रामकृष्ण बोहोरा
बागलुङ, ८ माघ– डिफेन्डीङ च्याम्पियन फ्युचर ब्राईटर आवासिय माविले अमर आदर्श गोल्डको उपाधि जितेको छ । निकै नै रोमाञ्चक भएको खेलमा उपाधि जित्न फ्युचरले दोस्रो हाप कुर्नुप¥यो । गत वर्ष सम्पन्न फाइनल भीडन्तमा आयोजक अमर आदर्शलाई नै प्रतिद्वन्दी पाएको फ्युचरले यसपटक पनि उपाधि रक्षा गर्न सफल भयो । पहिलो हापसम्म निकै नै रोमाञ्चक बनेको खेलमा बागलुङका मेस्सीको रुपमा हेरिएका उदयीमान खेलाडि सागर थापाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए ।
डिफेन्सीप खेल खेलेको अमर आदर्शलाई निराश पार्नको लागि स्ट्राइकर आशिष केसीको पासमा सागर थापाले उत्कृष्ट गोल गरेका थिए । तीन पटकसम्म फ्युचरका खेलाडिले प्रहार गरेको गोल पोष्ट बारमा फर्किएको थियो । एट्याकिङ खेल खेलेको फ्युचरले लगातार आयोजक अमर आदर्शको पोष्टमा बल प्रहार गरेपनि गोलरक्षक विश्वास पुनले निस्तेज पारेका थिए । खेलको दोस्रो हापमा एक गोलले पछि परेको अमर आदर्शलाई निराश पार्दै फ्युचरका मिडफिल्डर कुनै समय राष्ट्रिय टोलीका सदस्य कमल थापाले टिमका लागि दोस्रो गोल गरे । आफैले प्रहार गरेको बल रिबाउन्स भएपछि पुनः कमल थापाले प्रहार गरेपछि गोल भएको थियो ।
दुई गोल खाएपछि निराश बनेको आयोजक अमर आदर्श खेलमा फर्किन सकेन र दोस्रो सिजनको उपाधि पनि फ्युचरलाई बुझाउन बाध्य भयो । गत वर्षको फाइनल भीडन्तमा जिताउनको लागि इन्सान थापा र सन्दिप विकले गोल गरेका थिए । गत वर्षको खेलमा स्ट्राईकरको भूमिकामा रहेको इन्सान थापा अमर आदर्श गोल्ड कपको दोस्रो सिजनमा गोलरक्षकको भूमिकामा थिए । किन हा¥यो आयोजक अमर आदर्श ? अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष भीम बोहरा भन्छन्– ‘फिनिसिङको कमी, कमजोर मिडफिल्ड र अनुभवहीन खेलाडि ।’ ‘काउण्टर अट्याकिङ र उत्कृष्ट मिडफिल्डले फ्युचरले उसपालि पनि उपाधिको हकदार बन्यो । प्रशिक्षक बोहरा भन्छन् । प्रतियोगिताको विजेता फ्युचर ब्राईटर आवासिय माविले २५ हजार, मेडल र प्रमाण प्राप्त गरेको छभने उपविजेता आयोजक अमरले १५ हजारमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताका विजेता र उपविजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्तले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि फ्युचरका आशिष केसी, उत्कृष्ट खेलाडिको उपाधि अमर आदर्शका रोहन खड्का, उत्कृष्ट मिडफिल्डको उपाधि फ्युचरका कमल थापा, उत्कृष्ट डिफेन्सको उपाधि अमर आदर्शका निशान थापा र उत्कृष्ट गोलरक्षकको उपाधि अमर आदर्शकै विश्वास पुनले जितेका छन् । समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियार, अमर आदर्श सेकेन्डरी बोर्डिङ स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्त र भाईस प्रिन्सिपल कमलराज पन्तको संचालनमा सम्म भएको थियो । प्रतियोगितामा फाइनलको यात्रा तय गरेको अमृत आदर्श र न्यु ओयसिस एकेडेमीले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।