बागलुङ, ७ माघ– युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजको ४० औ अध्यक्षमा लालकुमारी बस्नेत निर्विरोध निर्वाचित भएकी छिन् । बागलुङ जेसीजको ४० औ अधिवेसन तथा बार्षिक साधारणसभाले बस्नेतको अध्यक्षतामा बर्ष २०१८ का लागि सर्वसम्मत नयाँ समिति चयन गरेको हो । मनोनय दर्ताका क्रममा अध्यक्षका लागि बर्तमान कार्यकारिणी उपाध्यक्ष मनोजकुमार बिक र शाखा सम्पादक लालकुमारी बस्नेत अम्विकाको उमेदवारी परेको भएपनि जेसीजको परम्परा अनुसार उमेदवार ककसमा बिक उपस्थित नभएपछि बस्नेत निर्विरोध निर्वाचित भएकी हुन् ।
बस्नेत निर्विरोध निर्वाचित भएपछि बागलुङ जेसीजले ४० औ शाखा अध्यक्ष एवंम ५ औ महिला अध्यक्ष पाएको छ । अधिवेसनवाट २ जना कार्यकारिणी उपाध्यक्षका लागि बलबहादुर थापा र सुअन श्रेष्ठ, ४ जना उपाध्यक्षका लागि आकृति भण्डारी, आनन्द प्रसाद रेग्मी, करिष्मा केसी र प्रकाश आचार्य तथा २ जना निर्देशकका लागि साधना पन्त र रामचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । अध्यक्ष बस्नेतले बर्ष २०१८ का लािग कानुनी सल्लाहकारमा नरेन्द्र कँडेल, महासचिवमा एञ्जील शाक्य, कोषाध्यक्षमा सौरभ श्रेष्ठ र सहसचिवमा सौगात खड्कालाई मनोनित गरेकी छिन् ।
नयाँ समितिलाई अध्यक्षका प्रत्यासी मनोजकुमार बिकले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष बस्नेतले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । ४० औ अधिवेसन तथा बार्षिक साधारणसभाको उद्घाटन बागलुङ जेसीजका संस्थापक महासचिव कृष्णशंकर श्रेष्ठले गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले राष्ट्रको बिकासका लागि युवाहरुको नेतृत्व र क्षमता बिकास आवश्यक रहेको बताए ।
उनले युवाहरुलाई आर्थिक सम्मृद्धिको बाटोमा अगाडि बढाउन सकेमा मात्र देशले परिवर्तनका महसुस गर्ने बताए । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष राजेन्द्र आचार्य र बागलुङ जेसीज बर्ष २०१७ का लिडर्स अध्यक्ष रामराज गुरुङले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा महासचिव बलबहादुर थापाले प्रगति तथा सहकोषाध्यक्ष ताराप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता, निवर्तमान अध्यक्ष पार्वती अधिकारीको स्वागत र महासचिव बलबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।