबले प्रजिअलाई असफल देखाएको कुरामा कुनै शंका छैन । अहिले भएको नगरपालिका नै अस्तब्यस्त रूपमा चलिरहेको समयमा संघियताको कारण अब केही समय भित्र थप केही गाउँ बिकास समिति यही मर्ज हुँदै छन् अहिले केही जनताले दुख पाई रहेको समयमा थप जनताले नगरपालिकाको गाईजात्रा प्रत्यक्ष रूपमा देख्ने अबसर पाउने भएका छन् ।
सरसफाइमा कति रकम कहाँबाट कसरी कुन–कुन शिर्षकमा आउछ अनि त्यो रकम कसरी कहाँ कसको आदेशमा खर्च हुने गर्छ त्यो सबै बागलुङ नगरबासीले बुझ्ने गरि सार्वजनिक हुन जरूरी छ । तर अहिलेसम्म बजेट सार्वजनिक भएको छैन । नगरपालिकाले नगर भित्र बनाएको टोल बिकास संस्थाको भुमिका सुन्ने छ आफ्नो अनुकुल प्रयोग गर्नका लागि मात्र टोल बिकास गठन गरेको हो भन्ने कुरा पनि नगरपालिकाको क्रियाकलापबाट स्पष्ट हुन्छ । बागलुङ नगरपालिका देशको अन्य नगरपालिका भन्दा धेरै सफा छ । बागलुङ नगरबासीले बिहान उठ्ने बितिक्कै आफ्नो घर आगन सरसफाइ गरेर जम्मा भएको फोहोर ट्याक्टर आएपछि फाल्ने गरेर नमुना प्रस्तुत गरेको समयमा प्रमुख जिल्ला अधिकारीले अझ राम्रो गर्ने अभियानलाई भने साच्चै बागलुङ नगरपालिका भित्रबाटै असहयोग भएको भने पक्कै हो । अब बागलुङ जिल्लामा रहेका सबै सरोकारवालाले बागलुङ नगर सरसफाइ बारे एक चोटी गम्भीर भएर सोच्न जरुरी छ ।