पर्वत, ८ माघ– यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् ।
गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ कृषकको मोह बढेर गएको स्थानीय कृषक चन्द्रबहादुर थापाले बताए । “मकै, गहुँ, धानजस्ता बालीनाली लगाएदेखि बाँदरले हैरानै पार्छ, गाउँमा जनशक्ति पनि पाइदैन बरु कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ ।” उनले भने, “आफूले मात्रै झण्डै १५ रोपनी जमिनमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फल समेत लागेको छ । ”
कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भङगरा कफी सहकारी संस्था समेत खोलेका छन् । यो सहकारीमा ११६ स्थानीय कृषक आवद्ध छन् । उनीहरूमध्ये अधिकांशले एकसय भन्दा बढीको संख्यामा कफी रोपेका छन् भने केहीले थोरै मात्रामा लगाएको कृषक थापाले जानकारी दिए । वन जंगलको आडैमा रहेको प्रशस्त खाली जमिन छ ।
त्यहाँ विगत तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुनथालेका छन् सहकारीका अध्यक्ष टीकाराम भुसालले भने–“यसलाई गाउँभर विस्तार गर्ने योजना छ । कफीको मूल्य बजारमा समेत राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेशा छाडेर यसतर्फ लागेको उनले बताए । स्थानीयवासीले सहकारीमार्फत कफी मात्र हैन कुखुरापालन, बाख्रापालन र मौरीपालनजस्ता व्यवसाय समेत शुरु गरेका छन् । मेहेनत र परिश्रम गर्ने हो भने गाउँमै बसेर पनि प्रशस्त कमाइ गर्न सकिदोरहेछ भन्ने उदाहरण देखाउन गाउँले सक्रिय भएर लागेको भुसालले बताए । उनीहरूले कफी सँगसँगै अलैँचीखेती समेत गरेका छन् ।
यसबाट दोहोरो आम्दानी लिन सकिने उनले जानकारी दिए । कफी खेतीको शुरुवात्सँगै कफी संकलन केन्द्र समेत निर्माण गर्न लागिएको छ । स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा संचालित गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कफी संकलनका लागि दुई कोठे भवन निर्माण शुरु गरिएको हो । रासस
Previous Articleक्याम्पस स्तरीय भलिवलको उपाधि आयोजकलाई
Next Article नदोहोरीयोस अनियमितता