लामो समय रोकिएको सवारी चालक अनुमति पत्र बितरण धौलागीरी यातायात व्यवस्था कार्यालयले बिहिबार देखी सुरु गरेको छ । यातायात व्यवस्था बिभागको निर्देशनमा अनलाईन मार्फत फारम भरेर गत सातादेखी मोटर साईकल, स्कुटर र मोपेडका प्रयोग कर्ताहरुले सावारी चालक अनुमतिपत्र पाउने व्यवस्था बिभागले मिलाएको हो । अनलाईन पद्धतिवाट फारम भर्दा यातायात व्यवस्था कार्यालय बागलुङ मार्फत परिक्षा दिनको लागि देशभरका नागरिकले खुल्ला रुपमा सहभागिता जनाउने अवसर पाएका छन् ।
अघिल्लो बर्षको चैत भन्दा पहिला करिव चार बर्षको अबधि सम्म पुराना सवारिचालक अनुमति पत्रको नविकरणको काम बाहेक नयाँ लाईसेन्स बितरण बन्द थियो । कार्यालयले गत चैत्रमा एक पटक परिक्षा लियो र पुन त्यो कामलाई रोकेपछि पहिलो पटक फेरी खुलेको हो । झण्डै पाँच बर्ष पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा अनियमितता भएको भन्दै खातापाता उठाएपछि रोकीएको प्रकृया चार बर्ष पछि खुलेको हो । तर त्यो समयमा पनि कर्मचारीको खटन पटन, प्रयोगात्मक परिक्षाका बेला परिक्षार्थीको दादागिरी र प्रयोगात्मक परिक्षा स्थल अनुकुल नभएको कारण देखाउँदै रोकिएको काम ढिलै भए पनि यातायात व्यवस्था बिभागको निर्देशनमा सुरु हुनु खुसीको कुरा हो । लामो समय चाहेर पनि प्रयोगकर्ताहरुले सावारी चालक अनुमतिपत्रको परीक्षा दिन नपाउँदा परिचयपत्र बीना सवारी चलाउनेको संख्या दिन दिनै बढ्दै गएको थियो । स्कुटर, मोटर साईकल र मोपेडको लागी मात्रै भनेर खुलेको समयमा लागेको लाईनले आवस्यकता कति रहेछ भन्ने देखाएको छ । दुइपाँङ्गे सवारीको प्रयोग बढ्दै गयो र परीक्षा नभएकै कराण यसपटक फारम खुलेको एक साता नबित्तै आगामी बैसाख सम्मको लागि परिक्षा दिनेको कोटा पुगेकाले सिस्टमले समेत रोक्का गरेर राखेको अवस्था छ । यातायात व्यवस्था कार्यलयमा भएका सानातिना कमजोरीको समस्या व्यवस्थापन गर्न नसक्नु र सवारीचालक अनुमति पत्र जस्तो संबेदनशिल बिषयमा समेत राजनितिक, व्यवसायीक र नातागोताको दवावका कारण चलखेल हुँदा लामो समय बिबादित बनेर परिक्षा रोक्नु परेको हो ।
अहिलेको नयाँ पद्धति अनुसारको परिक्षा प्रणाली र लामो समय पछि खुलेको परीक्षा दिने ब्यवस्थामा के कसरी काम अगाडि बढ्छ भनेर आम जनमानसमा खुलदुली छ । हिजो भएको अनिमितताको झल्को र आजको फेरीएको प्रणाली तथा सरकारी नियमनकारी निकायकै कारण सुध्रिन बाध्य भएको कार्यालयको बिचमा सूचना तथा सञ्चारको अभावमा आज पनि जनमानसमा पुरानै प्रबृत्ति दोहोरीने सन्त्रास कायम रहेको छ । यातायात क्षेत्र संबेदनशिल क्षेत्र हो । यो क्षेत्रमा हुने सानातिना कमीकमजोरीका कारण मानिसको ज्यान जान सक्छ । यातायातको सेवा लिन र दिन चाहनेहरुका लागि अनुभव सहितको आधारभुत कुराहरुको जानकारी भएको ज्ञान हुनु अनिवार्य छ । यातायात व्यवस्था बिभागले बनाएको नियम र परिधिमा रहेर लिखित तथा प्रयोगात्मक परिक्षा गराउने र त्यो परिक्षामा सामेल भएर उत्तिर्ण हुनेलाई अनुमति दिने नसक्नेलाई पुन प्रयास गर्ने मौका दिनु यातायात व्यवस्था कार्यलयको कतव्र्य हुनेछ । अनिमितताको बाटो फेरी नलिईयोस । सर्बसाधारणको अधिकार कुण्ठीत नगरियोस । पुनः रोकिने अवस्था नआओस, धौलागीरी बासीकालागी यो नै खुसीको कुरा हुने छ ।
Previous Articleअन्नबाली छाडेर व्यवसायिक कफी खेती
Next Article २०७४ माघ ८ गते सोमबारको राशिफल